यातायात असुविधाले पर्यटक घटे

कञ्चनपुर, ५ भदौ । यातायात असुविधाले पश्चिम सिमानाको गड्डाचौकी भएर स्थलमार्गबाट प्रवेश गर्ने तेस्रो मुलुकका विदेशी पर्यटको संख्या घट्दै गएको छ ।

महाकाली नदीमा रहेको सीमापुल खुल्ने निश्चित समय नभएको र भारतीय रिक्सा चालकले पर्यटकबाट चर्को भाडा असुल गर्ने गरेका कारण पर्यटक संख्या तीन वर्षदेखि घट्दै गएको हो ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् ००९ मा दुई हजार ३४ जना विदेशी पर्यटक गड्डाचौकी नाका भएर भित्रिएकामा एक हजार पाँच सय १० जना पर्यटक यही नाका भएर बाहिरिएका थिए । सन् ०१० मा भित्रिने पर्यटकको संख्या घटेर एकहजार तीन सय १६ पुगेकामा बाहिरिने पर्यटकको संख्या भने एक हजार एक सय ३९ रहेको थियो ।
सन् ०११ मा एक हजार ६ सय ४० जना पर्यटक यस नाका भएर भित्रिएका थिए भने बाहिरिने पर्यटकको संख्या भने एक हजार तीन सय २४ जना रहेको थियो । सन् ०१२ को अगस्ट महिनाको हालसम्म नौ सय २० जना पर्यटक यस नाका भएर भित्रिएका छन् ।
बाहिरिने पर्यटकको संख्या भने ६ सय ८६ रहेको अध्यागमन कार्यालयका अध्यागमन सहायक शेखरनाथ ओझाले बताए । सन् ०११ को अगस्टमा ६५ जना विदेशी पर्यटकले गड्डाचौकी नाका प्रयोग गरी भित्रिएका थिए भने सन् ०१२ को अगस्टमा २६ जना पर्यटक मात्रै यस नाका भएर भित्रिएको अध्यागमन सहायक ओझा बताउँछन् ।
आव ०६८/६९ मा अध्यागमन कार्यालयले ४७ लाख ६९ हजार आठ सय रुपियाँ भिसाबाट राजस्व संकलन गरेको पनि ओझा बताउँछन् । आव ०६७/६८ भन्दा आव ०६८/६९ मा राजस्व संकलनमा वृद्धि हुनुमा ९० दिने भिसा लिने पर्यटक बढेर भएको हो ।
अध्यागमन कार्यालयले २५ दिनका लागि १५, तीस दिनका लागि ४० र ९० दिनका लागि सय डलर भिसा शुल्क लिने गरेको छ । यस नाकाको प्रयोग गरी भित्रिने अधिकांश पर्यटक पोखरा र काठमाडांैका लागि आउने गरेको उल्लेख गर्दै अध्यागमन कार्यालयका प्रमुख रणबहादुर विष्टले राजनीतिक अस्थिरता, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारको कमी, स्तरीय यातायात, हवाई यातायात, स्तरीय होटलको कमी र पर्याप्त मात्रामा पथप्रदर्शक नहुनुजस्ता कारणले एकपटक यस नाका भएर आउने पर्यटक दोहरिएर नआउने गरेका बताए ।
यो नाका भएर सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकको संख्या भने गतवर्ष दुईजना मात्रै रहेकामा यो वर्ष पाँचजना पुगेको उनले बताए । यस नाका भएर आउने पर्यटकमा अमेरिका, जर्मन, कोरिया, फ्रान्स, नर्वेलगायत देशका बढी हुने गरेका छन् ।
पर्यटक बर्सेनि घट्दै जानुमा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न नसक्नु नै प्रमुख कारण रहेको दर्साउँदै नेपाल पर्यटन बोर्डका कार्यालय सहायक थानेश्वर लेखकले भने, ‘भारतीय निकटवर्तीय पर्यटकीय क्षेत्र नैनिताल, मसुरी, देहरादुन पुग्ने पर्यटकलाई नेपालका पर्यटकीय गन्तव्यबारे बुझाउन सके पर्यटक भित्र्याउन सकिन्छ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं सुदूरपश्चिम उद्योग वाणिज्य संघका क्षेत्रीय महासचिव जंगबहादुर मल्लले भने सरकारी नीति नै पर्यटक भित्र्याउनका लागि बाधक रहेको दाबी गरे ।

प्रतिक्रिया