‘शिक्षकका कारण शैक्षिक स्तर कमजोर’

काठमाडौं : शिक्षकका कारण शैक्षिक अवस्था कमजोर भएको शिक्षककै एक नेताले बताएका छन् । सार्क शिक्षक महासंघका अध्यक्ष मोहन ज्ञवालीले सार्क मुलुकका शिक्षकले कमजोर शिक्षा दिएका कारण शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार आउन नसकेको बताएका हुन् ।
सामुदायिक विद्यालय तथा विश्वविद्यालयको शैक्षिक स्तर सुधारका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण रहने भए पनि उनीहरू जिम्मेवार नभएको आरोप अध्यक्ष ज्ञवालीले लगाए । राजधानीमा शनिबार भएको कार्यक्रममा ज्ञवालीले शिक्षकहरू आफूले रोजेको पेसाप्रति प्रतिबद्ध हुन आवश्यक रहेको बताए ।
सार्क मुलुकका शिक्षक विश्वमै उत्कृष्ट रहेको दाबी गर्दै उनले उनीहरूका लागि सरकारले उचित तालिम तथा मूल्यांकनको व्यवस्था नगरेका कारण समस्या आएको बताए ।
महासंघको हालै सम्पन्न तेस्रो महाधिवेशनले समेत शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकले पेसालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारीमा विद्यार्थी तथा अभिभावकको आकर्षण घट्दै गएकाले त्यसको सुधारका लागि सरकारलाई दबाब दिन आवश्यक रहेको निष्कर्ष पनि निकालिएको ज्ञवालीले बताए । अञ्जु लामा/प्रशिक्षार्थी

प्रतिक्रिया