दाजुलाई छुटाउन डकैती गर्दा फन्दामा

काठमाडौं, ६ भदौ । जेल परेका आफ्ना दाजुलाई छुटाउनका लागि डकैती गर्दा एक व्यक्ति फेरि प्रहरीको फन्दामा परेका छन् । चोरीकै कारण जेल परेका रूपक तामाङलाई छुटाउन डकैती गर्दा उनका भाइ नुवाकोट जिल्ला बेलकोट–६ का १९ वर्षीय शिवबहादुर तामाङ पक्राउ
परेका हुन् ।
बालाजुस्थित राधिका प्रधानको घरमा चारजनाको समूहमा शिवबहादुरले सोमबार बिहान डकैती गरेका थिए । उनीहरू सबैलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा नुवाकोटकै नर्जामण्डल–३ का चित्रे भनिने २१ वर्षीय प्रदीप तामाङ, जीवन तामाङ र बेलकोट–६ का २२ वर्षीय जीवबहादुर तामाङ छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई बालाजुबाट पक्राउ गरेको थियो । उनीहरूका साथबाट प्रहरीले सुनका गरगहना, ल्यापटप, कम्प्युटर, मोबाइल, घडी र केही नगदसमेत बरामद गरेको छ ।
डकैती समूहका मुख्य नाइके शिवबहादुरका दाजु रूपकले डिएसपी कल्वर सिंहको धापासीस्थित घरमा पार्क गरिराखेको मोटरसाइकल चोरी गरेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतले रूपकलाई चार लाख रुपियाँ धरौटीमा छाड्न भने पनि धरौटी बुझाउन नसक्दा उनी अहिले केन्द्रीय कारागारमा छन् ।
शिवबहादुरले आफ्नो बयानमा दाजुलाई छुटाउनका लागि पैसा जम्मा गर्ने उद्देश्यले डाँका गरेको बताएको प्रहरीको भनाइ छ । ‘दाजुलाई छुटाउन चार लाख लाग्ने भयो, पैसा थिएन, त्यसैले डाँका गरेका हौँ,’ शिवबहादुरको भनाइ उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
अपराध महाशाखाका डिएसपी हिमालय श्रेष्ठले शिवबहादुरले आफ्ना दाजु रूपकलाई छुटाउन डकैती गरेको बयान दिएको बताए । डिएसपी श्रेष्ठले शिवबहादुरका दाजु ‘व्यावसायिक चोर’ भएको उल्लेख गर्दै भने, ‘चोरी/डकैतीलाई पेसाका रूपमा अँगाल्नेले साथीलाई छुटाउन अर्को अपराध गर्ने गरेको देखिन्छ ।’
प्रहरीका अनुसार शिवबहादुर एक महिनाअघि मात्रै अदालतबाट धरौटी तिरेर छुटेका थिए । मोटरसाइकल चोरी गरेको भन्दै उनलाई प्रहरीले गत २० असारमा पक्राउ गरेको थियो । उनी २५ हजार धरौटी तिरी अदालतबाट छुटेका थिए ।
उनी यसअघि पनि मोटरसाइकल चोरीकै घटनामा पक्राउ परेका थिए । ११ चैत २०६७ मा पक्राउ परेका उनी २१ पुस २०६८ मा एक लाख ३५ हजार धरौटी रकम तिरी जेलबाट छुटेका थिए ।

प्रतिक्रिया