मूल्यबृद्धि अकासियो

काठमाडौं, ७ भदौ । चाडवाड आगमनसँगै दैनिक उपभोग्य वस्तुमा एक्कासि हुने मूल्यवृद्धिले सर्वसाधारणलाई थप आहत झेल्नुपरेको छ । केही दिन अघिसम्म ६५ मा पाइने एक किलो चिनीलाई ९० तिर्नुपर्दा न्यून आय भएका जनता नराम्ररी प्रभावित भएका छन् । केही व्यापारीले चिनी सञ्चय गरेर बढी मूल्यमा बेच्न चाहेकाले मूल्य बढेको उल्लेख गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले त्यस्ता गोदाममा छापा मार्नेलगायत कारबाही अघि बढाउन वाणिज्य विभागलाई निर्देशन दिइएको बताए ।

भन्सार विभाग तथा आन्तरिक राजस्व कार्यालयबाट थोक बिक्रेताको नामावली संकलन भइरहेको जानकारी दिँदै उनले सरकार एक्लैले बजारमा हस्तक्षेप गर्न नसक्ने भएकाले सबै राजनीतिक दलको सहयोग अपरिहार्य भएको उल्लेख गरे । ‘राजनीतिक मतभिन्नतालाई थाती राखेर जनहितमा लाग्न हाम्रो आग्रह छ,’ जनतालाई आहत पार्नखोज्ने र अनुचित फाइदा उठाउन चाहने व्यापारीलाई कारबाही गर्न दलहरूको सहयोग आवश्यक भएको पनि सचिव जोशीले बताए ।
पन्ध्र हजार मेट्रिक टन चिनी आयात भएको तथा थप २५ हजार मेट्रिक टन मौज्दात रहेकाले अभाव नहुने र भाउ पनि प्रतिकिलो ८० भन्दा माथि नजाने साल्ट ट्रेडिङ कर्पोरेसनका व्यापार अधिकृत भगवती राणा बताउँछिन् । त्यसैगरी वाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति विभाग प्रमुख नोदराज पोखरेल नेसनल ट्रेडिङ लिमिटेडलगायतले आयात गरेको दुई हजार पाँच सय मेट्रिक टन चिनी वीरगन्ज आइपुगेको तथा अरू पाँच हजार मेट्रिक टन आउने क्रममा रहेकाले बजारमा चिनीको अभाव नहुने र मूल्य पनि अब नबढ्ने दाबी गर्छन् । व्यापार अधिकृत राणका अनुसार साल्ट ट्रेडिङले प्रतिकिलो चिनीको थोक मूल्य ७५ रुपियाँ कायम गरेको बताए । बल्खुकी गृहिणी अञ्जु नेपालले मंगलबार ८० रुपियाँ प्रतिकिलोका दरले पाँच किलो चिनी किनेकी बताइन् ।

प्रतिक्रिया