जोकोभिक र फेडेरर फाइनलमा

सिनसिनाटी, ४ भदौ । नोभाक जोकोभिक र रोजर फेडेरर सिनसिनाटी ओपन टेनिस प्रतियोगिताको फाइनलम प्रवेश गरेका छन् । जोकोभिकले समिफाइनलमा अर्जेन्टाइन खेलाडी हुवा मार्टिन डेल पोर्टोलाई ६–३, ६–२ ले पराजित गरे । दुई साताअघि भएको ओलम्पिक खेलमा जोकोभिकलाई पराजित गर्दै डेल पोर्टोले कास्य पदक जितेका थिए । सेमिफाइनलको परिणामसँगै सिनसिनाटीको इतिहासमै पहिलोपटक दुई शीर्ष खेलाडीबीच उपाधि भिडन्त हुने भएको छ ।
यसपटक जिते फेडेरर पाँचौँपटक उपाधि जितको नयाँ कीर्तिमान कायम गर्न सफल हुनेछन् । ‘यो रोमाञ्चित तुल्याउने कुरा हो । जब म सानो थिएँ, कहिले पनि पाँचपटक सिनसिनाटी जित्ने कुरा सोच्दिनथेँ,’ फाइनल प्रवेशपछि उनले भने । शीर्ष बरियताका स्विस खेलाडी फेडररले आफ्नै देशका स्टानिलास वारिन्कालाई ७–६, ६–३ ले पराजित गरे । फेडरर र जोकोभिकबीच उपाधिका लागि भिडन्त हुन लागेको यो सातौँपटक हो ।
सन् २०११ मा दुबईमा यी दुईबीच फाइनलमा भेट भएको थियो । सन् २००९ मा जोकाभिकलाई नै हराउँदै फेडररले उपाधि जितेका थिए । यी दुईबीचको भेटमा १५–१२ ले फेडरर अघि छन् । तर, पछिल्लो समयको अवस्था भने फरक छ । गत सत्रको युएस ओपनको सेमिफाइनलमा जोकोभिकले फेडेररलाई पराजित गरेका थिए भने त्यसपछि रोम ओपन र फ्रेन्च ओपनको सेमिफाइनलमा पनि जोकोभिकले फेडेररलाई हराए । विम्बल्डन सेमिफाइनलमा भने फेडेररले जोकोभिकलाई हराए । गत सत्र पनि जोकोभिक सिनसिनाटीको फाइनलमा प्रवेश गरेका थिए । तर, पाखुराको चोटका कारण उनले दोस्रो सेटमै खेल त्यागेपछि एन्डी मुर्रेले उपाधि जितेका थिए ।
उपाधि जिते यो साता जोकोभिकका लागि अत्यन्त सुखद हुनेछ । जोकोभिकले आइतबार राति मात्र टोरन्टो कप जितेका थिए । उनका लागि थकाइले प्रभावित पार्ने समस्या भए पनि निकोलाइ डेभडेन्कोले खेल त्यागेका कारण आरामको मौका पाएका थिए ।
पछिल्लो दुई दिनमा तीन सेट मात्र खेलेपछि उनले सेमिफाइनलमा प्रशस्त शक्ति सञ्चय गर्दै खेल्ने अवसर पाएका थिए । पहिलो सेटमा दुवै खेलाडीले बेसलाइनमा नै धेरै खेल खेलेका थिए । बायाँ नाडीको समस्याले ग्रस्त डेल पोर्टोलाई जोकोभिकसँगको खेलमा पनि यसै समस्याले केही सताएको थियो । सन् २०१० मा दायाँ नाडीको उपचार गरेका चिकित्सकसँगै बायाँ नाडीको उपचार गराएर उनी प्रतियोगितामा सहभागी हुन आएका थिए । खेलकै दौरान उनले प्रतियोगिता त्याग्ने सोचाइसमेत बनाएका थिए ।
यस वर्षको पुरुषतर्फको ड्र भने राफेल नाडालको चोटले प्रभावित बन्यो । विम्बल्डनमा नखेलेका र युएस ओपनमा पनि नखेल्ने निर्णय गरिसकेका नाडाल यो प्रतियोगितामा सहभागी भएनन् । फेडेररको सेमिफाइनल भने रोमाञ्चक बन्यो । उनले ओलम्पिकपछि रोजर कप नखेलेर यसै प्रतियोगिताका लागि आराम गरेका थिए । उनले प्रतियोगितामा कुनै पनि सेट गुमाएका छैनन् । वारिन्काले यो प्रतियोगितमा समेत गरी फेडररसँगको २० सेटमा १९ सेट गुमाइसकेका छन् ।
महिलातर्फ घाइते खेलाडी भेनस विलियम्सलाई ७–५, ३–६, ६–१ ले पराजित गर्दै चीनकी लिना फइनलमा प्रवेश गरिन् । उपाधिका लागि उनले जर्मन खेलाडी एन्जलिक केयबरसँग खेल्नेछिन् । विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेकी केयबरले फाइनल प्रवेशका क्रममा चेक गणतन्त्रकी पट्रा किभिट्कोभालाई ६–१, २–६,
६–४ ले पराजित गरिन् । विलियम्सले सन् २०१० को युएस ओपनपछि पहिलोपटक सेमिफाइनल खेलेकी हुन् ।
चोटबाट मुक्त हँुदै यसै वर्ष कोर्टमा देखिएकी भेनसले पहिलो सेटमा डबल फल्ट गरेपछि ३–२ ले पछि परेकी थिइन् । त्यसपछि उनले खेललाई ५–५ को अवस्थामा पुर्‍याए पनि फेरि डबल फल्ट गरेकी कारण ६–५ ले पछि परिन् । त्यसपछि उनी त्यो सेट गुमाउन बाध्य भइन् । दोस्रो सेटमा लगातार पाँच गेममा जित हात पार्दै उनी परिणाम ६–३ ले आफ्नो पक्षमा पार्न सफल भइन् ।
लिनाले यो वर्ष सेमिफाइनलमा खेलेका चारवटै खेलमा जित हात पारेकी छन् । उनी अन्तिमपटक गत साता मन्ट्रियलमा किभिट्कोभासँग नै पराजित भएकी थिइन् । यो वर्ष बरियता क्रमको सातौँ स्थानमा उक्लेकी केइबरले भने पेरिस ओपन र कोपनहेगनमा जित हात पारेकी थिइन् । अन्तिम सेटमा ५–२ ले अघि बढेपछि केइबरको किभिट्कोभासँग जितको बाटो तय भएको थियो ।

प्रतिक्रिया