राहुलद्वारा बलिङमा विश्व–कीर्तिमान

ब्रिस्बेन, ८ भदौ । नेपाली स्पिनर राहुलकुमार विश्वकर्मा आइसिसी यु–१९ विश्वकप प्रतियोगिता–२०१२ मा भारतीय ब्याट्सम्यान वीरेन्द्र सहवागको नाममा रहेको १४ वर्ष पुरानो कीर्तिमान तोड्दै इतिहासकै सबैभन्दा राम्रो ‘इकोनोमिक रनरेट’ मा बलिङ गर्ने खेलाडी भएका छन् । बिहीबार तेह्रौँ स्थानका लागि भएको खेलमा पपुआ न्युगिनीविरुद्ध ६.२ ओभर बलिङ गरेका राहुुलले चार मेडन राख्दै केवल तीन रन खर्चिएर ६ विकेट लिएका हुन् । यसका साथै उनी यस प्रतियोगिताको कुनै एक खेलमा सबैभन्दा राम्रो इकोनोमिक रनरेट
(बेस्ट इकोनोमी) मा बलिङ गर्ने खेलाडी भए ।
राहुलले कीर्तिमान तोड्नुअघि सहवागले यसै प्रतियोगिताको सन् १९९८ को दक्षिण अफ्रिका संस्करणमा आठ ओभर बलिङ गरी पाँच मेडन राखेर चार रन खर्चिंदै तीन विकेट लिएर विश्वकीर्तिमान कायम गरेका थिए । स्कटल्यान्डविरुद्ध जोहानेसवर्गमा खेलिएको उक्त खेलमा सहवागले ०.५ इकोनोमिक रनरेटमा बलिङ गरेका थिए । कीर्तिमान तोड्ने क्रममा राहुलको इकोनोमिक रनरेट ०.४७ थियो । यु–१९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने यसतर्फको कीर्तिमान भारतका जिडी गुप्ताको नाममा छ जसले ०.३३ को इकोनोमिक रनरेटमा बलिङ गरेका थिए । यु–१९ अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा राम्रो इकोनोमिक रनरेट भएका खेलाडी गुप्ता मात्र हुन् ।
राहुल र सहवागबीचको एउटा ठूलो समानता भनेको दुवै स्पिनर हुन् । सहवागको नाममा रहेको उक्त कीर्तिमान ६ वर्षअघि नै तोड्ने संघारमा पुगेका थिए नेपाली बलर राज श्रेष्ठ । लेफ्टआर्म मिडियम बलर राजले सन् २००६ को संस्करणमा कोलम्बोमा आठ ओभर बलिङ गरी पाँच मेडन राखेर पाँच रन खर्चिंदै एक विकेट लिएका थिए । युगान्डाविरुद्ध खेलिएको उक्त खेलमा राजको इकोनोमिक रनरेट ०.६२ थियो । यस प्रतियोगिताको इतिहासमा कुनै एक खेलमा सबैभन्दा राम्रो इकोनोमिक रनरेटमा बलिङ गर्ने राज तेस्रो खेलाडी हुन् । राजपछि भारतकै हरभजन सिंह छन् ।
समग्र एकदिवसीय (सिनियरसहित र विश्वकपबाहेक पनि) क्रिकेटमै यो कीर्तिमान भने वेस्ट इन्डिजका फिल सिमोन्सको नाममा छ । यी राइटआर्म मिडियम फास्ट बलरले सन् १९९२ को एकदिवसीय विश्वकपमा सिड्नी रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै १० ओभर बलिङ गरी आठ मेडन राखेर तीन रन मात्र खर्चिंदै चार विकेट लिएका थिए । उनको यस कीर्तिमानमा इकोनोमिक रनरेट ०.३ छ । त्यस्तै सन् १९९२ को सिनियर एकदिवसीय विश्वकपमा एडिलेडमा पाकिस्तानविरुद्ध खेलिएको खेलमा पाँच ओभर बलिङ गरी तीन मेडन राखेर दुई रन खर्चिंदै एक विकेट लिएका इंगल्यान्डका राइटआर्म मिडियम पेसर डर्मोट रिभ सिमोन्टपछि छन् । उक्त खेलमा रिभको इकोनोमिक रनरेट ०.४ थियो । यसपछि रहेका अन्य खेलाडीको इकोनोमिक रनरेट भने ०.५ अर्थात् राहुलको भन्दा बढी छ ।
१९ वर्षीय स्लो लेफ्टआर्म अर्थोडक्स बलर राहुल कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन् । उनले गत वर्ष भएको एसिसी यु–१९ एलिटकपमा २१ विकेट लिएर उक्त सफलता हात पारेका थिए । त्यसपछि भएको आइसिसी यु–१९ विश्वकपको विश्वस्तरको छनोटमा पनि उनले २१ विकेट लिएका थिए । सन् २०१० मा नेपालमा भएको वल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा राहुलले अमेरिकाविरुद्धको खेलमा सात विकेट लिएर १५ रन खर्चिएर नेपाललाई सिनियरतर्फ पहिलो अन्तर्राष्ट्रिय क्रिकेट उपाधि दिलाएका थिए, यद्यपि उक्त प्रतियोगिताको महत्त्व बढी छनोटका रूपमा थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कुनै एक खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी महबुव आलम हुन् । आलमले सन् २००९ मा जर्सीमा खेलिएको वल्र्ड क्रिकेट लिग डिभिजन सिक्समा मोजाम्बिकविरुद्ध १० विकेट लिएर एकदिवसीय क्रिकेटमा यो सफलता हात पार्ने विश्वकै पहिलो बलर भएका थिए ।
नेपाल तेह्राँै
राहुलकुमार विश्वकर्माको सानदार प्रदर्शनमा बिहीबार पपुआ न्युगिनीलाई ६ विकेटले पराजित गरी नेपाल जारी आइसिसी यु–१९ विश्वकपमा तेह्राँै भएको छ । राहुलले ६ विकेट लिएपछि टस जिती पहिला ब्याटिङ गरेको पपुआ न्युगिनी ३३.२ ओभरमा ८९ रनमा सीमित भएको थियो । नेपालले प्राप्त लक्ष्य १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपाली टोलीका लागि यसअघिका खेलमा फर्मबाहिर रहेका नरेश बुढाएरले २७ र सागर पुनले २० रन जोडे । तर अधिकांश खेलमा व्यक्तिगत राम्रो प्रदर्शन गरेका सुभाष खकुरेल भने शून्यमै आउट भए ।
प्रतियोगिताभर कमजोर प्रदर्शन गरेका पृथु बास्कोटा ६ रनमै सीमित भए । प्रदीप ऐरी १२ र राजेश पुलामीमगर १८ रन जोड्दै अविजित रहे । पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको पपुआ न्युगिनीलाई सस्तैमा सीमित गर्ने क्रममा राहुलका अतिरिक्त पृथुले दुई र प्रदीप ऐरीले एक विकेट लिए । राहुल म्यान अफ द म्याच भए । समूहचरणका सबै तीनवटै खेलमा पराजित भएको नेपाल प्लेट च्याम्पियनसिपको क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । त्यसपछि १३आँै स्थानका लागि भएको सेमिफाइनल प्लेअफमा नामिबियालाई पराजित गरेको थियो । यस प्रतियोगितामा १६ टिम सहभागी छन् ।

उपाधि भिडन्त भारत र अस्ट्रेलियाबीच

जारी आइसिसी यु–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई नौ रनले पराजित गरी भारतले साविक विजेता अस्ट्रेलियाविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।
अस्ट्रेलियाले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । २१० रनको लक्ष्य पछयाएको न्युजिल्यान्डलाई भारतले निर्धारित ५० ओभरमा २०० रनमा सीमित गरेको हो । न्युजिल्यान्डलाई पराजित गर्ने क्रममा सन्दीप शर्मा, रविकान्त सिंह र हर्मित सिंहले समान दुई विकेट लिए । यसअघि निर्धारित ५० ओभर खेलेको भारतका लागि प्रशान्त चोपडाले ५२, बाबा अपराजिथले ४४ र उन्मुक्त चन्दले ३१ रनको योगदान गरेका थिए । यस प्रतियोगिताको अहिलेसम्म सम्पन्न आठ संस्करणमध्ये अस्ट्रेलिया तीनपटक विजयी भएको छ ।

प्रतिक्रिया