बिदेसिन चाहने विद्यार्थीको संख्या ओरालोतिर

काठमाडौं, ४ भदौ । नेपाली विद्यार्थीको विदेशमोह कुनै नौलो कुरा होइन । एसएलसी उत्तीर्ण गर्नासाथ अधिकांश विद्यार्थीको मस्तिष्कमा विदेशको सपना नाच्न थाल्छ । यद्यपि, पछिल्ला दुई वर्षमा विदेश जान नो अब्जेक्सन लिने विद्यार्थीको संख्या भने ओरालो लागेको छ । गत आर्थिक वर्षमा १० हजार दुई सय ५८ जनाले विदेशमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् । जब कि यो संख्या आव ०६६/६७ मा २६ हजार नौ सय ४८ र ०६७/६८ मा ११ हजार नौ सय १२ थियो । शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका अनुसार गत आवमा विश्वभरिका ६९ देशमा पढ्न नो अब्जेक्सन लेटर लगिएको रेकर्ड छ ।

गत आवमा सबैभन्दा धेरै आकर्षक गन्तव्य बनेको छ अस्ट्रेलिया । नो अब्जेक्सन लेटर लगेकामध्ये तीन हजार पाँच सय ६१ जना अस्ट्रेलियाका लागि छन् । अघिल्ला वर्षमा अग्रस्थानमा रहने गरेको युकेलाई पछि पार्दै आकर्षक गन्तव्यको दोस्रो स्थानमा जापान परेको छ । जापान एक हजार दुई सय ९४ जनाको रोजाइमा परेको छ । यस्तै, तेस्रो रोजाइमा छिमेकी देश भारत रहेको छ । त्यसैगरी, क्रमश: अमेरिका, युके, चीन, बंगलादेश, जर्मनी, फिलिपिन्स फिनल्यान्ड, डेनमार्क, थाइल्यान्ड, आयरल्यान्ड आकर्षण धेरै भएका देशको सूचीमा छन् ।
वर्षभरमा एकजनाले मात्र नो अब्जेक्सन लेटर लिएका देश पनि छन् । नौ देशका लागि एक/एक विद्यार्थीले लेटर लगेका छन् । हङकङ, जोर्डन, इथुवानिया, ब्रुनाई, रिपब्लिक अफ बेलारस, स्लोभानिया, वालेस, ताइवान र ट्युनिसियामा अध्ययनका लागि एक/एकजनाले मात्र लेटर लिएका हुन् ।
०६६/६७ मा विदेश जान चाहनेको संख्या अत्यधिक थियो । सो वर्ष २६ हजार नौ सय ४८ जनाले नो अब्जेक्सन लेटर लगेका थिए । युकेमा प्रवेश सजिलो भएका कारण सो वर्ष लस्कर नै लागेको थियो । ०६५/६६ मा २४ हजार आठ सय २४ थिए । ०६७/६८ मा युकेमा प्रवेशमा कडाइ भएका कारण नो अब्जेक्सन लेटर लिनेको संख्या अघिल्लो वर्षभन्दा आधा कम भएको थियो । ०६७/६८ मा ११ हजार नौ सय १२ ले मात्र नो अब्जेक्सन लेटर लिन पुगेका थिए ।
शाखा प्रमुख लक्ष्मी खड्काका अनुसार विदेशमा अध्ययनमा जाने अधिकांश विद्यार्थीले व्यवस्थापन विषय रोज्ने गरेका छन् । होटल म्यानेजमेन्ट, एकाउन्टिङ, बिजनेस एडमिनिस्ट्रेसनजस्ता विषय प्रमुख रोजाइमा रहेको उनले जानकारी दिइन् । विदेश जान चाहनेमा अधिकांश छात्र र सहरका रहेको उनको भनाइ छ ।
विदेश अध्ययनमा जान चाहनेमा सबैभन्दा बढी प्लस टु सकेका विद्यार्थी छन् । कतिपय विद्यार्थी त १२ कक्षाको नतिजा सार्वजनिक नहुँदै ‘ट्ेरनिङ कोर्स’को नाममा विदेशका कलेजमा भर्ना भइसकेका हुन्छन् । कक्षा १२ को नतिजाको पर्खाइमा रहेकी सरिता शर्माले विदेश अध्ययनमा जाने पक्का गरिसकेकी छन् । उनी भन्छिन्, ‘यहाँ राम्रो गर्न सकिने वातावरण नदेखेकाले विदेशै जाने योजना बनाएकी छु ।’ उनले ट्रेनिङ कोर्सका लागि भन्दै मन्त्रालयबाट नो अब्जेक्सन लेटर बनाइसकेकी छन् ।
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला अवसरको खोजीमा विदेशतिर आकर्षण बढेको बताउँछन् । ‘विदेशमा केटाकेटी स्वतन्त्र हुन्छन्, बाबुआमाले इज्जत ठान्छन् र दुई/चार पैसा कमाइ हुने भएकाले पनि आकर्षण बढेको छ,’ शिक्षाविद् कोइराला भन्छन्, ‘यसलाई नराम्रो भन्न मिल्दैन ।’
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी भने विदेश अध्ययनमा जानुपर्छ भन्ने सामाजिक मनोविज्ञान धेरै विद्यार्थीमा बनेको बताउँछन् । नेपालमा पढाइप्रतिको विश्वास कम हुनु र असुरक्षाको अवस्थाले पनि बिदेसिन चाहने धेरै भएको उनको भनाइ छ । उनी भन्छन्, ‘सम्पूर्ण राजनीतिक दल मिलेर यहाँ कुनै अवरोधविना पढ्न पाइन्छ र पढेपछि रोजगारीका अवसर सुनिश्चित हुनुपर्छ, अनि मात्र सबैको ध्यान नेपालमै हुन्छ ।’
छात्रवृत्ति शाखाका अधिकृत देवीप्रसाद पौडेलले विदेशमा धेरै आकर्षित हुनेमा १८ देखि २५ वर्षका युवा रहेको बताए । ‘धेरैजसो प्लस टु पास गरेर गएका हुन्छन्,’ अधिकृत पौडेलले भने, ‘नेपालमा बसेर के हुन्छ र भन्ने धेरैमा छाप परिसकेको छ, मुख्य समस्या बेरोजगारको हो ।’ उनले पढाइका नाममा रोजगारी खोज्न विदेश जानेको संख्या धेरै रहेको बताए ।
उच्च माध्यमिक विद्यालय तथा कलेजले विदेश अध्ययनलाई सजिलो गराउने गरी आकर्षणका कार्यक्रम ल्याउन थालेका छन् । कलेजले पाठ्यक्रमका साथै कक्षा १२ मा आइएलइटिएस, टोफलजस्ता विषयसमेत पढाउने गरेका छन्् ।

प्रतिक्रिया