खोजखबर

बेपत्ता छोरी खोज्दै आमा

सौर्य अनलाइन २०६९ भदौ ५ गते ०:०८ मा प्रकाशित

नेपालगन्ज, ५ भदौ । खेतमा काम गर्न गएकी छोरी बेपत्ता हुँदा बर्दियाकी एक आमा चिन्तित भएकी छन् । मोतीपुर–५ मदाहाकी १९ वर्षीया शीतला घर्ती ३ साउनदेखि बेपत्ता भएकी हुन् ।

आमा गोपी घर्तीले मकै गोड्न र धान रोप्न घरबाट एक घन्टा टाढा अमोहियास्थित खेतमा गएकी छोरी फर्केर घर नआएको बताइन् । बिहान ८ बजे साइकल लिएर हिँडेकी शीतला हराएपछि खोजीमा आमा र दिदी झुमसरा नेपालगन्ज आइपुगेका छन् ।
४ साउनदेखि शीतलाको मोबाइल स्विचअफ रहेको उनीहरूले बताए । भागेर हिँडेको आशंका गरेको केटाले समेत आफूसँग नभएको बताएपछि आमा गोपी लास या सास खोज्दै नेपालगन्ज आइपुगेका हुन् । दिदी झुमसराले बहिनीको खोजतलासमा प्रहरीले समेत ध्यान नदिएको गुनासो गरिन् ।
भगाउने आशंका गरिएका डोटीका विष्णु बोहरालाई प्रहरीले ११ साउनमा कैलालीको अत्तरियाबाट पक्राउ गरेको थियो । बोहरालाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको छ । बोहराले आफूसँग शीतला नभएको बयान दिँदै आएका छन् । शीतलालाई भेट्न बोहराले धनगढी बोलाएको तर भेट गरेपछि शीतलालाई मन नपराएको प्रहरी स्रोतले जनाएको छ । ‘केटाकेटी भेट्न धनगढी पुगे तर केटाले मन पराएन,’ एक प्रहरी अधिकृतले भने, ‘त्यही हीनताबोधले केटी बेपत्ता भएको हुन सक्छ ।’ शीतला र विष्णुको फोनमा माया बसेको घटनाको विवरणले देखाएको प्रहरीले जनाएको छ ।
चार साउनमा फोन गर्दा शीतलाले आफू बोहरासँगै रहेको बताएकी थिइन् । दिदी झुमसराले भनिन्, ‘फोनमा बोहरासँग छु, मलाई नखोज्नू आज धनगढी बसियो, घर जान लागेकी छु, घरमा फोन लाग्दैन रे भनेकी थिई ।’ त्यसपछि ऊसँग फोन सम्पर्क भएको छैन ।
सवारीचालक प्रकाश खड्काले शीतला ३ साउनमा धनगढी आएको प्रहरीलाई बयान दिएका छन् । ३ गते राति गाडीसाहु नरेन्द्र कुँवरको घरमा साहुको दिदी र आमासँग सुताएर ४ साउनमा गाडी चढाएर बर्दिया पठाएको बयान खड्काले दिए । शीतलाले रोएर ३ साउनमा साँझको खाना नखाएको बयान खड्काले दिएका थिए । अहिले चालक खड्का र गाडी मालिकसमेत सम्पर्कमा छैनन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले शीतला ४ साउनदेखि अत्तरियाबाट गायब भएको पाइएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको सइ इन्द्र चौधरीले जानकारी दिए ।
जिप साहु कुँवर, चालक खड्काको खोजी कार्य भइरहेको चौधरीले बताए । अनुसन्धानका क्रममा खड्कालाई बोलाएर पहिलोपटक बयान लिए पनि उनीहरूविरुद्ध उजुरी नपरेकाले छाडिएको चौधरीले बताए । उजुरी परेपछि खड्का र कुँवर फरार छन् । खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पनि अनुरोध गरिएको उनले जानकारी दिए । यता प्रहरीले कैलाली, डडेल्धुरा र डोटीमा समेत शीतलाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय