ग्रामीण क्षेत्रमा सञ्चारको पहुंच बढ्दो

इलाम, ५ भदौ । सञ्चार क्षेत्रमा नागरिकको पहुंच वृद्धि भएसँगै इलाममा पछिल्लो समयमा ८० हजार बढीले सञ्चार सेवा लिन थालेका छन् । आर्थिक वर्ष ०६८/६९ को असार मसान्तसम्म इलामका ८१ हजार छ सय २० जना सेवाग्राहीले सञ्चार सेवाको प्रयोग गरिरहेको नेपाल टेलिकम जिल्ला शाखा इलामले जनाएको छ ।

शाखाका अनुसार अहिले जिल्लाका दुई हजार तीन सयले ल्यान्डलाइन फोन प्रयोग गरिरहेका छन् । स्काई (सिडिएमए) पोस्टपेडमा पाँच सय १२ सेवाग्राहीको पहुँच रहेको छ  । स्काई (सिडिएमए) प्रिपेड २० हजार एक सय ७४ ले प्रयोग गर्दै आएको टेलिकम इलामले जनाएको छ ।
त्यस्तै, जिल्लामा जिएसएम पोस्टपेड प्रयोगकर्ता आठ सय २१ रहेका छन् । जिल्लामा सबैभन्दा बढी नमस्ते प्रिपेडका सेवाग्राही छन् । जिल्लाका ५६ हजार ६ सय २० ले नमस्तेको प्रिपेड चलाउँदै आएको नेपाल टेलिकम जिल्ला शाखाका लेखाअधिकृत उमेश दंगालले बताए । उनका अनुसार जिल्लाका विभिन्न गाविसमा आठ सय ९६ सिडिएमए टेबुल सेट प्रिपेडका प्रयोगकर्ता रहेका छन् ।
जिल्लामा अहिले इन्टरनेट प्रयोगकर्ता पनि बढ्न थालेका छन् । ‘शाखाकै मद्दतमा दुई सय बढीले एडिएसएलमार्फत इन्टरनेट सेवा लिइरहेको लेखाअधिकृत दंगाल बताउँछन् । उनका अनुसार पछिल्लो समयमा मोबाइलमार्फत पनि इन्टरनेट चलाउनेको संख्या बढ्न थालेको छ । त्यस्तै जिल्लामा आइपिस डाइलगबाट इन्टरनेट प्रयोग गर्नेको संख्या पनि उल्लेख्य रहेको टेलिकमको तथ्यांकमा उल्लेख छ ।
इलाममा नेपाल टेलिकमबाहेक अरू सिमकार्ड प्रयोग गर्नेको संख्या पनि बढ्दो छ । नगरपालिकालगायत जिल्लाका ४८ वटै गाविसमा टेलिकमसँगै अन्य कम्पनीको फोन सञ्चालनमा आइरहेका छन् । नगरपालिका र आसपासका गाविसमा युटिएलका प्रयोगकर्ता पनि रहेका छन् । नेपाल टेलिकम इलाम शाखाबाहेक झापा, पाँचथर, मोरङ, धनकुटा र काठमाडांैको सिमकार्ड प्रयोग गर्ने सेवाग्राही पनि जिल्लामा छन्  ।

प्रतिक्रिया