औद्योगीकरण र सामाजिक उत्तरदायित्व

सामान्यत: व्यवसायीकरण र औद्योगीकरण कुनै पनि मुलुकका लागि विकासका मेरुदण्ड हुन् । यी क्षेत्रहरूमा प्रगति गरेका मुलुक नै आज विकासका दृष्टिले अब्बल ठहरिएका देखिन्छन् । तर, विकास त्यो अवस्थामा मात्र सम्भव हुने गर्छ, जतिबेला शान्ति, स्थायित्व, लगानीमैत्री वातावरण र स्थायी शासन व्यवस्था रहन्छ । अझ अहिलेको विश्वव्यापीकरण र सूचनाको भूमण्डलीकरणको युगमा खुला प्रतिस्पर्धा विकासको उत्तम विकल्प बन्न आएको छ । अझ अगाडि बढेर विकास र समृद्धिको वास्तविक मर्म उजागर गर्ने हो भने वातावरणमैत्री विकास नै आजको सर्वोत्तम विकल्प हो । त्यसका लागि सामाजिक उत्तरदायित्वसहितको विकास अवधारणा आजको आवश्यकता हो ।
साँच्चै भन्ने हो भने एक्काइसौँ शताब्दीको विश्वले प्रगतिका ठूल–ठूला छलाङ मारे पनि नेपालमा अझै व्यवसायीकरण, औद्योगीकरणको यथेष्ट सुरुवात हुन सकिरहेको छैन । औद्योगीकरणको त कुरै छाडौँ, भएका उद्योग पनि बिग्रँदो राजनीतिक अवस्थाले बन्द हुँदै गएका छन् । व्यावसायिक एवं उद्यमशीलताको विकाससमेत हुन सकिरहेको छैन । नेपालमा खुला बजारमा आधारित उदार आर्थिक व्यवस्था अवलम्बन (०४८)४९ तिरबाट) गरिएपश्चात् सबैभन्दा फस्टाएको व्यवसाय भनेको बैंकिङ, वित्तीय संस्थाहरू मात्रै हुन् । जसलाई जोखिमको दृष्टिले समेत उत्तम मानिने गरिन्छ । तर, खुल्ला प्रतिस्पर्धामा आधारित आर्थिक व्यवस्थालाई अनुसरण गरिए पनि राजनीतिक समूहद्वारा सञ्चालित बन्द र आन्दोलनका कारण उत्पादनमूलक संस्थाहरूको विकास एवं विस्तार हुन सकिरहेको छैन । शान्ति प्रक्रियाको थालनी र राजनीतिक सहमतिको वातावरण बन्दै गए पनि संविधानसभाबाट संविधान नबनिसकेपछि अझैँ औद्योगीकरणतर्फको जोखिम मोल्ने वातावरण बन्न सकिरहेको छैन ।
पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्र सकारात्मक वा नकारात्मक कता जाँदैछ भन्ने मूल्यांकनको यथेष्ट आधार मानिन्छ । हाल नेप्सेमा आबद्ध उत्पादनमूलक संस्थाहरू जम्मा १८ वटा देखिन्छन् । त्यसले नेपालमा औद्योगीकरणको एउटा धूमिल तस्बिर पनि प्रस्तुत गर्छ । यस्तो अवस्थामा औद्योगिक–व्यवसायिक उत्तरदायित्वबारे कुरा गर्नु पनि अपुरो नै लाग्छ । यद्यपि पछिल्लो चरणमा विश्वका प्रतिष्ठित औद्योगिक राष्ट्रहरूले सामाजिक उत्तरदायित्वलाई ठूलै मुद्दाका रूपमा उठाएका छन् । हरित आर्थिक विकासको अवधारणा पनि वास्तवमा सामाजिक उत्तरदायित्वसँगै जोडिएको छ । हरित आर्थिक विकास भनेको वातावरणमैत्री विकास हो । जुन ब्राजिलमा सम्पन्न रियो–२० सम्मेलनसम्म आइपुग्दा ठूलै विषय बनिसकेको छ ।
वास्तवमा विकासको दृष्टिकोणलाई वातावरणसँग जसरी अलग्याएर हेर्ने गरिएको छ, त्यो लाभदायक र उपयुक्त होइन । उदाहरणको रूपमा पर्यटनसँग सम्बन्धित गतिविधिहरूलाई लिन सकिन्छ । जस्तो नेपाललगायत पर्यावरणीय सुन्दरता भएका देशहरूमा विकसित मुलुकहरूबाट घुम्न आउने क्रम बढ्दो छ । कतिपय पर्यटकहरू त यस्ता पनि हुने गर्छन् जो एकपटक आइसकेपछि फेरि पनि निरन्तर आइरहन्छन् । यसबाट के स्पष्ट हुन्छ भने जति नै कृत्रिम आर्थिक विकास भए पनि मानिसको रोजाइ र आनन्द सुन्दर प्रकृतिले नै दिनसक्छ । अझ मानिसलगायत प्राणी जगत्को संरक्षणकर्ता भनेकै प्रकृति हो । पछिल्लो दशकमा पर्यटकहरूको संख्या बढ्नु र तिनको गन्तव्यस्थलहरू पनि वातावरणीय हिसाबले सबल राष्ट्रहरूमा पर्नुले अबको विश्वमा कृत्रिम विकासभन्दा पनि वातावरणले नै मान्छेको ध्यान खिच्ने देखिन्छ । यस्तो सन्दर्भमा नेपालजस्तो देशले वातावरणलाई पनि सन्तुलन कायम गर्नेगरी हरित आर्थिक विकासलाई जोड दिने हो भने विश्वका देशमाझ विकासका दृष्टिले पछाडि परियो भन्ने ठाउँ रहने अवस्था आउनेछैन । अबको विश्व वातावरण निर्माण र संरक्षणको क्षेत्रमा लागिरहँदा अवश्य पनि नेपालजस्ता देशहरू वातावरण सन्तुलन रहनेगरी हरित आर्थिक विकासको गतिविधिमा सामेल हुनुपर्छ । विश्वका कतिपय देशहरू भोकमरी, अधिक तापक्रम, पानी संकट, स्वच्छ हावा संकटलगायत पीडाबोधले छटपटिइरहँदा नेपालजस्ता उदाहरणीय प्रकृति भएका देश सन्तुलित हुनैपर्छ । हरित अर्थतन्त्रको विकासले सम्पूर्ण मानवजातिको कल्याण गर्नसक्छ । तसर्थ, हरित अर्थतन्त्र निर्माणमा व्यावसायिक जगत्ले निभाउने सामाजिक उत्तरदायित्व एउटा राम्रो थालनी हुनसक्छ ।
सामाजिक उत्तरदायित्व भन्नाले व्यवसायिक औद्योगिक संस्थाहरूले आफ्नो सरोकारवाला पक्षहरूको चाहना र आवश्यकताबमोजिम नीति र कार्यक्रम निर्धारण गरी सम्पादन गर्नु हो । समुदायको विकास र संरक्षण नभई व्यावसायीको पनि विकास र उन्नति हुँदैन भन्ने धारणा सामाजिक उत्तरदायित्वमा हुने गर्छ । औद्योगिक तथा व्यावसायिक संघ/संगठनहरूले आफ्नो अस्तित्व कायम राखेको माटो, वायु, जंगल र त्यहाँ निहित मानिसहरूको कल्याणको सोच राख्नु सामाजिक उत्तरदायित्व हो । नेपालमा ठूला औद्योगिक व्यावसायिक संस्थाहरू खासै नभएकाले गर्दा साना तथा मझौला उद्योग व्यवसायहरूले त्यस्तो व्यवस्था अँगाल्न सकिरहेको देखिँदैन । यद्यपि, बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, युनिलिभर, स्ट्यान्डर्ड चार्टर बैंकलगायत केही संघसंस्थाले समाजको कल्याणस्वरूप सामाजिक कार्यहरू गर्दै आएका छन् । विभिन्न ठाउँमा विश्रामस्थल निर्माण, दुर्गम तथा ग्रामीण भेगमा स्कुल भवन निर्माण, वृक्षरोपणका कार्यक्रम, सरसफाइ कार्यक्रमलगायत गतिविधिमा ती संलग्न छन् । नेपालकै यति एयरलाइन्स, बुद्ध एयर, चौधरी ग्रुप, ज्योति ग्रुप, गोल्छा अर्गनाइजेसन, खेतान समूह, दुगड ब्रदर्स एन्ड सन्सलगायत संस्थाहरूले सामाजिक कार्यहरू गरेका समाचार आइरहेका छन् । जसले भविष्यमा व्यावसायिक संस्थाहरू समाजप्रति उत्तरदायी हुनेछन् भन्ने प्रस्ट झलक देखिएको छ ।
वास्तवमा व्यावसायिक संस्थाहरूको सामाजिक गतिविधि भनेका व्यवसायिक वातावरण निर्माण पनि हो । व्यवसायले आफू टिकेको माटोमा सामाजिक कार्यहरू गर्नु, आफ्ना औद्योगिक–व्यावसायिक संस्थाहरूले वातावरणमा पारेको प्रभावको क्षतिपूर्ति स्वरूप वातावरण संरक्षण र सरसफाइको कार्यक्रमहरू गर्नु त्यहाँका मानिसहरूको मन जित्नु हो । जसले व्यवसायप्रति समाजमा रहेका मानिसहरूको हेर्ने दृष्टिकोण नै सकारात्मक तुल्याउँछ । त्यसले सो संस्थाले उत्पादन गर्ने वस्तुप्रति सामाजिक मनोविज्ञानलाई अत्यन्त सकारात्मक तुल्याउँछ । उत्साह थप्ने कार्य गर्छ । सामाजिक उत्तरदायित्वका यी बाहिरी देखिने पाटोजस्तै भित्री पाटो पनि हुने गर्छ । त्यो भनेको गुणस्तरीय, सस्तो, भरपर्दो सेवा र सामग्रीको वितरण गर्नु हो । मानिसको स्वास्थ्यलाई बढीभन्दा बढी लाभ दिनेखालका वस्तु उत्पादन गर्नुपर्ने सामाजिक उत्तरदायित्वको एक महत्त्वपूर्ण पाटो हो । आजको एक्काइसौँ शताब्दीमा कुनै पनि देशमा उत्पादित वस्तु अर्को कुनै अत्यन्त टाढाको मुलुकसम्म खपत हुन्छ । विश्वव्यापीकरणको भरपर्दो उपकरणका रूपमा रहेको विश्वव्यापार संगठन (डब्लुटिओ) मा हाल एक सय ५५ भन्दा बढी राष्ट्रहरू समाहित भइसकेका छन् । त्यसले गर्दा पनि वस्तुहरूको गुणस्तर एउटा सानो समाजमा मात्रै नभएर विशाल विश्व समुदायकै लागि महत्त्वपूर्ण हुन्छ । व्यावसायिक उत्तरदायित्वको यो विशाल क्षेत्रले वस्तु उत्पादनलाई नाफासँग मात्र नजोडेर सेवाभावको विकास पनि भइरहेको छ । अहिले आएर व्यवसायीहरूको उद्देश्य नाफामात्र कमाउने नभएर गुणस्तरयुक्त वस्तु तथा सेवा प्रदान गर्नु पनि हुँदै आएको छ । सन् १७१३ मै अमेरिकी राष्ट्रपति विलसनले ‘उद्योगहरूले उचित व्यावसायिक व्यवहारको साथै सामाजिक समूहहरूमा अनुशासन कायम गर्नु हो’ भन्ने व्याख्या गरेर सामाजिक उत्तरदायित्वलाई जोड दिए पनि नेपालमा २१ औँ शताब्दीको दोस्रो दशकसम्म आउँदा त्यसको विकास हुनसकेको छैन । एकातिर औद्योगिक व्यावसायिक जगत्को समुचित विकास एवं विस्तार हुन नसक्नु र भएकाहरूमा पनि सामाजिक उत्तरदायित्वप्रति अनुदार हुनुले व्यावसायिक जगत्ले विश्वको बदलिँदो ट्ेरन समात्न नसकेको देखिन्छ ।
तसर्थ, जेजस्तो अवस्थामा हाम्रो व्यावसायिक उपस्थिति रहे पनि सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण अवधारणालाई व्यावसायिक जगत्ले लिएर हिँड्नुपर्ने आवश्यकता छ । औद्योगिक व्यावसायिक क्षेत्रले गर्ने सामाजिक गतिविधि र योगदानले हरित आर्थिक विकास र मानिसहरूमा नैतिकता एवं सामूहिकताको विकास गराउन सक्छ । तसर्थ, व्यावसायिक जगत्ले समाजको मूल्य, मान्यता र आवश्यकताको सम्बोधन गर्ने कार्यको आजै थालनी गर्न जरुरी छ ।

प्रतिक्रिया