खोजखबर

अपरिचिता

सौर्य अनलाइन २०६९ भदौ ९ गते २:०३ मा प्रकाशित

राति सपनीमा अपरिचितालाई हरियो चुरासहित देखे । आज उसको र मेरो आधिकारिक ब्रेकअप भएको एक वर्ष पुग्यो । एक वर्षअगाडिको त्यो दिन मदिराशालामा सँगै मदिरापान गर्‍यौँ । अनि साढे पाँच महिनाको अफेयरबाट अफिसियल्ली छुट्टिने निधो पनि । त्यो दिनदेखि उसले सहकर्मी नायकसँग प्रेम सम्बन्ध सुरु गर्ने निर्णय गरेकी थिई । म चैँ ‘सिंगल’ ।

मैले ट्याग्डमा एउटा फेक एकाउन्ट बनाएको थिएँ, कहिलेकाहीँ चलाउथेँ । उसँगको संगत सुरु भएसी यो दैनिक भयो । उसको पनि मान्छे रियल, आइडी फेक । फेक नाममै म्यासेज आदानप्रदान हुन्थ्यो । एकदिन मलाई आफ्नो रियल जिमेल आइडी दिई । मैले जिमेलबाट एड गरेँ । ऊ अपरिचिता थिई । सक्कली चिनापर्चीको कथा सुरु भयो । ट्याग्डमा कलेज लाइफ, सिनेमा र सेक्स हुन्थ्यो । राति अबेरसम्म म्यासेज । अपरिचितासँगको मिड नाइट गफले सपनामा कहिलेकाहीँ बग्थे । न्युरोड र रत्नपार्कका सडकपेटीमा बेच्न राखेका ‘सी’ग्रेड मुभी र अल्कोहलका ब्रान्ड– हाम्रा गफका टपिक ।

माघ महिनाको एक बिहान घमाइलो थियो । त्यो दिन एउटा राजनीतिक दलको उपत्यका बन्द थियो । हिँडेर अफिस जान टाढा हुने भएकाले दिनभर डेरातिरै थिएँ । कुनै बेला सडकमा निस्केर बन्द हेर्थें, कुनै बेला डेराभित्र इन्टरनेट ।
अपरिचिताले टेक्स्ट गरी, ‘५ बजे बन्द खुला कि नखुला ?’
५ बजे बन्द खोल्ने परम्परा भएकाले अनुमानमै रिप्लाइ गरेँ, ‘मेभी ।’
बन्द खुल्यो भने मसँग भेट्ने मन गरी । मैले पनि ‘हुन्छ’ भनिदिएँ ।
बन्द खुल्ने लगभग पक्का थियो । मतलब, अपरिचितासँग पहिलो भेट हुने भयो ।
मन आत्तिएको थियो । कुराकानीको लामो सिलसिला भए पनि पहिलोचोटि भेट्दै थिएँ ।
दाह्री बढेको थियो, काटूँ कि नकाटूँ, अलमलिएँ । ह्या † काटिनँ ।
फर्मल ड्रेस लगाऊँ कि इन्फर्मल ? जिन्स र टिसर्ट जिन्दावाद †
सवा ५ बज्यो । अपरिचिताको फोन आयो ।
‘म ११ मिनेटमा तिमी बस्ने चोकनजिकै पुग्छु । त्यहाँ आइराख्नु है ।’
‘अनि कता जाने ?’ मैले चिन्ता जनाएँ । बन्दको दिन रेस्टुरेन्टहरू प्राय: बन्द हुने । अरू डेटिङ स्पटको बारेमा थाहा थिएन । कोठामै जाऊँ भन्न पनि आँट आएन ।
‘मलाई’नि थाहा छैन ।’
‘बाटोमा आउञ्जेल सोच्दै गर न,’ मैले जिम्मा दिएँ ।
निकोनको एउटा क्यामेरा बोकेर उसले भनेको चोक पुगँे । मेरो मनपर्ने हरियो रंगको स्कुटर मेरो सामुन्ने रोकियो । रातो रंगको टिसर्ट लगाएकी स्कुटरवालीले जिन्सको ज्याकेटबाट मोबाइल निकालेर नम्बर डायल गरी । एकैछिनमा मेरो खल्तीमा रहेको मोबाइल थर्कियो । मैले थाहा पाएँ, स्कुटरवाली सुन्दरी अपरिचिता थिई ।
‘अपरिचिता †’ मैले ठूलै स्वरमा भने ।
ऊ हाँसी अनि हेल्मेटको भाइजर माथि सार्दै हात मिलाइ ।
‘तिमी त मैले सोचेभन्दा राम्री र योङ रै’छौ ।’ आँखा झिम्क्याउँदै भने ।
अनुहार रातो पार्दै उसले स्कुटरमा चढ्ने इसारा गरी ।
रहर थियो कुनै स्कुटरवालीको स्कुटर पछाडि बसेर उसँगै टाँसिएर सहर घुम्ने, पूरा हुँदै थियो । पहिले उसको स्कुटर भएको बताएकी थिइन । उसले नै सिलसिला सुरु गरी ।
‘हिजो मात्र किनेकी,’ स्कुटर अगाडि बढाउँदै थपी, ‘अहिलेसम्म कोही पछाडि बसेको छैन । यु आर द फस्र्ट ।’
म मख्ख परेँ । बाइक र स्कुटरको अल्पज्ञानी मैले थपेँ, ‘फस्र्ट सर्भिसिङभन्दा अगाडि डबल लोड हाल्नु हुँदैन भन्छन् त †’
‘यु आर नट कन्सिडर्ड एज डबल लोड ।’
‘किन ? मेरो वेट ७२ किलो छ,’ मैले जिज्ञासा राखे ।
हाँसेर कुरा टारी । हामी जाने कुनै गन्तव्य थिएन । ऊ स्कुटर हाँक्दै थिई । जहाँ त पुगिएला, मलाई चिन्ता थिएन । बीचबीचमा अलि अलि कुरा हुँदै थियो ।
सहरभन्दा अलिकति बाहिर एउटा शान्त ठाउँमा ऊ रोकिई । म ओर्लें ।
उसले भनेजस्तै भयो । फोन र अनलाइनमा लामो कुरा गर्ने हामीलाई भेटेर कुरा गर्नै आएन । एकअर्कालाइ हेरेर नै एक घन्टा बितेछ । चिसो बढ्दै थियो, मैले ‘जाऊँ’ भने । ऊ पार्किङबाट स्कुटर निकाल्न लागी । मैले त्यहीबेला जूनको फोटो खिचेँ ।

