बहिरा सभासद्ले भोगेको संविधानसभा


पूर्वसभासद् राघववीर जोशी कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । दोभासेको माध्यमबाट आफ्ना कुरा अरूलाई सुनाउँछन् र अरूका कुरा पनि त्यसैगरी बुझ्छन् । नेकपा संयुक्तका तर्फबाट सभासद् बनेका उनी अपांगका प्रतिनिधिका रूपमा संविधानसभामा प्रवेश गरेका थिए । समावेशी प्रतिनिधित्वका लागि संसारमै नमुना मानिएको संविधानसभाका एक हिस्सा यी राघववीर पनि थिए । बहिरो भएर बाँच्नुपछाडि थुपै्र पीडा छन् उनीसँग । संवैधानिक अधिकारको अभावमा आफूले भोगेजस्तै पीडा अबको पुस्ताले भोग्न नपरोस् भन्ने उनको उद्देश्य थियो, अझै छ । अधिकारको यो लडाइँ राज्यको अंग भएर जित्ने उनको तीव्र अभिलाशा थियो, त्यसैले राजनीतिक दलको सदस्यता लिए । नेकपा संयुक्तको प्रतिनिधि भए । राजनीति केही नबुझेका राघववीर दोभासे लिएर जनतामाझ पुगे । अनि, ६ सय एक जनाको लामो सूचीमा समानुपातिक सभासद् बनेर समेटिए । सभासद् बनेपछिका अनुभूति उनले दोभासेकै सहयोगमा सौर्यसँग बाँडेका छन् :

पहिलो दिन : १४ जेठ, २०६५
त्यस दिन मनमा छुट्टै उमंग र जोस थियो । नयाँ संविधान बनाउने जिम्मेवारीसहित जनताले छानेर पठाएका लब्धप्रतिष्ठित राजनीतिज्ञहरूको लहरमा बस्ने मौका पाएको थिएँ । त्यही जिम्मेवारीको एक हिस्सा मलाई पनि थियो । कोटको देब्रेतिरको माथिल्लो गोजीको आडैमा सभासद्को लोगो टाँगेको थिएँ । लोगोले जीवनमा पहिलोपटक आफू ‘विशेष’ बनेको महसुस गराउँदै थियो । अनि जिम्मेवारीबोध पनि गराउँदै थियो– कम्तीमा पनि आफूजस्तै वर्गको उत्थानका लागि संविधानमा समेट्नुपर्ने विषय सशक्त ढंगले प्रस्तुत गर्नुपर्छ ।
फुर्तिसाथ बिहान ९ बजे संविधानसभा भवनभित्र पसेँ । नेकपा (संयुक्त) का तर्फबाट सभासद् छानिएको म । पार्टीले निर्वाचनमा पाएको भोटका आधारमा अरू चार सभासद्सहित बैठक कक्षको अन्तिम सिटमा मलाई बस्ने व्यवस्था मिलाइएको थियो । मुलुकमा गणतन्त्रको रौनक सुरु भएको थियो । जनता गणतन्त्रको उत्सव मनाउन प्रतीक्षारत थिए ।
अरू सभासद्को जसरी आफूले पाएको जिम्मेवारीको उत्सव शब्दमार्फत व्यक्त गर्ने सामथ्र्य मसँग थिएन । अपांगता भएकाहरूको प्रतिनिधिका रूपमा म सभासद् छानिएको थिएँ । बहिराहरूले बोल्ने सांकेतिक भाषा त राम्रै आउँथ्यो नि † तर बौद्धिकहरूको त्यो जमातमा मेरो भाषा बुझ्न सक्ने एउटै व्यक्ति पनि थिएन । संविधानसभाभित्र अरूले बोलेका कुरा म दोभासेमार्फत बुझ्थेँ । तर, मेरो धारणा अरूलाई बुझाउन पाउने अधिकार दोभासेलाई संविधानले दिएको थिएन । त्यसो त सुरुमा संविधानसभाभित्र दोभासे लैजान पनि कानुनले कहाँ दिन्थ्यो र ? पहिलो बैठकअगाडि नै सभामुखलाई भेटेर आफ्नो अप्ठ्यारो सुनाएको थिएँ । उहाँले एउटा दोभासे लैजान पाउने पाससम्म उपलब्ध गराइदिनुभयो ।
तिनै एउटा दोभासेका भरमा बिहान ९ देखि रातिको ३ बजेसम्म अरूका आवाज नसुनिने गतिविधि हेरेर मात्रै बसिरहेँ, अन्तिम सिटमा । यति लामो बसाइ पनि पट्यारलाग्दो भने पटक्कै थिएन, न त थकान । खालि उत्साह थियो । संविधानमा आफूजस्तै सुन्ने, बोल्ने क्षमता नभएकाहरूको हक स्थापित गर्न लागिपर्छु भन्ने अठोट जीवन्त राखेर भोलिपल्ट बिहानको तीन बजे घर फर्किएँ ।
अन्तिम दिन: १४ जेठ, २०६९
उही कालो कोट, सभासद्को लोगो कायमै छ कोटमा । समय पनि उही हो, बिहानको ९ बजे  । तर, यति बेला पहिलेजस्तो उत्साह छैन । थकित मनोभावनाले पाइला गह्रौँ बनाइरहेछन् । तैपनि केही आशा सँगालेँ– संविधानको खाका त आइहाल्छ कि ? संविधानसभा भवनको गेटभित्र पाइला राखेँ । सभाहलभित्र पस्ने छाँटकाँट देखिएन । सबै बाहिर समूह–समूहमा थिए । माहोल उति उत्साहजनक देखिँदैनथ्यो । झुन्डमा के गाइँगुइँ गुन्जिँदै छ, मलाई थाहा छैन । त्यसैले अरू सभासद्लाई सुनेर आफ्नो धारणा निर्माण गर्न सक्दिनँ । दोभासेले उल्था गरिदिएअनुसार ‘संविधानसभा अब संविधान नबनाईकनै मर्ने भयो’ भन्ने लखचाहिँ काटिसकेको थिएँ । तर, ‘सास रहेसम्म आश’ त गर्नैपर्छ । पहिलो दिनझैँ बिहानै ९ बजेदेखि रातको १२ बजेसम्म संविधानसभाको परिसरमा बसिरहेँ । १२ बजेपछि राज्यको अंग बनेर अपांगलाई संवैधानिक अधिकार ग्यारेन्टी गर्ने अभिलाषाको चारवर्षे यात्रा अन्त्य भयो । अन्तत: मलाई कालो कोटमा सजिएको लोगोले उल्टै धिक्कारेझैँ लाग्यो । भारी मन लिएर मध्यराति घर फर्किएँ ।
यसरी भएँ सभासद्
संविधानसभाको चुनाव हुनुअघि काठमाडौं बहिरा संघको अधिवेशन थियो । म संघको अध्यक्ष । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख अतिथि बोलाएका थियौँ । हामीले कार्यक्रममै उहाँलाई संविधानसभाको चुनावमा बहिराको पनि प्रतिनिधित्व गराइदिन अनुरोध गर्‍यौँ । कार्यक्रममा त ‘हुन्छ’ भन्नुभयो तर कार्यक्रम सकिएपछि ‘रेस्पोन्स’ नै गर्नुभएन । पछि म अधिवक्ता कृष्णप्रसाद भण्डारीमार्फत नेकपा (संयुक्त) को सम्पर्कमा पुगेँ । पार्टी सदस्यता लिएँ । संयुक्तमार्फत संविधानसभामा समानुपातिकबाट उम्मेदवारी पनि पाएँ । त्यसअघिसम्म राजनीतिक पार्टीबारे मलाई कुनै जानकारी पनि थिएन, न त चासो नै ।
पार्टीको कार्यकर्ता भएपछि चुनावको प्रचारमा काठमाडौं क्षेत्रमा हिँड्न थालेँ । बोल्न–सुन्न सक्दिनँ, तैपनि आफ्ना कुरा संकेतमार्फत जनताबीच राख्थेँ । दोभासेको सहयोगले मेरो बोली जनतासम्म पुग्यो । यद्यपि मेरा शब्द मनले अनुभूत गरेजत्तिकै भावनामा बेरिएर जनतामाझ पुगे/पुगेनन्, मैले थाहा पाइनँ । तर, चुनावको परिणामले देखायो, मेरो मेहनतले पनि काम गरेछ । चुनावमा संयुक्तले पाँच लाख मत पायो । त्यही मतका आधारमा पार्टीले चुनेका पाँच सभासद्मध्ये म पनि एक भएँ ।
संसद्का हरेक कुरासँग अपरिचित मान्छे, नौलो अनुभूति हुनु स्वाभाविक थियो । त्यसमाथि न अरूले बोलेको सुन्न सक्छु, न त आफैँ केही बोल्न सक्छु । हाम्रो दल सानो भएकाले सभामुख आसनको देब्रेतिरको अन्तिम लाइनमा बस्ने व्यवस्था थियो । नेपालको अन्तरिम संविधानमा संविधानसभाभित्र सभासद्ले आफ्नै आवाजमा मात्रै भनाइ राख्न पाउने व्यवस्था रहेछ । म आवाज नभएको मान्छे । मनका कुरा पोख्ने सहारा हातका इसारा मात्रै हुन् । संविधानसभामा उपस्थित भए पनि ६ महिनासम्म त निरीह नै भएँ । आ–आफ्ना अधिकारका बारेमा चर्को बहस हुन्थ्यो । संविधानको मस्यौदामा समेट्ने विषयबारे भएका छलफल बुझ्दा मलाई पनि केही बोल्न मन लाग्थ्यो । भित्रभित्रै उकुसमुकुस हुन्थ्यो । तर, संविधानबाटै विभेदको सिकार भएको म आफैँसँगै मुर्मुरिनबाहेक के गर्न सक्थेँ र ? भौतिक हिसाबले संविधानसभामा उपस्थित भए पनि ६ महिनासम्म म त्यहाँ अनुपस्थित जस्तै रहेँ ।
