हुलाकघर : गन्तव्य र मोह

मेरो घरनजिकै थियो– हुलाक घर । कटारीबजारमा हरेक शुक्रबार हाट लाग्थ्यो । हाट भर्न पहाड र मधेसबाट एकैसाथ मानिस ओइरिन्थे । आलुको बिउँ, सुन्तला र फलाम किन्न मानिसको भिड लाग्थ्यो । हाट भरिसकेपछि धेरैजसो हटारुहरू एकपटक हुलाकघरमा पुग्थे । आफन्तका आशान्वित खबरले डोर्‍याउँथ्यो उनीहरूलाई त्यहाँसम्म ।
शुक्रबार म पढ्ने त्रिवेणी स्कुलमा हाफ पढाइ हुन्थ्यो । आधा दिन बाँकी छँदा मेरो पहिलो प्राथमिकतामा पथ्र्यो हुलाकघरको भ्रमण । हुन त हुलाकघरमा हरेक साता हेर्न जानै पर्ने त्यस्तो भौतिक संरचना केही थिएन । पुरानो खिया लागेको साइनबोर्ड, काठै–काठले बनेको पुरानो जीर्ण घर अनि मानिसको अविराम चहलपहल । बस्, यत्ति हो अरूले भन्ने यसको विशेषता तर मेरा लागि भने हातमा चिठी च्यापी उत्साहित हुँदै विजयी मुद्रामा झैँ हुलाकघरबाट फर्किरहेका मानिस र तीनका चिठीमा टाँसिएका रंगीचंगी टिकटहरूको बेग्लै मादक आकर्षण थियो ।
हुलाकमा देखिने धेरैजसोलाई म चिन्थेँ । ऊ बेला कटारीमा हाम्रो कहलिएको पसल थियो । बजार झर्ने हरेकजसो मानिस पसलमा देखिएकै हुन्थे । बासँग धेरैको राम्रो चिनजान थियो । बासँग कुराकानी गरिरहेका अनुहारहरूलाई नै म प्राय: हुलाकघरमा पनि देखिरहन्थेँ । मलाई हुलाक टिकट औधी मन पथ्र्यो । भानुभक्त आचार्य, मोतीराम भट्ट, महाकवि देवकोटा, बालकृष्ण समलाई मैले पहिलोपटक चिनेको सायद हुलाक टिकटबाट नै हुनुपर्छ । ‘हुलाक टिकटमा छापिएका मानिस धेरै ठूला मानिसहरू हुन् †’ दाइ र सरहरू भन्ने गर्नुहुन्थ्यो ।
हुलाक टिकटमा मन्दिर, गुम्बा, बाजा, प्रख्यात ठाउँ, राजारानीहरूका तस्बिर पनि छापिन्थे । स–साना चिटिक्कका फोटोसहितका हुलाक टिकटले मेरो बालमनलाई खुबै लोभ्याउँथ्यो । त्यसैले नयाँ टिकट देख्यो कि त्यो कसरी पाउने होला भनी ‘आइडिया’ लगाउँथे । आफूले चिनेजानेका मानिसलाई काका, काकी र बाजे सम्बोधन गर्दै टिकट माग्ने काम सजिलो थियो । उनीहरूलाई खामभित्र लेखिएको चिठीसँग मात्र मतलब हुन्थ्यो । आठ, नौ वर्षको बालकले त्यो टिकट खेल्नका लागि मागेको होला भनी उनीहरू हाँसीखुसी टिकट उप्काएर दिन्थे मलाई । कटारीमा लाहुरेहरूका घरपरिवार पनि धेरै थिए । त्यसैले विदेशबाट आउने चिठीका टिकटहरू पनि मसँग हुन्थे । मेरो यो सोखबारे घरपरिवार र स्कुलका दुई–चार साथीहरूलाई थाहा थियो ।
घरमा मेरो एउटा ठूलो काठको बाकस थियो । प्राप्त भएका नयाँ–पुराना सबै टिकट रहने ठाउँ त्यही थियो । त्यो बाकस कमिक्सका किताबहरूले आधाजसो भरिएको थियो अनि आधाचाहिँ स्कुलको किताब, फिल्मका चुँडिएका रिल, पोस्टकार्ड र हुलाक टिकटहरूले ।
यहाँ ती चुँडिएका रिलहरूको बाकसयात्राको पनि थोरै सम्झना गरिहालौँ । म चार कक्षामा पढ्दासम्म कटारीमा सिनेमा हल बनिसकेको थियो । काठैकाठले बनेको त्यो हल तल्लो कटारीमा थियो । त्यसअघि माथिल्लो कटारीमा काशीराज काकाको घरमा एउटा भिडियो हल थियो । ओखलढुंगाका एकजना लाहुरे दाइले डेक र श्यामश्वेत स्क्रिन ल्याएर भिडियो हल सञ्चालन गरेका थिए । त्यहाँ मैले धेरैवटा फिल्म हेरेको थिएँ । अमिताभ बच्चन, मिथुन चक्रवर्ती, धर्मेन्द्र, श्रीदेवी, माधुरी दीक्षितलाई त्यही भिडियो हलले मलाई चिनाएको हो । एकदिन अचानक सिनेमा हल बन्ने कुरा चल्यो । त्यसको छ महिनापछि बन्यो– कटारी सिनेमा टाकिज । हलमा सधैँ भिडभाड हुन्थ्यो । दोहोर्‍याइ, तेहर्‍याइ फिल्म नहेर्ने कोही हुँदैनथे । मैले पनि धेरैवटा फिल्म आठ–दशपटक हेरेको छु । मेरो दाइ (रामचन्द्र)ले पनि केटाकेटीमै ‘कान्छी’ फिल्म सत्रपटक हेर्नुभएको थियो । अर्को पटक हिरोइन बाँचेको देखाउला कि भनेर हेर्दाहेर्दै सत्रपटक पुगेको रहेछ । पछि इन्जिनियरिङ क्याम्पस पढ्दा उहाँले एउटा सुटिङमा कान्छीकी हिरोइन शर्मिला शाह मल्ललाई देख्नुभएछ, मलाई भन्नुहुन्थ्यो । धेरैपछि २०६० सालमा फिल्म कलेजको अध्ययन सकेर मैले पहिलोपटक निर्देशन गरेको टेलिफिल्म ‘आकांक्षा’मा तीनै अभिनेत्री शर्मिला मल्ललाई एक प्रमुख भूमिकामा अभिनय गराएको थिएँ । त्यसबेला पहिलेका कुरा सम्भिँmदा हाँस उठेको थियो । कटारीको हलमा ऊ बेला कहिले फिल्म देखाउँदा–देखाउँदै रिल चुँडिएर फिल्म रोकिन्थ्यो, कहिले थोत्रो जेनेरेटर फिल्म चल्दाचल्दै बिग्रिएर फिल्म रोकिन्थ्यो । त्यसैले धेरैपटक साँझ ६ बजे फिल्म हेर्न गएका दर्शकहरू दर्जनपटक जेनेरेटर बिग्रिएर राति २ बजे फिल्म सकेर घर फर्किएको मलाई याद छ । खासकुरो, थोत्रा भइसकेका फिल्मका रिल डब्बाहरू सस्तोमा ल्याएर फिल्म देखाउँदा त्यस्तो समस्या आएको रे † सबैले गाली गरेपछि अपरेटरले भनेको सुनिन्थ्यो । यसरी चुँडिएका रिलहरू अपरेटरको घरमा थन्किन्थे । मलाई फिल्मका रिलभित्रको कलाकारको ‘इमेज’ मन पथ्र्यो । अपरेटरकी सानी बहिनी मीनाले त्यो चोरेर ल्याउँथी । अनि मलाई ल्याएर तीनदेखि पाँच रुपियाँमा बेच्थी । यसरी मैले सानोमा आफूलाई मन पर्ने थुप्रै हिरोहिरोइनका फिलिमका रिलहरू (कुनैकुनै दश मिटरसम्मका) जम्मा पारेको थिए ।
मैले हुलाक टिकटलाई व्यवस्थित रूपमा जम्मा पार्नका लागि एल्बममा राख्न थालेँ । एकपटक स्कुल लगेको थिएँ । झन्डै चार सयवटा हुलाक टिकट देखेर साथीहरू चकित परे । उनीहरूमध्ये केहीले आफूले पनि हुलाक टिकट संकलन गर्न थाले । धेरैजसो संकलन गर्ने भएपछि हुलाक टिकट सजिलै पाउन छाड्यो । अलि पछि मैले पत्रमित्रहरू बनाएँ । पत्रमित्रहरूको चिठीबाट पनि टिकट संकलन हुन्थ्यो । त्यो बेलाका चिठीबाटै चिनजान भई साथी बनेकाहरू अहिले राम्रा कलमजीवी र स्रष्टाका रूपमा कहलिएका छन् । ऊ बेलाका राजकुमार बानियाँ, डम्बरकृष्ण श्रेष्ठ, डा. रवीन्द्र समीर, कृष्णराज सर्वाहारी, छत्र क्षितिज, डम्बररसिक भारतीलगायत दर्जनौँ नामहरूसँग अहिले पनि नियमित सम्पर्क र भेटघाट भइरहन्छ ।
त्यो बेला हवाई मार्गबाट चिठी पठाउनका लागि छिटो माध्यमका रूपमा हुलाकघरमा हवाई पत्र पनि पाइन्थ्यो । आकाशे नीलो रङमा दुई पानाको हवाई पत्र एउटाको ५० पैसा पथ्र्यो । त्यसैको खाली पानामा लेख्न मिल्ने ठाउँ हुन्थ्यो । हवाई मार्गबाट जानेभएकाले चिठी छिटो पुगोस् भन्न चाहनेहरूले हवाई पत्रको प्रयोग गर्थे । हवाई पत्रमा भने टिकट टाँस्न पर्दैनथ्यो ।
एकदिन मैले मेरो स्कुलको किताबको जस्तै सुन्दर अक्षरहरू छापिएको एउटा हवाईपत्र फेला पारेँ । त्यसमा मुक्तक, छोटा कविता, हाइकु र लघुकथाहरू थिए । मैले साथीहरूलाई देखाएँ । त्यहाँ साहित्यिक हवाई पत्रिका भनेर लेखिएको थियो, नामचाहिँ बिर्सिएँ । सात कक्षाताकादेखि मैले पत्रपत्रिकामा पाठक प्रतिक्रियाहरू पठाउन थालेँ । ज्योति बालक्लबबाट मेरो सम्पादनमा भित्तेपत्रिका निस्किन थालिसकेको थियो । पत्रपत्रिकामा मेरो नाम र ठेगाना छापिएपछि मेरो नाममा हवाई पत्र र पर्चा सहित्यहरू धमाधम आउन थाले । हुलाकी दाइले घरमै चिठी पुर्‍याउन आएको देख्दा दंग पर्थें ।
एकदिन साथीहरूलाई भनेँ, ‘अब एउटा हवाई पत्रिका निकालौँ ।’ साथीहरू पनि उत्साहित भए । नाम पनि जुरायौँ– प्रोत्साहन साहित्यिक हवाई पत्रिका । ज्योतिपुञ्ज साहित्यिक समूहको प्रस्तुतिमा पत्रिका निकाल्ने समहति भयो । पहिलो अंकका लागि पत्रमित्र, क्लब र स्कुलका साथीहरूसँग रचना मागेँ । रचनाहरू जुट्यो र पत्रिका पनि निकाल्यौँ । यसरी उदयपुरबाट २०५० सालमा प्रोत्साहन हवाई पत्रिका निस्कियो । प्रोत्साहन निस्किएसँगै म काठमाडौँ आएँ उच्च शिक्षा अध्यययनका लागि । त्रिचन्द्र कलेज पढ्दाताका पनि ‘प्रोत्साहन’ले निरन्तरता पाइरह्यो । यो दुई–दुई महिनामा निस्कन्थ्यो । लगातार पाँच वर्ष निकालेपछि यो बन्द भयो । साथीहरू पनि कोही विदेश लागे । कोही आ–आफ्नै काम र पढाइमा व्यस्त हुन थाले । मैले पनि यसलाई बन्द गर्ने निधो गरेँ । मेरो बाल्यकालको हुलाकघरको गन्तव्यलाई युवाअवस्थामा पनि ‘प्रोत्साहन’ले अघि बढाइरह्यो । अहिले सम्झँदा लाग्छ– हुलाक घरसँग जोडिएका मेरा सोखहरू र प्रोत्साहन हवाई पत्रिका प्रकाशन मेरा प्रारम्भिक साहित्यिक यात्राका उज्याला गोरेटाहरू थिए । हवाई साहित्य र हवाई पत्रिकासँगको मोहले गर्दा नै २०५५ सालताका हवाई साहित्य समूह नेपाल
(हसासने) नामक संस्था पनि स्थापना गर्‍यो । म संस्थापक अध्यक्ष थिएँ । हसासनेबाट सुरुका केही वर्ष हवाई पत्रिकाहरूको अभिलेखीकरण गर्ने र तीनका समस्याहरूको पहिचान गरी समाधन गर्नेजस्ता कार्य पनि गर्‍यो । एक वर्षपछि नयाँ समितिलाई जिम्मा लगायौँ । विस्तारै यसको गतिविधि सेलाएर शून्य भयो ।
अहिलेजस्तो ऊ बेला इमेल र इन्टरनेटको जमाना थिएन । हुलाक घर, हवाई टिकट र हवाई पत्रिकाको ज्यादै महत्त्व थियो । वास्तवमा त्यहाँबाट धेरैका सिर्जना र सोखहरू टुसाएका छन् । फक्रिने अवसर पाएका छन् । हामीले मोफसलबाट पत्रपत्रिकाहरूलाई रचना पठाउने र हामीकहाँसम्म ती जोडिने सेतु पनि हुलाक नै थियो । हप्तौँको प्रतीक्षापछि पत्र र सन्देशहरू हात पथ्र्यो । अहिले त सञ्चारमाध्यम ज्यादै फराकिलो बनिसकेको छ– केही दिनअघि मात्र मैले यो वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ पाएको थाहा पाएर मोबाइल, इमेल र फेसबुकबाट तत्काल बधाईका सयौँ फोन, एसएमएस र सन्देशहरू पाउँदा मलाई यस्तै लागेको छ । कति धेरै बदलिसकेछ समय । ओहो † समयका ती डोबहरू साँच्चै स्वर्णिम थिए – चम्किलो र नीलो हवाई पत्रजस्तै ।

प्रतिक्रिया