विमानस्थलमा पार्किङ स्थल अभाव

काठमाडौं, १० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइचाप बढ्दै गएपछि जहाजका लागि पार्किङस्थलको अभाव हुन थालेको छ । आन्तरिक वायुसेवा कम्पनीले ‘बेस सिस्टम’को अवज्ञा गर्दा यस्तो अवस्था आएको हो ।
वायुसेवा कम्पनीलाई उडान बेस छुट्याएर अनुमति दिने गरिए पनि त्यसको पालना हुने गरेको छैन । हवाई नीति ०६३ अनुसार हरेक नयाँ जहाज भित्र्याउनुपूर्व उडान बेस किटान गरिएको हुन्छ तर त्यसको कार्यान्वयन हुनसकेको छैन । राजधानीबाहिरका विमानस्थललाई समेत बेस बनाएर उडान गर्नुपर्ने प्रावधान भए पनि धेरै उडान काठमाडौंबाट हुने गरेका छन् । व्यावसायिक फाइदा राजधानीबाट बढी हुनु तथा बाहिरका विमानस्थलमा पर्याप्त प्राविधिक तथा भौतिक उपकरण अभावका कारण अधिकांश विमानकम्पनी राजधानी केन्द्रित छन् ।
पार्किङ अभावका कारण पर्यटकीय सिजनमा जहाज आकाशमै होल्ड गर्नुपर्ने समस्या बढेको छ । यदि मौसम तथा प्राविधिक कारणले उडान ढिलाइ भयो भने निकै समस्या हुने गरेको विमानस्थलस्थित अपरेसन विभागका प्रबन्धक राजबहादुर महर्जनले बताए ।
पर्याप्त पार्किङस्थल अभावका कारण विमानस्थलमा जहाज एकआपसमा ठोक्किने गरेको सम्बन्धित विमान कम्पनीले बताएका छन् । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ २० वटा जहाजको पार्किङ क्षमता भए पनि ४० वटासम्म जहाज तथा हेलिकोप्टर पार्किङ हँुदै आएका छन् । दिउँसोको समयमा उडान हुने भएकाले समस्या नभए पनि रातको समयमा पार्किङ समस्या बढी हुने गरेको छ ।
विमानस्थलमा हरेक कम्पनीका लागि पार्किङ स्थल छुट××याइएको हुन्छ तर स्थान अभावका कारण एउटा कम्पनीको पार्किङस्थलमा अर्को कम्पनीको जहाज राख्नुपर्ने अवस्था छ । हवाई नीतिमा एक वायुसेवा कम्पनीको पार्किङ क्षेत्रमा अर्को कम्पनीको जहाज पार्किङ गर्दा २० प्रतिशत शुल्क तिर्नु पर्ने व्यवस्था छ । तर, यसको कार्यान्वयनमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण उदासीन रहेको आरोप वायुसेवा कम्पनीको छ । विमानस्थल प्रशासन भने जहाज बेसका आधारमा अनुगमन गर्ने जिम्मा प्राधिकरणको भएको भन्दै पन्छिने गरेको छ ।
त्रिभुवन विमानस्थलमा अहिले आन्तरिकतर्फ बुद्ध एयरका सात, यती एयरका सात, तारा एयरका पाँच, नेपाल वायुसेवाका तीन, अग्नी एयरका चार, सीता एयरका दुई र गुण एयरलाइन्सका तीनवटा जहाज पार्किङ हुने गरेका छन् । त्यस्तै, हेलिकोप्टरतर्फ फिस्टेलका पाँच, एयर डायनेस्टीका चार, श्री एयरका तीन, माउन्टेन हेलिकोप्टर्सका दुई र सिम्रिक एयरलायन्सका दुईवटा हेलिकोप्टर पार्किङ हुने गरेका छन् । हेलिकोप्टरका लागि भने धावर्नमार्गपूर्वपट्टि व्यवस्था गरिएको छ ।
त्रिभुवन विमानस्थलको जहाज पार्किङस्थल साँघुरो र अव्यस्थित भएको गुनासो वायुसेवा कम्पनीहरूले गर्दै आएका छन् । पर्याप्त ठाउँको अभाव भएपछि रातको समयमा जहाज धकेलेर पार्किङ गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । जहाजमा ‘ब्याक गियर’ नहुने हँुदा ठूला जहाज मेसिन लगाएर तथा सानो जहाज मान्छेले धकेलेर पार्किङ गर्ने गरेका छन् ।
हाल सञ्चालनमा रहेका १५ वटा आन्तरिक वायुसेवा कम्पनीमध्ये १२ वटा कम्पनीको बेस काठमाडौं छ । सिंगल इन्जिन जहाज सञ्चालन गर्ने एयर काठमडौं, मकालु र गोमा एयरले मात्र सुर्खेत तथा नेपालगञ्जलाई बेस बनाएर सेवा सञ्चालन गर्छन् । त्यस्तै सीता, श्री र सिम्रिक एयरका केही जहाज तथा हेलिकोप्टर सुर्खेतलाई बेस बनाएर उडान गर्छन् । मन्त्रालयले अनुमति दिँदा पोखरा, विराटनगर, सिमरा, लुक्ला तथा नेपालगन्जजस्ता विमानस्थलमा बेस बनाएर उडान गर्ने गरी अनुमति दिए पनि यसको पालना हुनसकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य बेस सिस्टमको पालना गर्ने हो भने जहाज पार्किङको समस्या नहुने बताउँछन् । यसमा नियामक निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया