सेयरमा पर्ख र हेरको अवस्था

काठमाडौं, ३ भदौ । चालु आर्थिक वर्षमा विभिन्न ३२ कम्पनीले ४ अर्ब ७४ करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएका छन् । विगतमा पनि सेयरको परिमाण बढेपछि बजार खस्केको हो । पुन: अहिले त्यस्तै अवस्था सिर्जना हुन सक्ने संकेत देखिएका कारण पनि सेयरमा हतारिएर लगानी गर्नु उपयुक्त छैन ।

साधारण सेयर निष्कासन गर्ने कम्पनीमा मेगा, कमर्ज एन्ड ट्रस्ट, सेन्चुरी र सिभिल बैंक छन् । यी चार बैंकको मात्र ३ अर्ब रुपियाँजतिको सेयर बजारमा ल्याउने बताएका छन् । बिमातर्फ एनएलजी इन्स्योरेन्स सेयर निकाल्ने तयारीमा छ । २० विकास बैंक र चार फाइनान्स कम्पनीको पनि सेयर आउने सम्भावना छ । दुई जलविद्युत् कम्पनी पनि सेयर निष्कासनको तयारीमा जुटेका छन् ।
त्यसैगरी, सेयर जारी गर्ने अन्य कम्पनीमा रिलायन्स फाइनान्स, जेबिल्स फाइनान्स, काँक्रेबिहार विकास बैंक, सिभिक डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त विकास बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक छन् ।
यसैबीच, सूचीकृत कम्पनीको आव ०६८/६९ असार मसान्तको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम सुरु भएको छ । त्यो अवधिमा अधिकांश बंैकको नाफा अपेक्षा गरेभन्दा धेरै कम देखिएको ती संस्थाले जारी गरेको विवरणमा उल्लेख छ । यसले सेयर बजारलाई माथि जान केही अंकुश लगाउन सक्छ । गत आर्थिक वर्षको नाफाबाट अधिकांश वाणिज्य बैंकले ५ देखि १० प्रतिशतसम्म लाभांश दिन सक्ने स्थिति देखिएको छ । समग्रमा बैकहरूको नाफा १९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । यो अघिल्लो वर्षको अनुपातमा कम हो ।
घट्दो नाफासँगै सेयर बजारमा पनि विस्तारै गिरावट आउन थालेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजी दुई अर्ब रुपियाँ पुर्‍याउनुपर्ने बताएपछि बोनस र हकप्रद सेयर प्रदान गरी पुँजी बढाएका बैंकले नाफाको वृद्धि दरलाई कायम राख्न नसकेको ती बैंकले जारी गरेको विवरणले पुष्टि गर्छ ।
ग्रान्ड बैंकले १८ करोड ३६ लाख रुपियाँ नाफा गरी साढे ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश घोषणासँगै यसको पनि सेयरमूल्य घट्न पुग्यो । सेयर बजारमा अत्यधिक लाभांश दिने कम्पनीको नेतृत्व वाणिज्य बैंक समूहले गर्दैै आएको छ । कुल सेयरको ८० प्रतिशत हिस्सा ओगटेको वित्तीय क्षेत्रमध्ये पनि अधिकांश वाणिज्य बैंककै सेयरको प्रभुत्व छ । वाणिज्य बैंक समूहअन्तर्गत स्टयान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकलगायत बैंकबाहेक अरू बैंकले आकर्षक लाभांश घोषणा गर्न सक्ने स्थिति देखिएको छैन । हालसम्म प्रकाशित वित्तीय विवरणमध्ये नबिल बैंकले सबैभन्दा बढी एक अर्ब ७२ करोड रुपियाँ नाफा आर्जन गरेको छ । गत वर्ष एक अर्ब ३३ करोड नाफा आर्जन गरेको बैंकले ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष एक अर्ब ११ करोड खुद नाफा आर्जन गर्दा ५० प्रतिशत नगद लाभांश वितरण गरेको स्टयान्डर्ड चार्टर्डले गत आवमा एक अर्ब १६ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी, किष्ट बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार १० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अनिवार्य सञ्चितिपछि बैंकले ८ करोड रुपियाँसम्म मात्र बाँड्न सक्छ । यो प्रतिशत आधारमा ४ मात्रै हुन आउँछ । स्टयान्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा गाभिएपछि बैंकको चुक्ता पुँजी बढेर दुई अर्ब ४७ करोड पुगे पनि बैंकको नाफा १० करोड रुपियाँको हाराहारीमा मात्रै छ । बैंकले लाभांश बाँडिहालेमा पनि ५ प्रतिशतभन्दा कम मात्र लाभांश बाँड्न सक्ने स्थिति देखिएको छ । सनराइज बैंकको प्रतिसेयर आम्दानी सात रुपियाँ २८ पैसा छ । अनिवार्य सञ्चिति रकमपछि बैंकले पनि ६ प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न सक्दैन । नयाँ बैंकका रूपमा रहेका सिटिजन्स बैंकले प्रतिसेयर आम्दानी १० रुपियाँ देखाएको हिसाबले १० प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने स्थिति छैन । नेपालको सेयर बजार बढ्ने समूहको नेतृत्व गर्ने वाणिज्य बैंकको आम्दानी पुँजी वृद्धिसँगै बढाउन नसकेपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ ।
सरकार अहिले पनि यथास्थितिवादी मानसिकतामै छ । यो सरकारले अर्थतन्त्रले छलाङ मार्न सक्ने कुनै पनि अवस्था छैन । कामलचाउ सरकार र त्यसमाथि पनि सबै दलले राजीनामा मागिरहेको अवस्थामा सरकारबाट सेयर बजारमा राहतको कार्यक्रम आउला भनेर कसैले पनि अपेक्षा गरेका छैनन् । यो सरकार रहुन्जेल सेयर बजारमा एक किसिमको अन्योल राजनीति हाबी रहने अनुमान विज्ञहरूले गरेका छन् । यसका आधारमा भन्ने हो भने जबसम्म सहमतिको राष्ट्रिय सरकार बन्दैन तबसम्म सेयरमा सुधार आइहाल्छ भन्न सक्ने अवस्था छैन ।

