प्रहरी सुरक्षामा निकासी सुरु

विराटनगर, १० भदौ । एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्ले पूर्वी मोरङका खोला तथा वनबाट ढुंगा, गिट्टी, बालुवा र वनपैदावार निकाल्न रोक लगाएपछि प्रहरी सुरक्षामा पुन: निकाल्न सुरु गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीसम्बद्ध परिषद्ले झन्डै दुई साताअघिबाट निर्माणसामग्री र वनपैदावार निकासीमा प्रतिबन्ध लगाएपछि प्रहरी सुरक्षामा ती सामग्रीको निकासी थालिएको हो । परिषद्ले पूर्वर्ी मोरङका उर्लाबारी, जाँते, लेटाङ, टाँडी, मधुमल्लालगायतका गाविसका खोला तथा वन क्षेत्रबाट सामग्री निकाल्न प्रतिबन्ध लगाएको थियो ।
परिषद्का कार्यकर्ताले सोल्टी, मिक्लुुक, सफेवा, तेलीलगायतका खोलामा ट्रिपर, ट्रक र ट्रयाक्टरलगायतका मालवाहक साधनलाई खोलामा छिर्न अवरोध गर्दै आएका थिए । गत आइतबार परिषद्का कार्यकर्ताले उर्लाबारी, जाँते, पथरी, मधुमल्ला गाविसमा रहेका खोलामा निर्माणसामग्री लिन गएका दुई दर्जन ट्रिपर, ट्रक, ट्रयाक्टरलगायतका मालवाहक सवारीसाधन नियन्त्रणमा लिनुका साथै मंगलबार परिषद्का कार्यकर्ताले मधुुमल्ला र जाँतेको बीचमा पर्ने मुुगुुखोलामा बालुवा लिन गइरहेको को १ त ४६३१ नम्बरको ट्रयाक्टरमा आगो लगाएपछि प्रहरीको सुरक्षामा निकासी थालिएको हो ।
त्यस क्षेत्रमा निर्माणसामग्री र वनपैदावार लिन गएका सवारीसाधनको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीबाट टोली खटाइएको छ । परिषद्का कार्यकर्ताले ट्रयाक्टरमा आगजनी गर्नुका साथै सवारीसाधनसमेत नियन्त्रणमा लिन थालेपछि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर ढुण्डीराज न्यौपानेले बताए ।
परिषद्ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) १६९ कार्यान्वयन गर्ने भन्दै चुरे क्षेत्रबाट वनपैदावार निकाल्न प्रतिबन्ध लगाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले गत बुधबार परिषद्का केन्द्रीय अध्यक्ष डिल्ली मिभकको घरमा छापा मारेको थियो । मंगलबार भएको ट्रयाक्टर आगजनीमा संलग्न कार्यकर्ता लुकाएको आशंकामा मिभकको घरमा छापा मारिएको प्रहरीले जनाएको छ ।
परिषद्ले भने घटनाको विरोध गरेको छ । यसैबीच मंगलबार भएको ट्रयाक्टर आगजनीको घटनामा संलग्न भएको आशंकामा बिहीबार पक्राउ परेका परिषद् कार्यकर्ता खगेन्द्र तामाङलाई प्रहरीले शुक्रबार छाडेको छ । तामाङलाई सामान्य तारेखमा छाडिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । तामाङ पक्राउ परेपछि परिषद्का कार्यकर्ताले शुक्रबार दिनभर इप्रका उर्लाबारीमा धर्ना दिएका थिए ।
ढुवानी व्यवसायी त्रसित
ट्रयाक्टरमा आगजनी भएपछि ढुवानी व्यवसायीहरू त्रसित छन् । एक व्यवसायीले भने, ‘अझैसम्म पनि निर्बाधरूपमा गिट्टी, बालुवा, ढुंगालगायतको निकासी हुन सकेको छैन ।’ सोझै चन्दा संकलन गर्न नमिलेपछि लिम्बुवानका नाममा च्याउसरी उम्रिएका संगठनले रकम असुल्न ‘प्राकृतिक स्रोत’ को खोचे थापेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया