चाडपर्वलाई २० हजार मेट्रिक टन चिनी

काठमाडौं, ५ भदौ । सरकारले आसन्न दसैँका लागि २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । दसँै, तिहारलगायत चाडवर्पमा बजारमा चिनीको अभाव हुन नदिन सरकारले नेसनल ट्रेडिङ लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई २० हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुल दरमा आगामी असोज महिनाभित्र पैठारी आयात हुने गरी सुविधा प्रदान गरेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दसैँलगायत चाडपर्वमा चिनीको अभाव भई कालाबजारी मौलाउने भन्दै असोज महिनाभित्रै आपूर्ति व्यवस्था मिलाउन नेसनल ट्रेडिङ लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई निर्देशन दिइएको जनाएको छ । चिनीको मूल्य स्थिरीकरण गर्न र आगामी चाड दसैँ, तिहार, छठलगायत पर्वलाई समेत दृष्टिगत गरी चिनीको अभाव हुन नदिन सरकारको निर्णयानुसार १ प्रतिशत भन्सार महसुल दरमा आगामी असोज महिनाभित्र पैठारी आयात हुनेगरी सुविधा प्रदान गरिएको मन्त्रालयका सहायक प्रवक्ता दीपकराज पाण्डेले बताए ।
यस्तै नेपालभर आयोडिनयुक्त नुनको आयात, आपूर्ति तथा बिक्रीवितरणको व्यवस्था ०७४ साल असार मसान्तसम्मका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मिलाउने निर्णय भएको उनले बताए । नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा खाली रहेको १८ रोपनी जग्गा सार्वजनिक संस्थानलाई स्वामित्वमा दिनेगरी पुँजी निर्माणका लागि जग्गा बिक्री गर्न स्वीकृत भई संस्थानलाई आर्थिक रूपले सक्षम र व्यावसायिक रूपमा सफल बनाउन विभिन्न कार्यक्रम र प्रक्रियाबारे अध्ययन भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपाल खाद्य संस्थानमार्फत ३० दुर्गम जिल्लामा गत असारसम्म एक लाख २६ हजार ९७८ क्विन्टल खाद्यान्न र साउन २१ सम्म २६ हजार ८५ क्विन्टल खाद्यान्न ढुवानी गरिएको, एक लाख तीन हजार ५०३ क्विन्टल खाद्यान्न राष्ट्रिय खद्यसुरक्षा भण्डारमा तथा ६८ हजार १५० क्विन्टल सार्क खाद्यान्न बैंकमा मौज्दात रहेको मन्त्रालयले जनाएको छ । साथै कुष्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत २२ दुर्गम जिल्लामा आयोडिनयुक्त नुन ढुवानीका लागि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत असार महिनासम्म ४६ हजार २४४ क्विन्टल ढुवानी भइरहेको मन्त्रालयबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।
यस्तै चाडपर्वको मौका छोपेर बजारमा हुने कालाबजारी तथा कृत्रिम मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले अनुगमलाई अझ प्रभावकारी बनाउने भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेतले महान् चाडपर्व नजिकिँदै आएकाले बजार अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएपछि वाणिज्य विभागले यसलाई अघि बढाउन लागेको हो । विभागका महानिर्देशक नारायणप्रसाद बिडारीका अनुसार प्रधानमन्त्री भट्टराईले चाडबाडका बेला अखाद्य वस्तुको मिसावट हुनसक्ने भएकाले बजार अनुगमनको काम प्रभावकारी रूपमा अगाडि बढाउनका लागि तत्काल कदम चाल्न र कानुनविपरीत काम गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । विभागले विभिन्न स्थानमा स्थानीय प्रशासनको सहयोगमा बजार अनुगमन तीव्र बनाउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया