सहमतिको बाधक एमाओवादीः कोइराला

इलाम, ६ भदौ । कांग्रेस सभापति सुशील कोइरालाले वर्तमान राजनीतिक निकासको बाधक एकीकृत माओवादी र वर्तमान कामचलाउ सरकार भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन इलाममले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कामचलाउ सरकारको सत्ता टिकाई राख्ने रणनीतिका कारण दलहरुका वीच सहमति हुन नसकेको बताए ।
‘सहमतिका आधारमा नयाँ सरकारको गठन गर्नुपर्ने बेलामा सत्ता टिकाउन सरकार नै विभिन्न मोर्चा बन्दी गर्दै हिंडिरहेको छ,’ उनले भने, ‘यसले त दलहरुबीचको दुरी झनै बढाएको छ, अनि कसरी सहमति हुन सक्छ ?’
उनले एमाओवादी र मधेसी मोर्चालगायत दलहरु बनाएको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ सत्ता टिकाउने नौटंकी मात्र भएको टिप्पणी गरे ।
सरकार बहिर्गमन कांग्रेसको पूर्व सर्त रहेको दोहराएका उनले वर्तमान सरकारलाई विस्थापित नगराई कुनै पनि हालतमा सहमति हुन नसक्ने बताए ।
‘पहिले यो सरकारलाई बहिर्गमन गर्नुपर्छ’ उनले भने, ‘त्यसपछि जुनसुकै विकल्पमा छलफल गर्न कांग्रेस तयार छ ।’
कोइरालाले एमाओवादीबाट बारम्वार भएका सहमति उल्लंघन गरेर सत्ता कब्जामा लागेको आरोप लगाए । एमाओवादीले १२ बुँदेदेखि पाँच बुँदेसम्मको सम्पूर्ण सहमति कार्यान्वयन नगरेका कारण उनीहरुलाई विश्वास गर्न नसकिने कोइरालाको भनाई थियो ।
राष्ट्रपतिले विधेयक फिर्ता गरेर सक्रिय हुन खोजेका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले राष्ट्रपति संविधानको रक्षक र पालकसमेत भएकाले विधेयक फिर्ता हुँदैमा राष्ट्रपति सक्रिय हुन खोजे भन्न नमिल्ने विचार व्यक्त गरे ।
एक अर्को प्रसंगमा सभापति कोइरालाले कांग्रेसलाई संघीयताको विरोधी भन्नु मूर्खता रहेको बताए । उनले भने, ‘सबैभन्दा पहिले २०१६ सालदेखिनै कांग्रेसले संघीयता र समावेशीको पक्षमा वकालत गर्दै आएको छ ।’

प्रतिक्रिया