प्रेम झाँगिदै थियो । पहिले काठमाडौंबाहिर जान फुरुङ पर्ने म अब बाहिर जाँदा कहिले काठमाडौं फर्किन पाइएला भन्ने भइसकेको थिएँ । हरेकपटक म बाहिर जानुअघि उसले मलाई स्कुटर चढाएर मन्दिर लैजान्थी र यात्रा सुरु गर्ने ठाउँसम्म छोडिदिन्थी । ‘मिस यु’ र ‘कहिले फर्किने ? चाँडै फर्के हुन्न ?’ भन्ने टेक्स्ट गएदेखि नफर्केसम्म पठाइरहन्थी । मलाई पनि कहिले फर्किऊँ र उसलाई भेटूँ भन्ने लागिरहन्थ्यो । जहाँबाट फर्किंदा पनि उसका लागि केही न केही बोकेरै फर्किन्थेँ । उसलाई उसको मन पर्ने खानेकुरा पकाएर खुवाउने मेरो रहर हुन्थ्यो । मैले पकाउँदै गर्दा ऊ भन्थी, ‘मलाई जिन्दगीभर सुख हुने भयो । तैपनि, मलाई पनि सिकाउनु है ।’

केही समयको अफेयरपछि ऊ हराएजस्तै भई । न फोन उठाउँथी, न म्यासेज रिप्लाई गर्थी, न त अनलाइनमै बोल्थी । यो बीचमा उसलाई मन पर्ने मेरो किचेनको कप पनि फुटेको थियो । म बेचैन भएको थिएँ । एक साताजति अघि भनेकी थिई, ‘म खुसी छैन अचेल, थाहा छैन किन ।’ भनेकी थिई, ‘तर बिस्तारै ठीक हुन्छु होला ।’
एक सातापछि उसले मलाई टेक्स्ट गरेर त्यो साँझ मसँग भेट्न चाहेको भनी । म पनि उसँग भेटेर कुरा गर्न चाहन्थँे । मलाई साँझको प्रतीक्षा थियो ।
हामी प्राय: भेट्ने गरेको मदिराशालामा हामी भेट्यौँ । उसलाई देख्दा कोही नयाँ मान्छेलाई देखेजस्तो लागिरहेको थियो । हामी सधैँ बस्ने गरेको ठाउँ खाली थिएन । अर्को सिटमा बस्नुपर्‍यो ।
अपरिचिता मेरो सामुन्ने थिई । मैले सोधेँ, ‘तिमी किन हराएको यत्रो दिन ? किन मलाई यसरी ‘इग्नोर’ गरेको ?’
‘यो एक साता मैले हाम्रो बारेमा धेरै सोचेँ । हाम्रो सम्बन्ध, भविष्य र वर्तमान पनि,’ एकछिनपछि बोली ।
‘अनि ?’ मैले हतार गरेर सोधेँ ।
लामो सास फेर्दै उसले भनी, ‘अनि मैले तिमीसँगको सम्बन्धबाट छुट्टिने निर्णय गरेँ । सरी, मैले तिमीलाई चोट पुर्‍याएँ । तर, यो तिम्रो खुसीका लागि पनि हो ।’
मेरो ओठमुख सुक्यो । एकछिन बोल्नै सकिनँ । आफूलाई बलियो बनाउँदै यकिन गर्न सोधेँ, ‘सिरियस्ली भनेको हो ?’
‘हो ।’
रिस उठ्यो । ममाथि ठूलो धोका थियो त्यो । आफूलाई विकल्पमा राख्नेका लागि किन मैले मरिमेट्ने भनेर चित्त बुझाउँदै भनँे, ‘ठीक छ । यही नै तिम्रो खुसी हो भने मेरो कुनै आपत्ति छैन । अहिलेसम्मको साथका लागि धन्यवाद †’
अन्तिम ग्लास वाइन सकाएर जाँदाजाँदै उसले मैले किनिदिएको हरियो चुरा सुम्सुम्याउँदै भनेकी थिई, ‘म तिमीसँग भन्दा धेरै खुसी नायकसँग हुनेछु । तर, तिमीलाई पनि बिर्सनेछैन ।’
‘तिमी मलाई सम्झ या बिर्स, यसले कुनै अर्थ राख्दैन । अल द बेस्ट । आइ लभ माइ सिंगल लाइफ ।’
यसरी, एकछिनमा म ‘सिंगल’ भएँ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय