डीन नियुक्ति पछि केसीको अनशन तोडियो

काठमाडौं, २ भदौ । त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदले वरिष्ठताका आधारमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डा.प्रकाश सायमीलाई डीनमा नियुक्त गरेपछि प्राध्यापक डा.गोविन्द केसीले आज आफ्नो आमरण अनशन तोडेका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनशन बसेका डा.केसीले माग पुरा भएपछि आज छैटौं दिन आफ्नो अनशन तोडेका हुन् । उनको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेपछि अनशनस्थलमै उपचार गरिएको थियो । उनलाई त्रिविमा उपचार गर्न आएका विरामी इन्द्र चेपाङ र पृथ्वी विकले संयुक्त रुपमा जुस खुवाएर अनसन तोडाएका हुन् ।
सरकारले वरिष्ठतमका आधारमा पदाधिकारी नियुक्त गर्न दबाव दिएपछि परिषदले डा.सायमीलाई डीनमा नियुक्त गरेको हो । यस अघि डा.सायमीलाई शुक्रबार नियुक्त गर्ने अन्तिम तयारी भएपनि आन्तरिक विवाद पछि सो निर्णय हुन सकेको थिएन ।
उता, नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कार्यक्रम पनि फिर्ता गरेको छ । संघले सबै चिकित्सकलाई काममा फर्कन आग्रह समेत गरेको छ ।
संघको आन्दोलनका कारण मुलुकभरिका स्वास्थ्य संस्थाहरुमा आकस्मीक बाहेकका सबै सेवा अबरुद्ध भएका थिए । चिकित्सकहरु आन्दोलनमा उत्रिए पछि सेवाग्राही विरामी प्रभावित भएका थिए ।
आमरण अनशन पछि परिषद आफ्नो पूर्व निर्णय सच्चाउन बाध्य भएको हो । राजनीतिक भागबण्डाका आधारमा परिषदले कनिष्ठलाई डीनमा नियुक्त गरेपछि आन्दोलन सुरु भएको थियो ।

प्रतिक्रिया