प्रहरी र स्थानीयबीच झडप

वीरगन्ज, ३ भदौ । बरामद गाँजा ल्याउने क्रममा पर्साको विश्रामपुरमा शनिबार साँझ प्रहरी र स्थानीयबीच झडप भएको छ ।

स्थानीय मंगल साह कानुको घरमा रहेको गाँजा प्रहरीले बरामद गरेर गाडीमा हाल्ने क्रममा स्थानीयले खोस्न खोजेपछि झडप भएको हो । गाउँलेले प्रहरी टोलीमाथि ढुंगामुढा गर्दै गाँजा खोस्न थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको इन्स्पेक्टर मुक्तिनारायण चौधरीले बताए ।
स्थानीयको ढुंगा प्रहारबाट तीन प्रहरी सामान्य घाइते भएका छन् । करिब सयको संख्यामा रहेका स्थानीयले प्रहरीमाथि आक्रमण गरेको इन्स्पेक्टर चौधरीले बताए । साहको घरमा गाँजा भण्डारण गरेर राखिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी विन्दवासिनी (विन्ध्यवासिनी), महुवन, बहुअर्वाभाठा, डकैला बहुअरीबाट प्रहरीको संयुक्त टोली विश्रामपुर पुगेको थियो ।
प्रहरीले साहको घरबाट करिब तीन क्विन्टल गाँजा बरामद गरेको छ । चारवटा ड्रम र दुईवटा बोरामा रहेको गाँजा बरामद गरिएको इन्स्पेक्टर चौधरीले बताए । ‘बरामद गाँजा भ्यानमा राख्ने क्रममा गाउँलेले ढुंगामुढा गरे,’ चौधरीले भने, ‘उनीहरूलाई तितरबितर पार्न प्रहरीका तर्फबाट तीन राउन्ड हवाई फायर भयो ।’

प्रतिक्रिया