म्याद सकियो उपलब्धि जिरो

काठमाडौं, ११ भदौ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याकाण्डको छानबिन गर्न गठित न्यायिक आयोगको म्याद ७ भदौमा सकिएको छ । तर, आयोगले दुई महिनाको अवधिमा हत्याराको सुइँकोसम्म पाउन सकेन ।

न्यायाधीश बमको हत्या भएको २५ दिनपछि गठित न्यायिक आयोगले ७ असारमा काम थालेको थियो । सर्वाेच्चका पूर्वन्यायाधीश प्रेम शर्माको संयोजकत्वको आयोगले हत्यारा पत्ता लगाउन दर्जनौँ उपाय अवलम्बन गरेको जनाए पनि ठोस उपलब्धि भने हासिल गर्न सकेको छैन ।

‘तीन महिना लगातार प्रयास गर्दा पनि ठोस प्रगति भएको छैन,’ आयोग संयोजक शर्माले भने, ‘घटनाको २५ दिनपछि काम थाल्दा हत्याका धेरै प्रमाण नष्ट भइसकेको पायौँ, त्यही भएर पनि छानबिन प्रक्रिया जटिल बनेको छ ।’
सुरक्षा गार्डसहित रहेका बमको गत १८ जेठमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । बमको हत्यालगत्तै पाँच वरिष्ठ प्रहरी अधिकृत सम्मिलित एक छानबिन आयोग गठन भए पनि सरकारले न्यायिक आयोग भने २५ दिनपछि मात्र बनाएको थियो । ‘आयोगले ढिलो काम थाल्दा धेरै प्रमाण नष्ट हुने खतरा हुन्छ आखिर त्यही भयो,’ शर्माले भने ।
सरकारद्वारा गठित आयोगको म्याद सकिए पनि ठोस प्रगति नभएका कारण एक महिना थप्न माग गरिएको छ । सरकारले म्याद थप गर्ने विषयमा निर्णय भने गरिसकेको छैन । ‘प्रहरीको समितिबाट जानकारी आइनसकेका कारण तीन महिनामा काम सकेनौँ, म्याद थपका लागि मन्त्रिपरिषद्मा पठाएका छौँ,’ शर्माले भने, ‘तर म्याद थप भए/नभएको जानकारी आइसकेको छैन ।’
७ भदौदेखि आयोग अवैधानिक भइसक्दा पनि सरकारले म्याद थपेर यसलाई वैधता दिन सकेको छैन । ‘एक साताअघि नै म्याद थपका लागि हामीले पत्राचार गरेका हौँ तर मन्त्रिपरिषद्ले निर्णय गरेको छैन,’ उनले भने ।
आयोगले अनुसन्धान गर्दा बमले आºनो कार्यकालमा गरेका विवादास्पद फैसला, घरपरिवार तथा उनीसँग सम्बन्धित १६ व्यक्तिसँग बयान लिएको थियो । आयोगले ४ मंसिर ०३७ देखि ०६४ सम्म बम न्यायाधीश पदमा रहँदा गरेका फैसलामाथि पनि अनुसन्धान गरेको थियो ।
प्रहरीको समितिले एक लाखभन्दा बढी एसएमएस, ८० भन्दा बढी व्यक्तिसँग बयान लिएको छ । हरेक हत्याकाण्डमा प्रहरीले अनुसन्धान थालिने पहिलो आधार कलडिटेल नै भए पनि बम हत्याकाण्डको छानबिनमा यो ट्याक्टिसले सफलता पाउन सकेको छैन । बमको हत्यालगत्तै नेपाल प्रहरीका एआइजी कुवेरसिंह रानाको संयोजकत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एआइजी उपेन्द्रकान्त अर्याल, प्रहरी प्रधान कार्यालय प्रतिआतंकवाद सेलका एसएसपी सुबोध घिमिरे, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदी र महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठ सम्मिलित छानबिन समिति गठन गरिएको थियो । समितिले पनि हत्याराको कुनै सुराक पाउन सकेको छैन ।
‘हत्याकाण्डको छानबिन गर्दा दर्जनाँै ट्याक्टिस अवलम्बन गर्‍याँै तर दुर्भाग्य ब्रेक थ्रु हुन सकेको छैन,’ समितिका संयोजक रानाले भने, ‘हत्यारा पत्ता लगाउन चार प्रकारका सूत्र प्रयोग गरेका थियौँ ।’
समितिले ‘इलेक्ट्रोनिक इन्टलिजेन्स’ जसमा एक लाखभन्दा बढी व्यक्तिका कलडिटेल, मानवीय सूचना, ‘सोसल नेटवर्किङ इन्टलिजेन्स’ जसमा फेसबुक र ट्विटरमा अनुसन्धान तथा साइबर इमेल चेक गरेको थियो । रानाले यस हत्याकाण्डको ठोस प्रगति नभए पनि अन्य हत्या योजना र देशका विभिन्न स्थानमा विस्फोटन गराउने योजना फेला पारिएको दाबी गरे ।
प्रहरीले लिएको बयानका आधारमा बमका सवारीचालक अष्ट लामालाई कर्तव्य ज्यानको मुद्दा चलाएको छ ।

प्रतिक्रिया