पत्नीलाई जोगाउँदा पतिको हत्या प्रयास

रौतहट, ३ भदौ । पतिसहित खेतमा काम गरिरहेकी एक महिलालाई गाउँका उद्दण्ड समूहले करणीको प्रयास गरेका छन् । पत्नीलाई करणी गर्न खोज्ने समूहको प्रतिकार गर्दा पतिको पनि हत्या प्रयास भएको छ ।

संग्रामपुर–७ की २५ वर्षीया महिला निर्मला देवीलाई उखुबारीमा करणीको प्रयास भएको हो । समूहले उनका पति उमिन्दर पटेललाई धारिलो हतियार प्रयोग गरी हत्याको प्रयास गरेका हुन् ।
बोल्न नसक्ने पतिलाई शरीरका पचासभन्दा बढी ठाउँमा हतियार प्रहार भएको छ । गम्भीर अवस्थाका पटेललाई गरुडास्थित अनामिका क्लिनिकमा प्राथमिक उपचारपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज पठाइएको छ । पटेललाई तीन सयभन्दा बढी टाँका लगाई गम्भीर अवस्थामा बाहिर पठाइएको क्लिनिकका प्रमुख डा. आरबी प्रसादले बताए । घटनामा पत्नी निर्मला देवी पनि घाइते भएकी छिन् ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बरियारपुर–९ इनर्वाका जगदेवरामलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए । घटनास्थलबाट अस्थायी प्रहरी चौकी बरियारपुर करिब एक किलोमिटर मात्रै टाढा छ । घटनाको तीन घन्टापछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बेस क्याम्प समनपुरका इन्स्पेक्टर राजेन्द्र गुरागाईंको नेतृत्वको टोली घटनास्थल पुगेर पीडितको उद्धार गरेको थियो । दिउँसै करणी र हत्याका प्रयास हुँदा पनि प्रहरीले केही गर्न नसकेकामा स्थानीय आक्रोशित बनेका छन् ।

प्रतिक्रिया