लडाकुको भर्ना भदौं–२१ गतेबाट हुने

काठमाडौं, ११ भदौ । माओवादी लडाकुको रेखदेख समायोजन र पुनः स्थापना सम्बन्धी विशेष समितिले नागरिकताको जन्ममितिका आधारमा लडाकुको समायोजन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको समिति बैठकले नेपाली सेनामा समायोजन हुने लडाकुको जन्ममितिको विवादलाई अन्त्य गर्दै नागरिकता अनुसार १८ बर्ष पुगेका दिन देखि भर्ना भएको मान्ने सहमति भएको हो । बैठकले सैनिक ऐनमा रहेको उमेरको व्यवस्थामा लडाकुलाई तीन बर्ष हेरफेर गर्ने सहमति गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस नेता तथा समिति सदस्य रामशरण महतले भदौ–२१ गतेदेखि समायोजन र भर्ना छनौट प्रक्रिया अघि बढ्ने बताए । छनौट प्रक्रियामा समितिको सचिवालयपनि सहभागी हुने छ ।
त्यसै गरेर लडाकुको शैक्षिक योग्यताका बारेमा पनि समितिले टुङगो लगाएको छ । महतका अनुसार पाँच कक्षा पासलाई ८, आठ पासलाई दस, दस पासलाई आईए पासको मान्यता दिने निर्णय भएको छ ।
भर्ना र छनौट हुने लडाकुको संख्या पछि ३५ प्रतिसत लडाकु र ६५ प्रतिसत सेनाको संख्या राखेर महानिर्देशनालय बनाउने सहमति पनि भएको छ ।
समितिको अर्को बैठक भदौ–१८ गते बस्ने छ । बैशाख–२ गते पछि आज समितिको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया