आठ किलो चाँदीका गहना बरामद

वीरगन्ज, ५ भदौ । वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा चाँदीका गहनासहित एक व्यापारिलाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खट्टिएको प्रहरी टोलीले महाबीरस्थानबाट गहना बरामद गरेको हो ।
ना १६ प ३५४६ नम्बरको सीबीजेड मोटरसाइकलमा सवार रहेका बारा इटियाही–७ निवासी १७ वर्षीय हरिओम सर्राफसँग ८ किलो २ सयग्राम तौल बराबरको चाँदीका गहना बरामद गरेको प्रहरीले जनाएको छ ।
माईस्थानस्थित दीपेश ज्वेलर्सका लागि भारतबाट राजश्व छलेर ल्याईएको चाँदीका पाउजुको बजार मूल्य सात लाख १३ हजार रुपियाँ रहेको अनुमान प्रहरीको छ ।
भारतबाट चाँदीका गहना अवैधरुपमा नेपाल भित्राएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएपछि अवैध चाँदीसहित सुनचाँदी व्यापारीलाई पक्राउ गर्न सफलता मिलेको प्रहरी निरीक्षक सुजन जोशीले बताए ।
यसैबीच, ३८ हजार ५ सय भारतीय रुपियाँसहित पक्राउ परेका एकजना भारतीय नागरिकलाई पर्सा प्रहरीले सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत कारवाही प्रकृया शुरु गरेको छ ।
पाँच सय दरका भारतीय नोटसहित पक्राउ परेका उत्तर प्रदेश राज्यको गादीपुर, पखनपुराका ४२ वर्षीय विद्याञ्चल प्रसाद यादवलाई प्रहरीले कारवाही चलाएको हो । यादवलाई प्रहरीले सोमबार वीरगन्जबाट पक्राउ गरेको थियो । (तस्विर गुगल)

प्रतिक्रिया