नेपालका पाँच सहकारीलाई एसियाली ऋण महासंघको पुरस्कार

काभ्रे, ६ भदौ । एसियाली ऋण महासंघले आफ्नो संरचनामा काम गरेको भन्दै पाँच सहकारीलाई पुरस्कृत गर्ने भएको छ । सो पुरस्कारका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडलाई महासंघले पत्राचार गरेको छ । ती पाँच सहकारीलाई १९ भदौमा फिलिपिन्सको मनिलामा पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ ।

नेपालबाट सो कार्यक्रमका लागि नेफ्स्कुनका प्रतिनिधि फिलिपिन्स जाने कार्यक्रम तय भइसकेको छ । महासंघले प्रदान गर्ने यो अवार्ड तल्लोतहको ‘ब्रोन्च’ हो । यी सहकारीले महासंघका सूचकांकमा उत्तीर्ण हुँदै गएपछि दोस्रो सिल्भर, गोल्ड र प्लेटेनियम अवार्ड प्राप्त गर्न सक्नेछन् । नेपालका सहकारीले ६०–७० अंक ल्याई यो तहको पुरस्कार प्राप्त गरेका हुन् ।
सिल्भर तहका लागि ७२–८०, गोल्डका लागि ८१–९० र प्लेटेनियमका लागि त्योभन्दा माथिको अंक प्राप्त गर्नुपर्छ । विशेषगरी संस्थाको संस्थागत पुँजीको ५ प्रतिशत कुल सम्पत्तिभन्दा धेरै र भाखा नाँघेको ऋण कुल उठ्न बाँकी ऋण ५ प्रतिशतभन्दा कम भएका सहकारीले मात्रै यसमा प्रतिस्पर्धा गर्न सक्नेछन् । महासंघको मापदण्डमा राखिएको सूचकांकमा समावेश भए पनि यी दुई बुँदामा अनुत्तीर्ण सहकारी यसका लागि अयोग्य मानिन्छन् ।
अवार्ड प्राप्त गर्ने पाँच सहकारीमध्ये काभ्रेका मात्रै तीनवटा सहकारी परेका छन् । नेपालका सातवटा सहकारीले मापदण्ड पूरा गरी चार वर्षअघि निवेदन दिएका थिए । निवेदन दिएमध्ये पनौतीको सामुदायिक साकोस, खोपासीको विन्द्यवासिनी र बुडोलको बुडोल सामुदायिक साकोस, भक्तपुरको सिद्धिगणेश र दोलखाको जनचेतना सहकारी मापदण्डमा उत्तीर्ण भएका हुन् । भक्तपुरकै वाराही र उपकार सहकारी अझै त्यसको प्रक्रियामा छन् । नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष दीपक थापाले नेपालका सहकारीको गुणस्तर एसियामै उत्कृष्ट भएको प्रमाणले नेपालले गर्व गर्नुपर्ने बताए ।
एसियाली महासंघले नेपालका सात सहकारी र फिलिपिन्सका चार सहकारीलाई ‘पाइलट’ का रूपमा हेरेको थियो । आवेदन दिन महासंघले तयार गरेर पठाएको ८६ सूचकांकभन्दा अलग संरचना तयार गरी त्यसमा प्रतिस्पर्धा गर्नसक्नेले मात्रै आवेदन दिनसक्ने व्यवस्था छ ।
‘८६ सूचकांकका प्रतिसूचकांक १–४ नम्बरका दरले तीन सय ४४ पूर्णांकमा दुई सय आठ अंक ल्याउने सहकारीले मात्रै अवार्ड पाउनेछन्,’ नेफ्स्कुनका कार्यक्रम अधिकृत बाबुराम न्यौपानेले भने ।
पहिलो चरणमा पेस भएका सहकारीको निर्णय नआउँदै दोस्रो चरणमा ११ वटा सहकारीले आवेदन दिएको एक वर्ष भएको छ भने तेस्रो चरणमा १३ सहकारीले आवदेन दिएको ६ महिना बितेको छ । मापदण्डमा सहभागी हुने सहकारीले विशेषगरी संस्था सञ्चालनमा वित्तीय परिवेश, सदस्यको दृष्टिकोण, आन्तरिक व्यावसायिक दृष्टिकोण, सिकाइ र वृद्धिका क्षेत्रमा उत्कृष्ठता हासिल गर्नुपर्नेछ ।
एसियाली ऋण महासंघले प्रदान गरेको यो अवार्डले नेपालका सहकारीप्रति विश्वास बढेको थापाले बताए । नेपालका सहकारीले एसियामै प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति र विश्वास आर्जन गरिसकेका छन् ।

प्रतिक्रिया