कटवालको नेतृत्वमा ‘नयाँ शक्ति’

वीरगन्ज, ३ भदौ । पूर्वसेनापति रुक्मांगद कटवालको नेतृत्वमा नयाँ शक्तिको गठन हुने भएको छ । वीरगन्जमा शनिबार सुरु भएको ‘अबको नयाँ बाटो’ विषयक दुईदिने भेला समापन क्रममा आइतबार नयाँ शक्ति गठनको घोषणा हुने भएको हो ।

अबको नयाँ बाटो विषयक दुईदिने चिन्तन शिविरमा ४५ जिल्लाका हिन्दू अगुवाको सहभागिता छ । शनिबार बेलुकी सौर्यसँग कुरा गर्दै भेलाका संयोजक जनता दल नेपालका महासचिव विनय यादवले भेलाले आइतबार नयाँ शक्ति गठनको घोषणा गर्ने बताए ।
‘नयाँ शक्तिको नेतृत्व पूर्वप्रधान सेनापति कटवालले गर्नसक्ने सम्भावना छ,’ उनले भने, ‘यसको निर्णय आइतबार हुनेछ ।’ दुईदिने भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कटवाल नै थिए । संयोजक यादवले गठन हुने नयाँ शक्ति कुनै दल, जाति, धर्मविशेष नभई मुलुकको वर्तमान संकटको निकास दिन सामाजिक आन्दोलनका लागि केन्द्रित रहने बताए ।
‘भेलामा मुस्लिम, बौद्ध, इसाई धर्मका कोही पनि छैनन्,’ यादवले भने, ‘सबै हिन्दू धर्मप्रति आस्था राख्ने छन् ।’ भेलामा हिन्दू युवा संघका केन्द्रीय अध्यक्ष ज्योतिलाल कलवार, हिन्दू युवा संघका संस्थापक केन्द्रीय अध्यक्ष स्वर्गीय काशी तिवारीकी पत्नी बबिता तिवारी, तेरापन्थी समाजका अध्यक्ष अशोक वैद्य, नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीलगायत सहभागी छन् ।
भारतमा भ्रष्टाचारविरुद्ध बाबा रामदेवले गरेको सामाजिक आन्दोलनजस्तै नेपालमा पनि विद्यमान राजनीतिक अस्थिरता अन्त्यका लागि सामाजिक आन्दोलन गर्न नै नयाँ शक्ति गठन हुने यादवले प्रस्ट पारे । भेलाको उद्घाटनमा पूर्वसेनापति कटवालले मुलुकको समस्या समाधानका लागि साझा शक्तिको आवश्यकता रहेको बताए । उनले कुनै दल, धर्म, जाति विशेष नभई राजनीतिक अस्थिरता अन्त्यका लागि सबैले एउटै साझा एजेन्डा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए । कटवाल कलैयास्थित सेनाको दुर्गा भञ्जन गुल्ममा बसेका छन् । गुल्मका मेजर सुक्मांगत कटवाल रुक्मागतका छोरा हुन् ।

प्रतिक्रिया