सुरेशको चलचित्रमा अश्लील दृश्य

काठमाडौं ६ भदौ । सस्तो मनोरञ्जनका लागि नायिकाको शरीर सकेजति एक्स्पोज गराउने प्रवृत्ति बढ्दै जाँदा निर्माता–निर्देशकको शैलीमाथि प्रश्नचिह्न तेर्सिन थालेको छ । यसै मार्कामा परेका छन् निर्देशक सुरेशदर्पण पोखरेल पनि । नग्नतामार्फत चलचित्रमा बढ्दो अश्लीलता रोक्न गठित समितिका सदस्य रहेका सुरेश आफैँले मनोरञ्जनका नाममा नायिकालाई नंग्याएछन् । यस्तै लाग्छ, उनी निर्देशित पछिल्लो चलचित्र थ्री लभर्सको गीत हेर्दा । एक अनलाइनमार्फत सार्वजनिक भएको सुन्तली माई गीतमा उनले नायिकालाई अश्लील पहिरनमा प्रस्तुत गरेका छन्, जहाँ अभिनेत्री स्नेहा शर्माको शरीरको तल्लो भागको भित्री पहिरन प्रस्टै देखाइएको छ । तल्लो एंगलबाट क्यामेरा लगाएर वानपिसमा सजिएकी स्नेहाले लगाएको कालो रंगको भित्री पहिरन पटकपटक हाइलाइट गरिएको छ । स्नेहा नयाँ अनुहार हुन् । सुरेश निर्माता संघको प्रतिनिधिका रूपमा नेपाल चलचित्र विकास बोर्डद्वारा गठित स्क्रिप्ट अध्ययन समितिको सदस्य बनेका हुन् । संघले पनि अश्लील शैलीका चलचित्रले समग्रमा चलचित्र उद्योगलाई माथि नउठाउने धारणा सार्वजनिक गर्दै आएको छ ।
सोही गीतमा अभिनय गरेकी नायिका प्रियंका कार्कीको भने त्यस्तो दृश्य छैन । स्नेहा नयाँ अनुहार भएको फाइदा उठाउँदै सुरेशले नियतवश त्यस्तो दृश्य खिचाएको अनुमान लगाउन सकिन्छ । करिब चार मिनेटको गीतमा क्यामरा घुमाइ–घुमाइ पटकपटक खिचिएको छ, स्नेहाको कालो अन्डरगार्मेन्ट । यसअघि यस्तै दृश्यका कारण चलचित्र एटिएम निकै विवादमा तानिएको थियो । सुरेश आफैँ सो चलचित्रको विरुद्धमा वकालत गरिरहेका भेटिन्थे । तर, आफ्नो चलचित्रको सवाल आएपछि भने उनी कुरा फेर्न थालेका छन् र यो गीत अश्लील नभएको दाबी गर्छन्– ‘हिरोइनहरू टुपिसमा देखिन थालिसके, यति त सामान्य नै हो नि ।’ कथावस्तु र प्रस्तुतिगत सशक्तता भन्दा पनि नग्नता नै चलचित्र चलाउने कडी भएको उनलाई लाग्न थालेछ । भन्छन्– ‘निर्माताको पैसा जोगाइदिन पनि यत्तिका दृश्य त राख्नैपर्छ ।’ थ्री लभर्समा निर्देशक र नायिकाले जानाजान यस्ता छाडा दृश्य खिचाएका हुन् भने आपत्तिजनक हुने निर्माता संघका सदस्यसमेत रहेका रोज राणाले भने । ‘चलचित्रमा अश्लीलता भित्रिनु हुन्न भनेरै हामीले एटिएमका निर्मातालाई कारबाही गरेका हौँ, त्यसमाथि संघकै प्रतिनिधिले चलचित्रमा अश्लीलतालाई बढावा दिन्छन् भने यो झनै नराम्रो भयो,’ उनले भने ।
नायिका स्नेहा भने आफूलाई यी दृश्य दिन कुनै आपत्ति नरहेको बताउँछिन् । ‘यो त स्क्यान्डलको विषय मात्र भयो,’ उनले भनिन् । उक्त अश्लील दृश्य निर्देशककै इसारामा खिचिएको बताउँछन्, छायाकार पुरुषोत्तम प्रधान । ‘निर्देशकले जुन एंगल लगाउन भन्छन्, त्यही खिच्ने न हो । मेरो दोष केही छैन, यसको सबै जिम्मेवारी निर्देशक सुरेशको नै हो,’ उनी पन्छिए । अश्लीलता रोक्न गठित समितिमा बसेर थुप्रै चलचित्रका स्क्रिप्ट सेन्सर गरेका सुरेश आफैँले आफ्नो चलचित्रमा यस्ता दृश्य राख्नुलाई आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने प्रवृत्तिका रूपमा चलचित्रवृत्तमा विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया