पतिको “कोसेली” एचआइभी

‘तिमीहरूलाई घर राखे अरू छोरालाई बिहे गर्न केटी पाइँदैन । नन्दहरूको बिहे गर्न पनि गाह्रो पर्छ †’ एक्लै बस्यो कि परिवारले भनेका यी तीखा वचनले घोच्न थाल्छन् चन्द्रा आचार्यलाई । सासू खरिकलाको रुखो बोली सम्झन्छिन्, ‘तेरो बुढालाई जबरजस्ती घर मात्रै ल्याइज न, विष खुवाएर मारिदिन्छु ।’ सासू खरिकला र ससुरा कृष्णलालले भनेका यस्ता शब्दले पटकपटक दुखिरहन्छ उनको हृदय ।

एचआइभी संक्रमित पति राजु आचार्य तीन वर्षदेखि पक्षघातले थला परेका छन् । आफ्नै परिवारले छुन घिन मान्यो । छोराबुहारीलाई घरनिकाला गर्‍यो । जतिखेरै श्रीमान्लाई स्याहारेर घर बसे, कोठाभाडा र खानाखर्च जुटाउन पैसा पुग्दैन । त्यसैले दिनभर काममा खटिन्छिन् चन्दा । त्यसमाथि उनको आफ्नै शरीरलाई पनि श्रीमान्बाट सरेको एचआइभी जीवाणुले थिलथिलो बनाउँदै छ । सासूलाई कसैले ‘छोराबुहारीलाई किन घरमा नराखेको’ भनेर प्रश्न गरे ‘बुहारीले राम्रो व्यवहार गर्दिनँ’ भनेर पन्छिँदी रहिछन् । चितवनको सदरमुकाम भरतपुर नगरपालिका–६ मा पर्ने वैदिकनगरमा चन्द्राको घर छ ।
तीन वर्षअघि आफूलाई एचआइभी संक्रमण भएको पत्ता लागेपछि भएकी एउटी छोरी माइतीको जिम्मा लगाएकी छन् । श्रीमान्को उपचारखर्चका लागि पनि जागिर नखाई सुखै छैन । महिनामा यसो दुईचार हजार जोरजाम गर्छिन् । कोठाभाडा पनि त्यसैले तिर्छिन् । ‘बिहान दिसापिसाब गराउँछु, भात खुवाउँछु, खाजा हटकेसमा बनाएर खाटैमा राखिदिन्छु । खाटको आडैमा पिसाब गर्न बाटा पनि राखिदिन्छु ।’ चन्द्राको बिहानभरको काम । पाँच बजे अफिस छुटेपछिको समय पनि श्रीमान्को स्याहारमै ठिक्क ।
एचआइभी संक्रमित व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे बुझ्न गाउँगाउँ पुग्नुपर्छ उनले । अन्य संक्रमितलाई सल्लाह दिँदै गर्दा श्रीमान्को अवस्था सम्झिन्छिन्, मन त्यसै कुँडिन्छ न त आफ्नो स्वास्थ्यबारे ख्याल गर्ने फुर्सद छ । ‘अहिलेसम्म केही भा’को छैन,’ भनिन्, ‘सन्चो नभए औषधि सुरु गर्नुपर्ला ।’
२०६० सालमा प्रेमविवाह गरेका थिए उनीहरूले । जिल्ला मालपोत कार्यालय चितवनमा राजुको जागिर थियो । प्रेमविवाह भएकाले परिवारले भित्र्याएनन् । २०६३ सालमा छोरी जन्मिई । भाडामा बसे पनि परिवार राम्रै चल्दै थियो । तीन वर्षअघि घर बनाउन जग हाल्ने तयारी गर्दा राजु एक्कासि बिरामी परे । उपचारका क्रममा एचआइभी भएको पत्ता लाग्यो । परीक्षण गर्दा चन्द्रामा पनि जीवाणु सरिसकेछ । चन्द्राका अनुसार छोरीमा भने एचआइभी संक्रमण छैन । घरमा श्रीमती भएर बाहिर जथाभावी असुरक्षित यौनसम्पर्क राखेकोमा पछुतो छ राजुलाई । पक्षघातले बोल्न नसक्ने भएका उनी आँसु चुहाइरहन्छन् । नखाएको विषको पीडा काँधमा बोकेर चन्द्रा खटिइरहेकी छन् अहोरात्र ।
चितवनमा ठ्याक्कै यकिन गर्न नसकिए पनि दुई हजारजना एचआइभी संक्रमित हुनसक्ने जिल्ला एड्स समन्वय समितिको अनुमान छ । भरतपुर अस्पतालमा गरिएको स्वैच्छिक रक्तपरीक्षणको परिणामअनुसार तीन सय ८० पुरुष, तीन सय ६२ महिला र ५८ बालबालिका गरी कुल सात सय ३८ जना संक्रमित छन् । तीबाहेक ४२ जनाको मृत्यु भइसकेको छ । ४१ जना विभिन्न कारणले जिल्लाबाहिर छन् । समितिका कार्यक्रम संयोजक रामहरि न्यौपाने भन्छन्, ‘संक्रमित महिलामध्ये ९९ प्रतिशत गृहिणी महिला छन् ।’ गृहिणी महिलामध्ये प्राय: श्रीमान्बाट संक्रमित भएका छन् ।
यही तथ्यांकभित्र समेटिएकी छन्, प्रतीक्षा (नाम परिवर्तन) पनि । एचआइभीकै कारण ०६० सालमा पतिको मृत्युपछि उनले परिवार छोड्नुपर्‍यो । चितवनको माडी घर भएकी उनका पति तेजबहादुर भारत काम गर्न आउजाउ गर्थे । सोही क्रममा असुरक्षित यौनसम्पर्कबाट एचआइभीको जीवाणु शरीरमा सारेछन् । प्रतीक्षाकी सासूको पनि ससुराले सारिदिएको एचआईभीकै कारण ज्यान गएको रहेछ । अब देवरचाहिँ सम्पत्ति हत्याउने दाउमा लागेछन्– ‘भाउजू, अब तपाईंलाई हेर्ने हामी नै हौँ नि, किन चाहियो तपाईंलाई सम्पत्ति †’ उनीहरूले छोरालाई गर्ने व्यवहार पनि बदलियो । अपहेलना सुरु भयो । श्रीमान्सँगको बिछोड अनि शरीरमा एचआइभी संक्रमणको पीडा लिएर उनी भरतपुर आइपुगिन् । माडी छाडिदिइन् । भरतपुरमा कोठा भाडामा लिएर छोरा पालिरहेकी छन् । एचआइभीसम्बन्धी संस्थामा काम गर्छिन् । ‘आइमाईको जात भएपछि सहनै लेखेको हुँदो रै’छ’, धेरै बोलूँजस्तो लाग्दैन उनलाई । घरधनीलाई अहिलेसम्म आफू संक्रमित रहेको यथार्थ लुकाएकी छन् । ‘बस्न दिएनन् भने छोरा लिएर कहाँ हिँड्नु,’ ‘चेतनशील’ समाजभित्रको एउटा नमीठो बाध्यता ।
गत फागुनमा चितवनका विभिन्न स्थानमा गरिएको स्वैच्छिक रक्तपरीक्षणमा शून्य दशमलव ६३ प्रतिशतमा एचआइभी देखियो । राष्ट्रिय तथ्यांक भने शून्य दशमलव ३३ प्रतिशत छ । गृहिणी महिलामा संक्रमण बढ्दै गएको जिल्ला एड्स समन्वय समितिको तथ्यांक छ ।
पतिको असुरक्षित यौनव्यवहारका कारण कोपिला भण्डारी पनि एचआइभी संक्रमित भइन् । बालकृष्णसँग ०५५ सालमा बिहे गरेकी उनी अहिले तीस वर्ष पुगिन् । चितवनमै गाडी चलाउने पतिले राम्रो कमाइ नगरेको सोची साउदी अरेबिया पठाएकी थिइन् । पति दुई महिनामै फिर्ता आए । क्षयरोगले गर्दा काम गर्न सकिएन भनेका थिए उनले । तर, यथार्थ सधैँ कहाँ लुक्थ्यो, एचआइभीले रन्थन्याएकाले काम गर्न नसकेर फर्किएका रहेछन् । त्यही जीवाणु कोपिलालाई सरेछ, २०६१ सालमा थाहा पाइन् । गाउँघरमा हेलाको पात्र बनिन् । ‘यसको आमाबुबालाई त एड्स छ, त्यता नजानु सर्ला,’ अभिभावकहरू आफ्ना सन्तानलाई उनका छोराछोरीसँग खेल्न दिँदैनथे । यस्ता वचन सहन नसकेपछि गाउँ छोडेर भरतपुर आइन्, पतिसहित । एचआइभी संक्रमण कसरी भयो भनेर सोधे पति अँध्यारो मुख लगाउँछन्, रोउँलाभैँm गर्छन् । ‘अब उहाँले माफी मागे पनि के हुन्छ र ?’ गहभरिको आँसु थाम्न खोज्दै छिन् कोपिला– ‘सहनुसिबाय अरू के गर्नु †’
पहिलोपटक अमेरिकामा सन् १९८१ मा रातो बाँदरमा एचआइभी देखापरेको थियो । सन् १९८८ मा नेपालमा देखियो । एचआइभी भाइरस मान्छेको शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । रोगसँग लड्ने क्षमता घटाएर मृत्युसम्म गराउँछ । एचआइभी एड्स सुरु भएको २३ वर्षको अन्तरालमा नेपालमा हजारौँ मानिसले ज्यान गुमाएका छन् । सरकारी आँकडा अनुसार सन् २०१० मा नेपालमा एचआईभी लाग्नेको संख्या ७० हजार रहेकोमा हाल ७२ हजार पुगेको अनुमान छ । तर, स्वास्थ्य तथा जनसंख्या विभागको एचआइभी तथा यौनरोग महाशाखाले १८ हजार पाँच सय ३५ जना एचआइभी संक्रमित समेटिएको वेबसाइटमा जनाएको छ । शाखाको तथ्यांकमा महिला एचआइभी संक्रमितको यकिन जानकारी उल्लेख छैन ।
चितवनमा २५ वटा संस्थाले एचआइभी न्यूनीकरण र उपचार क्षेत्रमा काम गरिरहेका छन् । जिल्ला एड्स समन्वय समितिका अनुसार महिला संक्रमितको क्षेत्रमा काम गर्ने दुईवटा संस्था छन््, जसमा तीन करोड रुपियाँ बजेटको कार्यक्रम चालू आवमा चलिरहेको छ । यौन व्यवसायीका लागि ५० लाख, क्षति न्यूनीकरणका लागि ७० लाख, समलिंगी–तेस्रो लिंगीका क्षेत्रमा ३५ लाखको हाराहारीमा बजेट आएको छ ।
तर, संक्रमित महिलाका नाममा आएको बजेटले शान्ति विकको परिवारलाई छोएको छैन । शरीरभर घाउ आएको तीन महिनाभन्दा बढी भयो । जेठको अन्तिम साता भरतपुर अस्पतालमा उपचार गर्न जाँदा एचआइभी बिरामीको सूचीमा नाम नपरेको भन्दै फर्काइदिए । उनले भनिन्, ‘ज्यानभर घाउ आयो, जँचाउन जाँदा नाम छैन भन्छन् । अब फेरि ज्याला गर्न जानुपर्छ, आफूसँग पैसा नभएपछि रोगको उपचार गर्न पनि गाह्रो रै’छ ।’
शान्तिका श्रीमान् कमाउनका लागि आठ वर्ष भारत बसेर फर्किए तर रित्तो हात । कोसेली आयो त उही ‘एचआइभी’ । कान्छी छोरी जन्मिएपछि पाँच वर्षअघि मात्रै श्रीमान्ले एचआइभी आफ्नो शरीरमा सारिदिएको थाहा पाइन् । श्रीमान् तेजबहादुरसँगै बस्छन् । उनी माफी मागिरहन्छन्, ‘मेरो गल्तीले आमाछोरीलाई नै निको नहुने रोग लगाएँ ।’ दुई छोरा पढाउन, ६ वर्षकी एचआइभी संक्रमित छोरी हुर्काउन उनलाई कम्ती सकस छैन । दिनहुँ मजदुरीमा नगए छाक टर्दैन । स्कुल पठाएकी छोरी ‘तेरो शरीरमा त रोग छ’ भन्छन् भन्दै रुँदै फर्किन्छे । आफ्नो शरीरमा तागत नभए पनि दिनहुँ ज्यालादारीमा घोटिनुपर्छ शान्तिले । ‘नखाएको बिख लाग्यो,’ प्रतिक्रिया यति मात्रै दिन्छिन् ।

प्रतिक्रिया