५२ वर्षपछि लालपुर्जाको खोजी

हेटौंडा, १२ भदौ । मकवानपुरको पश्चिमी मनहरी–१ लोथरका स्थानीयवासी ५२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को खोजीमा जुटेका छन् । उनीहरूले आइतबार चार सरकारी कार्यालय र राजनीतिक दललाई ज्ञापनपत्र बुझाए ।

उनीहरूले जिल्ला प्रशासन, मालपोत, भूमिसुधार, सुकुम्बासी समस्या समाधान आयोग र जिल्ला सम्पूर्ण राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका हुन् । ५२ वर्षदेखि राजमार्ग छेउछाउमा बसोबास गर्दैै आएका दुई सय ७३ घरधुरीले लामो समयदेखि सरकारसँग लालपुर्जा माग गर्दै आएका छन् । ०५८ सालको सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरले त्यस क्षेत्रमा रहेको करिब ४० बिघा जग्गाको नापनक्सा गरी कित्ताकाट गरेर फिल्ड बुकसमेत कायम गरिसकेको उनीहरूको दाबी छ ।
आयोगको २०५८ असार ३१ गतेको बैठकले उक्त जग्गाको जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय गरेको ज्ञापनपत्रमा उल्लेख छ । तर, हालसम्म लालपुर्जा नपाएको भन्दै आक्रोशित स्थानीयवासीले समस्या समाधानका लागि १५ दिने अलिटेमेटम दिएका छन् । ज्ञापनपत्रमा माग पूरा नभए पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै अन्य संघर्षको कार्यक्रम गर्ने उल्लेख छ । स्थानीयवासीको र्‍यालीमा जिल्लास्थित एमाओवादी, एमाले, कांग्रेस, नेकपा–माओवादीलगायत दलले ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएका छन् ।
ज्ञापनपत्र बुझ्दै सकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष ज्योति रायमाझीले सकुम्बासी राष्ट्रिय समस्यामा भएकाले समाधानका निमित्त सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । आयोगले जिल्लामा रहेको वास्तविक सुकुम्बासी पहिचान गर्ने उद्देश्यले परिचयपत्र वितरणको कार्यलाई अगाडि बढाएको रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार जिल्लाका कुल नौ हजार ६ सय मानिसले सुकुम्बासीको फारम भरेको जानकारी दिए ।
फारम भरेकामध्ये छानबिनपश्चात् परिचयपत्र बाँड्ने भन्दै आयोगको म्याद सकिएकाले काम गर्न नपाएको गुनासो गरे । दुई घन्टा प्रशासनमा उभिएपछि सुकुम्बासीसँग भेटघाट गरेका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । पुष्करले आन्दोलनबाट समस्याको समाधान नहुने भएकाले छलफलबाट अगाडि बढ्न आग्रह गरे । उनले एकदुई दिनभित्र समस्या समाधानका निमित्त कदम अगाडि बढाउने बताए । लोथरवासीको कोणसभालाई सम्बोधन गर्दै एनेकपा (माओवादी)का विवेक वाइबा, नेपाली कांग्रेसका भवसागर श्रेष्ठ, नेकपा (एमाले)का देवराज रिमाल र नेकपा–माओवादीका इन्द्रबहादुर परियारले मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।

प्रतिक्रिया