कपिलवस्तु घटनामा कारण देखाऊ आदेश

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतले कपिलवस्तु घटनाका दोषीमाथि कारबाही गर्न माग गर्दै दायर रिटमा सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ ।
घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै पीडितहरु र एड्भोकेसी फोरमले मंगलबार रिट दायर गरेका थिए । सर्वोच्चले सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको हो ।
रिट निवेदनमा कपिलवस्तु घटनाका दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।
सरकारले छानबिन गर्न पुनरावेदन अदालतका न्यायाधीश लोकेन्द्र मल्लिकको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
२०६४ साल भदौ–३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १४ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो ।

प्रतिक्रिया