नेप्से घट्ने क्रम जारी

काठमाडौं : गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय १७ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार ४ सय ७७ कारोबारबाट ३६ करोड ७८ लाख ३३ हजार हजार रुपियाँ बराबरका १३ लाख १८ हजार १ सय ३५ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
गत साता एक सय १२ कम्पनीको कारोबार भएको छ । जसमा ५ हजार ५ सय ९९ कारोबारबाट २७ करोड ३३ लाख ७९ हजार रुपियाँ बराबरका ९ लाख ३५ हजार ६ सय ८५ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३४ दशमलव ५५ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको २७ करोड ९२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ७५ दशमलव ९१ प्रतिशत हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ९४ अंकले ह्रास भई अन्तिम दिन ३ सय ९८ दशमलव २८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव २५ अंकले ह्रास भई एक सय १ दशमलव २३ अंकमा झरेको छ ।
गत साता कारोबार रकमतर्फ ७ करोड १ लाख रुपियाँका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर ५ लाख २७ हजार २ सय कित्ताका आधारमा किष्ट बैंक अग्रस्थानमा छ । कारोबार संख्याका आधारमा ६ सय ६ वटाका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा छ । साताको उत्कृष्ट ५ कम्पनीमा चिलिमे हाइड्रो पावर कम्पनी, किष्ट बैंक, एभरेष्ट, बैंक अफ काठमाण्डु र नेपाल दूरसञ्चार कम्पनी रहेका छन् । यस साता पनि स्टकमा संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार नभएको नेप्सले जनाएको छ । यो साता सूचीकरण भएका कम्पनीमा गुल्मी विकास, टुरिजम डेभलपमेन्ट बैंक र कञ्चन विकास बैंक छन् ।

प्रतिक्रिया