मृत्युदण्डबाट बाँचेका लेखक

एउटै मूल्यका लागि नेपाली साहित्यलाई साधन र साध्य बनाई, एउटै निष्ठामा जीवन व्यतीत गर्ने स्रष्टाको नाम हो– डायमन शमशेर राणा जसको निष्ठा र मान्यता थियो नेपालमा खुला समाजको स्थापना अथवा प्रजातान्त्रिक शासन प्रणालीको स्थापना ।

उहाँले वसन्ती र सेतोबाघमा जालझेलको नेपाल, सामन्तीहरूको नेपाल, गरिब र दु:खीहरूको नेपाल, अन्धकार र अशिक्षाले भरिएको नेपाल, खान नपाउनेहरूको देश नेपाल भनेर बारम्बार भन्नुभएको छ । एउटा शासक वर्गको, सम्भ्रान्त परिवारको व्यक्तिले यस्ता शब्द प्रयोग गर्नसक्ने बेला थिएन । तर, उहाँले भन्नुभएको छ– जंगबहादुरहरूले नै बेलायतबाट रक्सी ल्याएर, रक्सी मगाएर ठुल्ठूलो खानपिनका तरिका सिकाउनुभयो तर डेमोक्रेसी सिकाउनुभएन, शिक्षा ल्याउनुभएन । त्यसैकारणले गर्दा राणाहरूको पनि अन्त्य भयो, देशबासीको पनि विजोग भयो । उहाँले जनतालाई के चाहिएको छ ? भन्दा ‘स्वतन्त्रता र खासगरी डेमोक्रेसी र त्यसका लागि शिक्षादीक्षा–चेतना चाहिएको छ, अनि यो भ्रष्टाचार, अत्यचार, शोषणाव्याप्त समाजको अन्त्य हुनुपर्छ भनेर पचास वर्षसम्म लडाइँ गर्नुभयो । उहाँ साहित्य लेखेबापत कोर्ट मार्सल भोग्नबाट अथवा मृत्युदण्डबाट बाँचेको मान्छे हुनुहुन्थ्यो ।
उहाँले ‘बेलायतको जस्तो संसदीय व्यवस्था नेपालमा हुनुपर्छ’ भनेर पचास/साठी वर्ष अगाडिदेखि आफ्नो कृतिमा लेख्नुभएको छ, तर आफ्नो विद्रोहलाई आक्रामक स्वरले होइन अति परोक्षरूपले साहित्यभित्र लुकाएर साहित्य पढ्दा बिस्तारै रस भिज्ने गरी प्रस्तुत गर्नुभएको छ । ऐतिहासिक पात्रहरू राखेर, परिवेश राखेर उहाँले भन्नुभएको छ– ‘यी राणाहरूका विषयमा म त्यही परिवारको सदस्य भएकाले मैले जति अन्तरकुन्तर र यसका सारा भित्री कुराहरूको अध्ययन गर्न कसैले सक्ने थिएन होला । त्यसकारणले मैले आफ्नै घरभित्रका कुरा र गुनासाहरू लेखँे । त्यसले मेरा दाजुभाइ, इष्टमित्र, राणापरिवार, राजखान्दानहरू मदेखि क्रुद्ध भएर मैले यस्तो भोग्नुपर्‍यो ।’
उहाँलाई नेपाली ऐतिहासिक आख्यानका एक मात्र धरोहर मानिन्छ । ऐतिहासिक उपन्यासको संरचना मात्र इतिहास हुन्छ त्यसमा शरीर र प्राण लेखकको शिल्प र कल्पनाले भर्छ । वसन्ती पहिलो उपन्यास २००६ सालमै छापिएको हो । उहाँ त्यतिबेला आर्मीमै हुनुहन्थ्यो । लेखिसकेर उक्त कृतिलाई देखाउनु पथ्र्यो । त्यतिखेर नेपालका भाषा अनुवाद परिषद्देखि अरू साहित्यिक संस्था वा व्यक्तिहरू– जस्तै, पुष्कर शमशेर र अरू राणाहरू मृगेन्द्र शमशेर आदि थिए, जसले त्यस्ता कृतिको अवलोकन गर्थे । सेन्सरसिप कडा थियो । यहाँ छाप्न नमिल्ने भयो र पछि उहाँले वनारस लगेर छापेर ल्याउनुभयो । ‘२००७ साल नआएको भए म जीवित रहन्नथेँ,’ उहाँ भन्नुहुन्छ । यसरी राणाका पालामा स्वभावैले उहाँ आँखाको तारो बन्नुभयो । ०१७ सालपछि विपी कोइरालालगायत स्वतन्त्रता पक्षधरहरूसित उहाँ लाग्नुभयो । त्यसैले फेरि पनि उहाँलाई कारावास पठाइयो ।
उहाँको स्मरणशक्ति राम्रो थियो । देहावसान हुनुभन्दा केही अघिको एक अन्तर्वार्तामा उहाँले भन्नुभएको छ । र, त्यस्तै अघि पनि भन्नुहुन्थ्यो ‘मेरो परिवार दरबार, सिंहदरबारदेखि लिएर अन्य दरबारमा उठ्ने, बस्ने, खेल्नेहरू, जोसँग मेरो विशाल राणा परिवारका ती संस्कारसँग सम्पर्क भयो, ती सबै घटना त मलाई कण्ठै छन् । तिनलाई अहिले पनि म भन्न सक्छु । त्यसकारणले जेलभित्रै लेखेता पनि मलाई स्मरण थियो र त्यसैलाई मैले प्रयोग गरेँ । उहाँलाई प्रेरित गर्ने मुख्य व्यक्ति एक बंगाली गुरु हुनुहुन्थ्यो । बंगाली गुरुले पाश्चात्य साहित्य पढाउनुभयो । तर, डाइमनले धेरै शिक्षा लिन पाउनुभएन । हाइस्कुलमा मात्रै सीमित भयो । उहाँले शेक्सपियरदेखि यताका उर्वर विचारका अनेकौँ कृति पढ्नुभयो अनि एउटा ओपन सोसाइटी अर्थात् खुला समाज यस्तो हुँदोरहेछ भन्ने थाहा भएर साहित्यपट्टि लाग्नुभयो । त्यही प्रेरणाले उहाँ आफँै वसन्ती लेख्न थाल्नुभयो । वसन्ती जंगबहादुरको कोत पर्वको हत्याकाण्डमा पुगेर टुंगिन्छ । यो राणाहरूकै चकचकी हो । अनि त्यसको क्रमलेखनमा सेतोबाघ (०३०) आयो । सेतोबाघमा जंगबहादुरका भाइ र छोराहरूबीचको षडयन्त्र, युद्ध र विनाश छ । ‘यसरी अशिक्षाले गर्दा राणाहरू आफू पनि समाप्त भए, र अशिक्षाले गर्दा नै उनीहरूले देशलाई पनि समाप्त गरे,’ उहाँको भनाइ त्यही छ, ‘उनीहरूले अज्ञानताले गर्दा देश समाप्त गरे ।’ उदार शिक्षा ल्याइएको थियो भने उनीहरू पनि बँच्थे, देश पनि बँच्थ्यो । आफ्नो परिवार चाहिँ भोग–विलास, अन्याय–अत्यचार, अन्धकार, अन्धविश्वास, जादु भूतप्रेत, टुनामुना, सम्पत्तिको मोजमस्तीमा मात्र लागेको देखेर अशिक्षाले यस्तो भयो भन्ने उहाँलाई लाग्यो र वास्तवमा ती कुरा खोतल्न यी कृतिहरू लेखिए ।
उहाँको सिद्धान्त बोकेका मास्टरपिस किताब नै सेतोबाघ हो । सेतोबाघको तीस वर्षअगाडि नै ग्रेटा राणाले द वेक अफ द ह्वाइट टाइगर शीर्षकमा अनुवाद गर्नुभएको छ । खासगरी नेपाली उपन्यासलाई पाश्चात्य जगत्मा केही मात्रामा भए पनि बुझाउने त्यो ह्वाइट टाइगर नै हो । त्यसपछि जर्मनमा भयो, फ्रेन्चमा पनि भयो । गतवर्षको यात्रामा मलाई कोरियाली विद्वान्ले कोरियनमा पनि यसको अनुवाद पूरा हुन लागेको बताएका थिए ।
त्यसो त उहाँले कुनै जागिर, पदीय एकेडेमिक वा अन्यत्र कुनै संस्था वा पुरस्कारमा प्रवेश गर्नुभएन । यद्यपि देहावसान हुनुअघिको अन्तर्वार्तामा र दुई–तीन वर्षअगाडिका लेखमा पनि उहाँले भन्नु/लेख्नुभएको छ– ‘मैले एक वर्षको छ लाख रुपियाँ प्राप्त गरेँ, मेरा किताबबाट विदेश र देशबाट पुरस्कार लिन म फ्रान्ससम्म गएँ, रोयल्टी लिन म उहाँसम्म पगेँ । त्यसकारण मलाई महिनाको सात हजारजस्तो औषधिमा खर्च गर्न पुगेको छ । अहिले पनि रोयल्टीले बाँचेको छु,’ गौरवसाथ भन्नुभएको छ ।
उहाँको पछिल्लो उपन्यास अनिता डा. रामदयाल रकेशले हिन्दीमा अनुवाद गर्नुभयो । त्यो लिएर म प्रवद्र्धन गर्न सकिएला कि भनी ०१० सितम्बरमा दिल्लीसम्म पुगेको थिएँ । त्यसमा हाम्रो सरकारी पुस्तक नीति बाधक रहेछ । अब खगेन्द्र नेपालीले उहाँको सेतोबाघलाई सुन्ने सिडी बुक पनि बनाउनुभयो त्यो पनि त्यतिकै लोकप्रिय भएको छ ।
प्रजातन्त्र आइसकेपछि सत्र सालसम्म अरू डेमोक्रेटिक मुभमेन्टमा बित्यो । त्यसपछि पञ्चायतकालले उहाँलाई लामो कारावास सजाय दियो । ४६ सालसम्म उहाँ हरेक किसिमको कैदी/देशद्रोही भएर बस्नुभयो । त्यसपछि पनि साहित्यकारले उहाँको प्रेम गर्न जानेनन् । उहाँप्रति इष्र्या नै भयो । त्यसले गर्दा जीवनभर नै उहाँ उपेक्षितजस्तो भएर साठी वर्षको लेखकीय जीवनभर कहिल्यै कसैको प्रिय हुननसकी सबैको आँखो, सबैको तारो भएरै बिताउनु भयो ।
डेमोक्रयाटिक मुभमेन्टको उहाँ, नेपाली कांग्रेसको नजिक भएका उहाँलाई मन नपराउने अथवा त्यो साहित्यलाई अगाडि आउन नदिने खेमा अझै पनि रहेछ । त्यसले गर्दा ०६५ साल अगाडि जुन वसन्ती छापिन नसकेदेखि लिएर अहिले ०६५/६६ सालसम्म जुनजुन सरकार आए पनि एकथरीका मानिसविपरीत उभिएर उहाँले प्रजातन्त्रका लागि लडेकोलडयै गर्नुभयो । त्यत्रो निष्ठाको कुनै नेपाली सहित्यकार जन्मिएको छैन । उहाँको निधन ९३ वर्षको उमेरमा भयो ।

प्रतिक्रिया