बत्तीमुनिका अँध्याराहरू

काठमाडौं, ९ भदौ । पुलिस क्लबमा आबद्ध नेपालका मिडल स्प्रिन्ट च्याम्पियन सिद्धान्त अधिकारीले आमअनुमानलाई तोड्दै भने, ‘म कुनै सरकारी प्रशिक्षकको चेला होइन, पोखरामै रहने कम चर्चामा रहेका एक प्रशिक्षकको शिष्य हुँ ।’ आफ्ना प्रशिक्षक यभन रञ्जितकै बारे उनको दाबी रह्यो, ‘नेपालका कुनै प्रशिक्षकभन्दा उहाँ कम मिहिनेती हुनुहुन्न ।’ छैटौँ राष्ट्रिय खेलकुदमा आठ सय र १५ सय मिटरको स्वर्ण पदक जितेका सिद्धान्तसँगै मध्यम दूरीकी धाविका मनीषा अधिकारीले पनि रञ्जितसँगै प्रशिक्षण लिने गरेकी छन् ।
नेपाली खेलकुदका कुन प्रशिक्षक उत्कृष्ट भन्ने बहस आमखेलकर्मीका लागि चासोकै विषय हो । घरेलु फुटबलमा पुलिस क्लबलाई सफलता दिलाउने फुटबलका विराटकृष्ण श्रेष्ठ, एथलेटिक्सका सुशीलनरसिंह राणा र मुख्य प्रशिक्षकका रूपमा तेक्वान्दोलाई लामो समय नेपालको पहिलो नम्बरको खेलकुदको रूपमा स्थापित गराउने दीपराज गुरुङ धेरैका आदर्श हुनसक्छन् । दीपक महर्जनले एसियाड र किंस कपमा पदक जित्दा मुख्य प्रशिक्षक रहेका प्रचण्ड शर्मा पनि चर्चामै रहे ।
यहाँ चर्चा गर्न खोजिएका पात्र ती हुन्, जो लामो समय नेपाली खेलकुदमा समर्पित रहे । उनीहरूका उत्पादनले नेपाली खेलकुदमा केही भिन्न छाप पनि छोडे । तर, खेलकुदको मूलधारले उनीहरूलाई चिन्दैन र चिने पनि त्यत्ति साह्रो महत्त्व दिँदैन । तिनैमध्ये एक प्रशिक्षक यभन हुन् । उनी काठमाडौंका स्थायी बासिन्दा हुन् । प्रशिक्षकका रूपमा पोखरामा रहेका छन् । निरन्तर प्रशिक्षणमा व्यस्त छन् । उनको मिहेनतलाई सार्थक तुल्याउने दुई खेलाडी सिद्धान्त र मनीषा नै हुन् । मनीषाले छैटौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको दबदबाका माझमा पनि पश्चिमाञ्चललाई पदक दिलाएकी थिइन् ।
जुडोका राजेश कर्माचार्य आफ्नो खेलको कुनै प्रभाव नरहेको पर्सा जिल्लामा पुगे, जागिरेका रूपमा । एक दशकभन्दा बढी समय पर्सामा बिताएका राजेशले यसै क्रममा आफ्नो कर्मभूमिलाई नेपाली जुडोको पावरहाउसका रूपमा स्थापित गरे । एसियन जुनियर च्याम्पियनसिपमा कास्य पदक जित्ने लीला अधिकारी, त्यत्तिकै प्रभावशाली खेलाडी सुव्रत श्रेष्ठ, राधादेवी राई, इन्दिरा राई र रञ्जु राई यी सबै राजेशका चेला हुन्, जसले पछिल्लो समय नेपाली जुडोको साख थेगे । राजेशकै बारे जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जित भन्छन्, ‘उनी साँच्चै उत्कृष्ट प्रशिक्षक हुन् । उनले विरगन्जमा जे गरे, त्यो सधैँ सम्मान गर्नलायक कार्यका रूपमा रहनेछ ।’ प्रतियोगिता सञ्चालनका दौरान व्यवस्थापकीय कुरामा चुस्त देखिनु उनको थप विशेषता हो । भारत पटियालाबाट एनआइएस गरेका राजेश त्यहाँ सबैभन्दा बढी अंक स्कोर गर्ने नेपाली प्रशिक्षकमध्ये पर्छन् ।
विश्वरूपा बूढा छैटौँ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक जित्ने खेलाडी हुन् । जुम्लाकी यी किशोरीलाई त्यहाँसम्म पुर्‍याउने काम कुनै समय मध्यम दूरीमा उत्कृष्ट नेपालीका रूपमा रहेका तथा पछिल्लो समय हाई अल्टिच्युट धावकका रूपमा चिनिएका हरिबहादुर रोकायले गरे । उनले स्थापना गरेको कर्णाली एथलेटिक्स क्लबमा बूढा आबद्ध छिन् ।
बालाजु कराते डोले यत्तिसम्म प्रभाव छाडेको छ कि करातेका कुनै पनि प्रतियोगितामा यस एकडेमीका खेलाडी हेर्नलायक हुन्छन् । एक या दुई खेलाडीको नाम लिएर साध्य पनि हुँदैन, बालाजु एकडेमीको उत्पादनकै कुरा गर्दा । ध्रुवविक्रम मल्ल मुख्य प्रशिक्षक रहेको बालाजुका मुख्य उत्पादनमा साग स्वर्ण पदक विजेता सुनील लामा र साग रजत पदक विजेता अनुु अधिकारी रहेका छन् । लक्ष्मी भट्ट र मल्लिका थापासँगै थुप्रैले राष्ट्रिय टोलीको ढोका ढकढक्याइसकेका छन् ।
राष्ट्रिय खेलकुद परिषद््ले एउटा पनि बुद्धिचाल प्रशिक्षक राखेको छैन तर पनि बुद्धिचालमा आबद्ध थुप्रै व्यक्ति लगातार आफ्नो खेलमा प्रतिबद्ध रहे । उमेरमा ७० को आसपास रहेका सीताराम अग्रवालले चेस खेल्न सिकाएका थुप्रै राष्ट्रिय च्याम्पियन भए होलान् । राष्ट्रिय च्याम्पियनसिपमा उनका थुप्रै शिष्यको प्रभाव अझै रहन्छ ।
पुस्तान्तरसँगै यसै खेलमा लागेर उत्कृष्ट खेलाडी उत्पादन गर्नेको लामो सूची छ । भक्तपुरको ख्वप्रिङ स्कुलका निरञ्जन प्रजापतीका चेला यु–१५ राष्ट्रिय च्याम्पियन राज प्रजापती र मतिना कुसी उनका सबै भन्दा राम्रो उत्पादन हुन् । कुनै समय विद्यलाय शिक्षकका रूपमा रहेका महेन्द्र ढकाल नेपालमा छैनन् । तर, उनले सुरुवात गरेको स्कुलमा चेस प्रशिक्षणको सोच पछिल्ला वर्षहरूमा सार्थक सवित भयो । तर, यी सबैभन्दा प्रभावकारी केशव श्रेष्ठ रहे । उनका शिष्य १५ वर्षे विवेक लामा र विजय डंगोल तथा १८ वर्षे हिमाल लामाले अघिल्लो पुस्ताका कुनै पनि स्टारलाई पराजित गरे आश्चर्य हुनेछैन । विनिता कपाली र रोशन पौडेल उनका अन्य चर्चा गर्नलायक खेलाडी हुन् । काठमाडौं चेस क्लबमा प्रत्येक शनिबार प्रशिक्षण दिने उनले त्यसबापत कुनै शुल्क लिँदैनन् भने आवश्यक सामग्रीमा पनि व्यक्तिगत रूपले सहयोग गर्छन् । पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका भद्र स्वभावका केशवको विशेषता यो हो कि उनका हरेक चेला अत्यन्तै अनुशासित छन् । केशवकै बारे अर्का पूर्वराष्ट्रिय च्याम्पियन सुरवीर लामा भन्छन्, ‘केशवको चेला हुनु भनेकै खेलमा मात्र राम्रो होइन, त्यत्तिकै अनुशासित पनि हुनु हो ।’
नेपाली फुटबलका एकजना सर्वकालीन उत्कृष्ट स्ट्राइकर हरि खड्का स्टार हुनुमा थुप्रैको भूमिका रह्यो । प्रशिक्षकका रूपमा जर्मन नागरिक होल्गर ओभरम्यानका कारण उनी स्टार भएको कुरामा शंका रहँदैन । तर, उनलाई बाटो देखाउने र खेल अभिभावकका रूपमा लामो समय बिताउने गणेशराज भण्डारीको हरि खड्का स्टार हुनमा साँच्चै ठूलो योगदान छ ।
यसैगरी, बक्सिङका दीपक महर्जनलाई सिकाउने बोसीगाउँका प्रशिक्षक राज श्रेष्ठको पनि नेपाल खेलकुदमा योगदान छँदै छ । नेपालगन्जमा रहेका एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङ धेरैले याद नगरेको नामका रूपमा रहे । उफ्राइका तीनवटै स्पर्धाकी राष्ट्रिय च्याम्पियन तथा राष्ट्रिय कीर्तिमानधारी केशरी चौधरी उनकै उत्पादन हुन् ।
यो सूची धेरै लामो हुनसक्छ । जो नेपाली खेलकुदमा साँच्चै समर्पित रहे । तीमध्ये कोही सरकारी जागिरे छन् र कोही छैनन् पनि । तर, उनीहरूको योगदानलाई सरोकारवालाले नबुझेको भने साँचो हो ।

प्रतिक्रिया