एसियाली नेटबलमा भाग लिने नेपाली टोलीको बिदाइ

काठमाडौं, ६ भदौ । श्रीलंकाको कोलम्बोमा हुने आठौँ एसियाली नेटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाल नेटबल संघले मंगलबार उक्त टोलीलाई बिदाइ गरेको छ । टोलीमा १२ खेलाडीसहित १५ जना रहेका छन् ।
माला लिम्बूको नेतृत्वमा रहेको टोलीका अन्य सदस्यहरूमा प्रतिभा राई, समीक्षा न्यौपाने, ज्ञानु गौचन, प्रीति तुलाचन, दीपाकुमारी राई, सुप्रिया थापा, होलिशा प्रधान, अलिशा मल्ल, अश्मी श्रेष्ठ, जन्नत श्रेष्ठ तथा नेहा मास्के रहेका छन् ।
प्रशिक्षकमा टार्ली यङ र सहायक प्रशिक्षकमा माइकल नोरउड तथा टिम व्यवस्थापकमा नेटबल संघका महासचिव दीपक लामा छन् । प्रतियोगिता २५ देखि ३१ अगस्टसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको महासचिव लामाले जानकारी गराए । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा रहेको नेपालले अगस्ट २६ मा जापान, २७ मा श्रीलंका, २८ मा हङकङ तथा २९ मा भारतसँग खेल्नेछ । अन्य सहभागी राष्ट्रमा माल्दिभ्स, सिंगापुर, मलेसिया, ब्रुनाई तथा पाकिस्तान छन् । यो खेलमा महिला मात्र खेल्ने गरिन्छ । नेपालले नेटबलको कुनै पनि प्रतियोगिता औपचारिक रूपमा खेल्न लागेको यो पहिलो अवसर हो । बिदाइका अवसरमा नेटबल संघका अध्यक्ष वीरबहादुर तामाङ, सदस्य शैलेन्द्र चिलवाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया