औचित्यहिन र अप्राकृतिक गठबन्धन

काठमाडौं, १० भदौं । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले एकीकृत माओवादी नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’लाई अप्रकृतिक गठबन्धनको संज्ञा दिएका छन् ।
मंगलादेवी सिंहको १७ औं स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीमा आज आयोजित माल्याणपन कार्यक्रम पछि सञ्चारकर्मीसँग कुरागर्दै सिंहले सत्तारुढ दलहरुको वर्तमान गठबन्धनको कुनै औचित्य नरहेको बताए ।
‘अप्रकृतिक गठबन्धनको कुनै औचित्य छैन,’ उनले भने, ‘विपक्षी दलहरुलाई धम्काउन र त्रसाउन मात्रै गठबन्धन बनेको छ ।’
अध्यादेशलाई लिएर वर्तमान कामचलाउ सरकारले राष्ट्रपति डा.रामवरण यादवको आलोचना गर्नुपर्ने कुनै आधार र कारण नरहेको भन्दै उनले सहमति विपरित आउने अध्यादेशलाई वारम्वार अस्वीकृत गर्नु पर्ने बताए ।
‘अध्यादेश अस्वीकृत भएमा राष्ट्रपति विरुद्ध सडक आन्दोलन गर्ने सरकारको चेतावनी औचित्यहिन छ,’ महामन्त्री सिंहले भने, ‘राष्ट्रपतिको आलोचना गर्ने यो सरकारलाई कुनै नैतिक धरातल छैन् ।’
भ्रष्टाचार र मूल्य बृद्धि गरेको भन्दै उनले सरकारलाई लाजमर्दो र घिनलाग्दोको संज्ञा समेत दिएका छन् ।
सरकारको एक बर्ष पुगेका बारेमा टिप्पणी गर्दै महामन्त्री सिंहले भने, ‘मुलुकमा अहिले सम्म नभएको भ्रष्टाचार, मूल्य बृद्धि, अनियमितता, अराजकतालगायतका कार्य भएका छन् ।’
उनले राज्यको स्थायी सरकार कर्मचारी प्रशासनमा हस्तक्षेप गरेर एमाओवादी नेतृत्वको बर्तमान सरकारले राज्यलाई कमजोर बनाएको बताए । ‘कामचालउ सरकारले जनतालाई आहतै आहत दिएको छ,’ उनले भने, ‘यो सरकारको अनैतिक कार्यको भण्डाफोर गर्नुपर्छ ।’

प्रतिक्रिया