त्रिविका एक प्राध्यापक तीन पदमा

काठमाडौं, ९ भदौ । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. देवराज अधिकारी तीनवटा सरकारी निकायका प्रमुख हुन् । उनी त्रिवि व्यवस्थापन संकायका विभागीय प्रमुख र व्यवस्थापन संकायकै एमफिल कार्यक्रम संयोजकका साथै नेपाल बैंकको अध्यक्ष पदमा पनि आसीन छन् ।

त्रिविको नियमानुसार एक व्यक्ति एकै समय दुईतिर काम गर्न पाउँदैन । तर, अधिकारीले व्यवस्थापन विभागीय प्रमुख र एमफिल संयोजकको जिम्मेवारी दिउँसो एकै समयमा सम्हाल्दै आएका छन् । उनले विभागीय प्रमुखको हैसियतमा मासिक तलब बुझ्छन् भने एमफिल कार्यक्रम संयोजकका हैसियतमा भत्ता रकम बुझ्ने गर्छन् । एमफिल कार्यक्रम व्यवस्थापन संकायका डिनअन्तर्गत भए पनि विभागीय प्रमुख रहेका अधिकारीले नै सम्हालेका छन् ।
उनै अधिकारी नेपाल बैंकको अध्यक्षजस्तो महत्त्वपूर्ण पदमा छन् । उनले आºनो मुख्य जिम्मेवारी विभागीय प्रमुखको रहेको बताए । उनले भने, ‘एमफिल पनि त्रिविकै कार्यक्रम हो । मेरो मुख्य ध्यान विभागीय प्रमुखको भूमिकामा हुन्छ, एमफिल त्यसपछिको प्राथमिकतामा पर्छ ।’ दोहोरो जिम्मेवारी निर्वाह गर्नु गैरकानुनी नहुने उनको दाबी छ ।

नेपाल बैंक पनि सरकारी स्वामित्वको संस्था भएको भन्दै अधिकारीले अरू कार्यालयको समयबाहेक मात्र त्यहाँ जाने गरेको बताए । उनले भने, ‘बैंकमा सातामा एकपटक मिटिङ हुन्छ, कार्यालय समयपछि मिटिङ हुने भएकाले त्यसले खासै फरक पार्दैन ।’ अर्को सरकारी संस्थाको बोर्डमा बस्न नमिल्ने जानकारी आफूलाई नभएको उनी बताउँछन् । उनले भने, ‘स्थायी प्राध्यापकले निजी कलेजमा पढाउन नपाउने भन्ने सूचना आएको छ, एउटा व्यक्तिले अरू सरकारी कार्यालयमा काम गर्न नपाउने जानकारी मलाई आएको छैन ।’
त्रिविका रेक्टर प्रा.गुणनिधि न्यौपानेले त्रिविको निति–नियमानुसार स्थायी प्राध्यापक पूर्णकालीन सिºटबाहेक अन्त जान नपाइने बताए । अधिकारीको विषयमा सबै कुरा बुझेर मात्र प्रतिक्रिया दिने उनको भनाइ छ ।
त्रिविमा स्थायी प्राध्यापकहरू निजीमा पढाउने मात्र होइन, प्रमुख जिम्मेवारी लिएर बस्ने क्रम निकै बढेको छ । त्रिविले कडाइका साथ कारबाही गर्न नसक्दा विकृति बढ्नुका साथै आंगिक क्याम्पसको शैक्षिकस्तरसमेत घट्दै गएको छ । त्रिविका प्राध्यापकको लापरबाहीप्रति राष्ट्रिय सतर्कता केन्द्रको समेत चासो बढेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले ‘त्रिविका प्राध्यापक छानबिन समिति’ गठन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । त्रिविमा विकृति बढेपछि केन्द्रले केही दिनअघि शिक्षा मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानबिन समिति बनाई एक महिनामा प्रतिवेदन दिन निर्देशन दिएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी तथा प्राध्यापकहरूले निजी कलेजमा लगानी गरेपछि एसियामै उत्कृष्ट मानिने त्रिविको गुणस्तर खस्कँदै गएको छ । संस्थानअन्तर्गतका क्याम्पसका प्राध्यापक निजी कलेजका प्रिन्सिपलसमेत रहेका छन् ।
डिन हुन नेसनल कलेज अफ इन्जिनियरिङको व्यवस्थापन समितिबाट राजीनामा दिएर आएका भरतराज पहारीले निर्देशकदेखि प्राध्यापकसम्मलाई निजीमा लगानी गर्न प्रोत्साहन गरेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूको निजीमा आकर्षण बढेको हो ।
डिन कार्यालयअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.डा. त्रिरत्न बज्राचार्य नेसनल कलेज अफ इन्जिनियरिङका सञ्चालक समितिका अध्यक्ष रहेका छन् । थापाथली क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक धनभक्त पौडेल डिनले अध्यक्षबाट राजीनामा दिएर आएको नेसनल कलेज अफ इन्जिनियरिङको प्रिन्सिपल रहेका छन् । त्यसैगरी, सिभिल इन्जिनियरिङ विभागका पूर्वप्रमुख प्राध्यापक प्रेमचन्द्र झा एड्भान्स इन्जिनियरिङ कलेजका प्रिन्सिपल हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख अभिमन्युलालसिंह ललितपुर इन्जिनियरिङ कलेजका प्रबन्ध–निर्देशक रहेका छन् ।
त्यसैगरी, पदेन सहायक डिन रामचन्द्र सापकोटा सोही कलेजका सञ्चालक समिति सदस्य छन् । सहायक डिन संगीतलाल नकर्मी पनि सोही कलेजका सञ्चालक समिति सदस्य हुन् ।

प्रतिक्रिया