संविधानसभाको नयाँ परिवेश करिब दुई महिनाको अवधिमा मैले बुझिसकेको थिएँ । तर, मेरो विशेष अवस्थालाई संविधानसभाले ६ महिनापछि मात्रै बुझ्यो । हामीजस्ता सभासद्को हकमा दोभासेमार्फत संविधानसभाभित्र धारणा व्यक्त गर्न पाउने व्यवस्थाका लागि अन्तरिम संविधान संशोधन गरियो । आठ महिनापछि मैले पहिलोपटक विशेष समय लिएर आफ्नो कुरा राख्ने मौका पाएँ । त्यो दिन अन्तर्राष्ट्रिय अपांग दिवस पनि थियो । मेरा इसारा दोभासेले आवाजमा उल्था गरिदिए । पहिलोचोटि मैले अपांगका समस्यालाई छोटकरीमा उल्लेख गरी मौलिक हकमा स्थापना गर्नुपर्ने अधिकारबारे धारणा व्यक्त गरेँ । एक सभासद्ले चार मिनेट बोल्न पाउँथे । तर, दोभासेमार्फत आफ्नो धारणा सम्प्रेषण गर्दा लामो प्रक्रिया हुने भएकाले मैले चाहिँ सात मिनेट बोल्न पाएको थिएँ । पहिलो दिन बोल्दा केही अप्ठ्यारो महसुस भयो । सबै सभासद्को ध्यान मेरो इसारातर्फ थियो, ‘नयाँ चिज देखेजस्तै’ ।
त्यसपछि भने मैले आफ्ना कुरा पटक–पटक राख्दै गएँ । राजनीतिक कुरा अरू सभासद्ले गर्थे । मैले अपांगका सवाललाई नै बढी जोड दिएँ । अपांगलाई शिक्षा, स्वास्थ्य, रोजगारी, ड्राइभिङ लाइसेन्स, ह्विल चियर, दोभोसेको व्यवस्था, दृष्टिविहीनका लागि ब्रेललिपि र बहिराको सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा मेरो प्रमुख जोड हुन्थ्यो । त्यसैअनुसार पटक–पटक संसद्मा कुरा पनि राखियो । मैले संविधानबाट नै विभेदमा परेका अपांगको समस्या समाधानका लागि अधिकार स्थापित गर्ने प्रण गरेको थिएँ । त्यही अभिलाशा संविधानसभामा एसियाकै पहिलो बहिरा प्रतिनिधि बनेर पूरा गर्ने लक्ष्य लिएको थिएँ । तर, ठूला नेताहरूले आफ्नो स्वार्थका खातिर देशलाई बन्धक बनाए ।
अहिले जनताले हामी सभासद्हरूलाई गाली गरिरहेका छन् । तर, संविधान नबनाउनुमा म जस्ता सभासद्को कुनै दोष छैन । हामीले आफ्ना समितिको काम पूरा गरेर सभासद्लाई बुझाइसकेका थियौँ । चार ठूला दलले देशका नागरिकको अधिकार स्थापित हुनबाट रोकेका छन् । हामीलाई नमुना राष्ट्र बन्नबाट वञ्चित गरिएको छ । चारवर्षे संविधानसभाको अनुभव सम्झिँदा मन खिन्न हुन्छ । ठूला भनिएका दलहरूप्रति साह्रै रिस उठेर आउँछ । (यति बेला राघववीरको अनुहार रिसले रातो भएको थियो, छिटोछिटो चलिरहेका हातका इसाराले संकेत गर्थे– उनी नेताहरूसँग मज्जैले रिसाएका छन् तर दोभासे दिनेश श्रेष्ठको अनुहारका शब्दमा त्यो रिस प्रतिविम्बित भइरहेको छैन, शान्त देखिन्छन् उनी । उही सौम्य, शालिन भावमा उनले राघववीरको अन्तिम इसारा आवाजमा उल्था गरे)– ‘छोटो समयका लागि भए पनि संसद् पुन:स्थापना गरेर संविधान घोषणा गरे जनताको अधिकार स्थापित हुने थियो कि †’
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया