अस्ट्रेलिया सेमिफाइनलमा

सिड्नी, ४ भदौ । अस्ट्रेलिया र दक्षिण अफ्रिका आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्ने क्रममा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । यसैगरी, अस्ट्रेलियाले बंगलादेशलाई पाँच विकेटले हरायो । टोनी आयरल्यान्ड क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा अलआउट हँुदै २ सय ४४ रन जोड्यो ।
दक्षिण अफ्रिकाका मुरे कोट्जीले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी, थेनिस डे ब्रुइनले ५४ रन जोडे । ८२ रनमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकाका यी दुईले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे । ३९औँ ओभरमा ब्रुइन आउट हुँदा दक्षिण अफ्रिकाको अवस्था बलियो भइसकेको थियो । इंग्लिस बलर रिस टोप्लीले १० ओभरमा ४५ रन खर्चिंदै मध्यक्रमका तीन विकेट लिए पनि उनको प्रयासले मात्र दक्षिण अफ्रिकालाई रोक्न सकेन । दक्षिण अफ्रिकाका लागि ओपनर चाड बोयसले ४६ रन जोडे । स्यालिन पिलले २१ बलमा एक छक्कासहित १९ रन जोडे ।
इंग्लिस बलर क्रेग ओघरनले १० ओभरमा ४३ रन खर्चिंदै दुई विकेट लिए । एडम बल, जेभी ओभरटन र ब्रेट हटनले एक/एक विकेट लिए । २ सय ४५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डमा म्यान अफ द म्याच पेनेला सुब्रायानको धारिलो बलिङका सामु निरीह हँुदै ४०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४१ रनमा सीमित भयो । उनले १० ओभरमा २४ रन खर्चिंदै चार विकेट लिए । तेस्रो ओभरमा पहिलो बलमा दुई रन मात्र जोडेका बेल ड्रमन्ड विलियम्सको बलमा बोल्ड भएपछि एलेक्स डेभिस र डोन फोकासले दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गरे । यी दुवैले ५४ रन जोडे । सुब्रायानले फेकसलाई स्टिम्पिङ आउट गरेपछि इंग्ल्यान्डको पतन सुरु भएको थियो । इंग्ल्यान्डले ३९ रनको अन्तरमा नौ विकेट गुमाएको हो । विलियम्सले सात ओभरमा २३ रन खर्चिंदै दुई विकेट लिए । अन्य दक्षिण अफ्रिकी बलरमा कोर्न ड्रायन, क्यालभान साभेज र डे ब्राइनले एक/एक विकेट लिए ।
अस्ट्रेलियाले जित हात पार्ने क्रममा बंगलादेशले छाडेको १ सय ७२ रनको साँघुरो लक्ष्य ४५.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान विलियम बसिस्टोले नट आउट रहँदै ७१ रन जोडे । धिमा गतिमा खेलेका उनले १ सय ३४ बलको सामना गरेका थिए । ४ सय ९८ बलको सामना गरेका ट्रेभिस हेडले ४४ रनको योगदान गरे । उनले दुई चौका र एक छक्का प्रहार गरे । अस्टन टर्नरले नट आउट रहँदै २७ रन जोडे ।
अस्ट्रेलियाको सुरुवात भने खराब रहेको थियो । पाँच रनमा अस्ट्रेलियाले दोस्रो विकेट गुमाइसकेको थियो । क्यामरुन ब्रान्ककर्ट १३ बलको सामना गर्दै एक रन मात्र जोडेर आउट भए । मेरिक बुचानन पनि कुनै रन नजोडी आउट भए । बंगलादेशका बलरमा तास्किन अकमद र अबु जाभेरले दुई/दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर खेल्दै अलआउट भएर १ सय ७१ रन जोडेको थियो । बंगलादेशका लागि सौम्य सरकारले धैर्यपूर्वक ब्याटिङ गर्दै ८० बलमा ७३ रन जोडे । उनी चौथो विकेटका रूपमा २८औँ ओभरमा हेडको बलमा आउट भए । अर्का प्रारम्भिक ब्याट्सम्यान लिटाने दासले २२, नवौँ क्रमका ब्याट्सम्यान नुर हुसनेले १७ र आठौँ क्रमका नसिम इस्लामले १२ रन जोडे । १४औँ ओभरमा दास आउट भएपछि बंगलादेशले नियमित अन्तरालमा विकेट गुमाएको थियो ।
अस्ट्रेलियाका हेडले सर्वाधिक तीन विकेट लिए । उनले सात ओभरमा ३० रन खर्चे । यसैगरी, जोल पेरिसले १० ओभरमा ३८ रन खर्चिंदै दुई विकेट लिए । टर्नरले आठ ओभरमा २२ रन खर्चिंदै दुई विकेट लिए । नेपालले प्लेट च्याम्पियनसिप अन्तर्गत सोमबार श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया