थ्री बाई थ्री बास्केटबलका लागि ग्रिसतर्फ

काठमाडौ, ५ भदौ । प्रथम थ्री बाइ थ्री पुरुष तथा महिला विश्व बास्केटबल च्याम्पियनसिपमा नेपालको पनि सहभागिता रहने भएको छ । प्रतियोगितामा सहभागी हुने टोली मंगलबार ग्रिसको राजधानी एथेन्सतर्फ प्रस्थान गर्दै छ । समान ४–४ खेलाडी रहेको पुरुष र महिलासहित नेपाली टोली ९ सदस्यीय रहेको छ । प्रतियोगिता २३ देखि २६ अगस्टसम्म हुनेछ ।
पुरुषमा विनोद महर्जन (कप्तान), रविन खत्री, राजीव जोशी तथा सदीश प्रधान रहेका छन् । महिला खेलाडीमा सदिना श्रेष्ठ (कप्तान), लुनिभा सिंह, स्नेहा श्रेष्ठ तथा समिचिन विष्ट छन् । टोलीको नेतृत्व नेपाल बास्केटबल संघका सचिव होमबहादुर दोङले गर्नेछन् । नयाँ स्वरूपको थ्री बाइ थ्री बास्केटबलमा प्रशिक्षक राखिने चलन छैन । बास्केटबलको मूल स्वरूपभन्दा फरक रहेको यो बास्केटबलमा दुवै टोलीले एउटै बास्केटमा स्कोर गर्छन् । पछिल्लो दुई वर्षदेखि यो स्वरूपको खेल नेपालमा पनि प्रचलित छ । दुवै टोली समूह ‘बी’ मा रहेका छन् । पुरुषको समूहमा नेपालसहित चेक गणतन्त्र, स्पेन, सर्विया, लाट्भिया तथा स्लोभेनिया छन् । महिलाको समूहमा नेपालले हंगेरी, फ्रान्स, स्लोभाकिया, चेक गणतन्त्र तथा आयोजक ग्रिससँग प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ नेपालको समूहमा रहेका स्पेन, लाट्भिया र सर्बिया बलिया टोलीको रूपमा परिचित छन् । महिलातर्फ फ्रान्स सबैभन्दा बलियो टोलीको रूपमा रहेको छ ।
बास्केटबल संघका अनुसार विश्व च्याम्पियनसिपमा सहभागिताका लागि कुल १०४ राष्ट्रले आवेदन दिएका थिए । त्यसबाट पुरुष र महिलातर्फ समान २४–२४ राष्ट्र छानिएका हुन् । दक्षिण एसियाली क्षेत्रबाट नेपालबोहक श्रीलंका छनोट हुन सफल भयो ।
नेपालले पुरुष र महिला टिम इभेन्टका साथै समान दुई–दुई पुरुष र महिला खेलाडी सम्मिलित मिक्स इभेन्टमा पनि भाग लिनेछ । मिक्समा विनोद, सदीश, सदिना र समिचिनले खेल्नेछन् । यसमा ८ राष्ट्र सहभागी हुनेछन् ।

प्रतिक्रिया