पोखरामा हवाई उडान बन्द

पोखरा, ७ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि दवाब दिने उदेश्यका साथ आजदेखी अनिश्चितकालीन रिले अनशन सुरु भएको छ ।
अनशन बिहान १० बजेदेखि पोखरा विमानस्थल अगाडि सुरु भएको हो । सरोकार समितिको आयोजनामा भएको अनशनमा पोखराका नामचलेका व्यक्तित्वहरुको सहभागिता छ ।
कार्टुनिष्ट दुर्गा बराल ‘बात्सायन’, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पर्यटनविद् झलक थापा, लोकगायिका हरिदेवी कोइराला, भलिवल खेलाडी सिपोरा गुरुङ, संचार उद्यमी विश्व शंकर पालिखे रिले अनशन बसेका छन् ।
समितिले आज पोखरा विमानस्थलको हवाई उडान नै बन्द गरिदिएको छ । उडान भर्ने विभिन्न कम्पनीहरुले कुनै पनि टिकट बेचेका छैनन । समितिका कारण उडान अवरुद्ध भएपछि सयौ यात्रु प्रभावित भएका छन् ।
विमानस्थल निमार्णका लागि दबाव दिन पोखरेलीले बिभिन्न चरणका आन्दोलन घोषणा गरी संघर्ष गर्दै आएका छन् ।

प्रतिक्रिया