उच्च मावि र निजी कलेजको मनोमानी

विराटनगर, ११ भदौ । मोरङमा उच्च मावि र निजी कलेजमा विद्यार्थी तान्न भड्किला विज्ञापन गर्ने होडबाजी सुरु भएको छ । विद्यार्थीबाट लिएको शुल्कबाट उच्च मावि र निजी कलेजहरूले विद्यार्थी तान्न अस्वस्थ प्रचार–प्रसारलाई प्राथमिकता दिन थालेका हुन् । तर, यसलाई नियन्त्रण र नियमन गर्ने निकाय भने मौन छ ।

मोरङमा सबैभन्दा बढी उच्च मावि र क्याम्पसहरू रहेको विराटनगर उपमहानगरपालिकामा होर्डिङ बोर्ड, ब्यानर र गेट नै बनाएर उच्च माविहरूले विज्ञापन गर्न थालेपछि विराटनगर सहरनै कुरूप बन्दै गएको छ । कतिपय उच्च माविले सार्वजनिक ठाउँलाई प्रयोग गरेर गेट र प्रवेशद्वार नै बनाएर आफ्नो प्रचार गरिरहेका छन् । उच्च माविहरूले राजस्वसमेत नतिरी सार्वजनिक ठाउँमा आफ्ना प्रचारात्मक सामग्री राखेर प्रचार–प्रसार गर्ने कार्य तीव्र बनाएका हुन् । उच्च माध्यमिक शिक्षा परिषद्ले मुलुकभरका उच्च माध्यमिक विद्यालयलाई मर्यादित र अनुशासित बनाउन अनुगमन सुरु गरेको जनाए पनि उच्च माविहरूले विज्ञापनमा पैसा खर्चने काम बन्द गरेका छैनन् ।
सञ्चारमाध्यमबाट गर्नुपर्ने प्रचारका लागि उच्च माविहरूले सडक र सर्वजनिक स्थललाई प्रयोग गरिरहेका छन् । मुख्य सडकमा सवारी आवगमन नै प्रभावित पार्ने गरी गरिएका विज्ञापनले समस्या सिर्जना गरेको सचेत नागरिक अभियानका सचिव उत्तम ढुंगेलले बताए । उनले भने, ‘देखावटी रूपमा गरिने विज्ञापनले विद्यार्थीका आँखा छल्ने मात्र काम भइरहेको छ, यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।’
कुनै पनि उच्च माविले विज्ञापन गर्न पाउने वा नपाउने भन्नेबारे शिक्षा नियमावलीमा केही पनि उल्लेख नगरिएका कारण उच्च माविहरू नियन्त्रणबाहिर गएर विज्ञापन गर्न थालेको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताए । उनले भने, ‘नियमकानुन अभावमा यसलाई नियन्त्रण गर्न र विकृति तथा विसंगति सिर्जना गर्ने खालका विज्ञापन गर्ने शैक्षिक संघसंस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन सकिएको छैन ।’ कानुन मौन हुँदा उच्च मावि सञ्चालनका नाममा विकृति र विसंगति मौलाएर गएको उनको भनाइ छ । उमाशिप विराटनगरका प्रमुख रमाकान्त तिवारी उच्च माविले विद्यार्थीलाई आकर्षित गर्न गरेको भ्रमणपूर्ण विज्ञापनलाई नियन्त्रण गर्न नियम बनाउने तयारी भइरहेको बताउँछन् ।
उच्च माध्यमिक विद्यालयले विभिन्न भ्रम छर्ने विज्ञापन गर्ने, अस्वस्थ प्रतिस्पर्धा गरी अभिभावकलाई ठगी गर्ने, विद्यार्थीसँग अनावश्यक शुल्क लिने गरेको अभिभावक संघका पूर्वाञ्चल अध्यक्ष देवी पन्थीले बताए । उनले भने, ‘सार्वजनिक स्थलमा गरिने विज्ञापनले समस्या पैदा गरिरहेको छ ।’ उच्च माविहरूले आफूसँग हुँदै नभएको सुविधालगायत कुरालाई समेत विज्ञापनमा उतार्ने गरेको अभिभावक संघको दाबी छ । संघले विज्ञापनमा उल्लेख गरिएका सेवा सुविधा उच्च माविमा नरहेको जनाएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति जयराम सुन्दास यस्ता विज्ञापनलाई नियन्त्रण गर्न विद्यार्थी अग्रसर भएर लागेको बताउँछन् ।
विराटनगर उपमहानगर–पालिकाका निमित्त कार्यकारी अधिकृत विनोद कोइरालाले विराटनगर उपमहानगरभित्र हुने यस्ता प्रचारात्ममक सामग्री नगरपालिकाले हटाउन थालेको जानकारी दिए । उनले भने, ‘सहरलाई नै प्रदूषित पार्ने गरी गरिएका विज्ञापनका सामग्री नगरपालिकाले उठाउन सुरु गरेको छ, यसका लागि लाग्ने खर्च उच्च माविले नै बेहोर्नुपर्छ ।’ उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङका अध्यक्ष बलराम पन्तले उच्च माविहरूले नियम मिचेर काम गरिरहेको बताए ।

प्रतिक्रिया