एउटा बौलाहाको कथा

अचानक प्रकाश चिच्यायो, ‘दाइ, जोगिनुस् † अब ढुंगा हान्ने भो ।’ मोटरबाइक सम्हाल्दै अघिल्तिर हेरेँ । बाइक बिस्तारै कुदिरह्यो । मेरा अघिल्तिर झुस्स दारी, जिङ्रिङ्ग कपाल भएको अधबैँसे देखापर्‍यो । उसको हातमा थियो, ढुंगो ।
हात उचालेर ढुंगा प्रहार गर्‍यो ।
म अत्तालिएको थिएँ । टाउको निहुराउँदै बाइक हुइँकाएँ । धन्न जोगियौँ । ढुंगा हाम्रै शिरमाथि हुँदै पर पुग्यो र फ्यात्त भुइँ छोयो ।
‘हे भगवान्,’ संकटको क्षण सम्झिइँदो रहेछ ।
बाइक अझै हुइँकाएँ । प्रकाश पछाडि हेर्न थाल्यो, ‘झन्डै लागेको, कस्तो बहुला रहेछ ।’
‘को हो,’ ज्यान जोगिएको खुसी थियो, ‘बहुला नै हो त ?’
पुरानो छाप्रोझैँ लाग्ने स्कुल देख्छु । बाँसका भित्तामा माटोले लिपेको छ । जताततै ठूलै दुलो परेको छ । भनाँै भ्वाङ परेको छ, रामनगरको स्कुल । मेरा पिताजीले यहीँ पढ्नुभएको हो । उहाँले टेकेको स्कुलको चौर घाँस र झार उम्रेर बेरूप देखिएको छ । तराईका अधिकांश स्कुलको रूप यही हो ।
चर्काे घामको रापमा हामी रामनगरमा छाँै । पुरानो इतिहास बोकेको रामनगरको चिनीमिल यहीँ छ । महोत्तरी जिल्ला । फुपू भेट्न गएका हौँ । तर, ढोकामा ताल्चा देखेपछि सौगात टोलतिर लाग्दै छौँ । बाटैमा भेटिनुहुन्छ कि भन्ने आशा पनि छ ।
तर, बाटैमा भेटिए यी शंकास्पद व्यक्ति ।
जोगिएर सन्तोषको लामै श्वास फेर्‍यौँ र विस्तारै अघि बढ्यौँ । फुपू बाटैमा भेटिए्, भैँसी चराइरहेका । नमस्कार गरेँ र आशिष थापेँ ।
०००
साँझको बेला कोही चिच्याइरहेको सुनेँ ।
‘आउँछ, आउँछ, आउँछ बिहान, सुनौलो बिहान †’
बहुला कराएको हो भन्ने अड्कल काटेँ ।
ऊ गौँडामा देखापर्‍यो । त्यही झुस्स दाह्री, जिङ्रिङ्ग कपाल । चिच्याउँदै थियो अझै । केटाकेटीहरू उसको पछि हुल बाँधेर लागेका थिए । त्यो आकृति परिचित थियो । दिउँसो ढुङ्गा हान्ने उही हो, मनमनै भनेँ ।
म डगरतिर छु । उसका हाउभाउ हेर्छु । अहँ, यो चानचुने बहुला पक्कै होइन, म अड्कल काट्छु ।
प्रकाशलाई घरको आँगनमा देख्छु । सोध्छु, ‘यी तिनै होइन, दिउसोको हामीलाई आतंकित बनाउने ?’
ऊ हो को संकेतमा टाउको हल्लाउँछ ।
‘के तिमी यिनलाई चिन्छौ ? यिनका बारेमा मलाई केही बताउन,’ जिज्ञासा मभित्र उम्लिरहेको थियो ।
प्रकाश बताउने मुडमा देखियो ।
नाम : बलराम समाल
जन्म : ०१४ साल मंसिर ४
स्कुल : राष्ट्रिय प्राथमिक विद्यालय, रामनगर, महोत्तरी
ओहो † त्यही स्कुल जहाँ ऊसित जम्काभेट भएथ्यो । तर, नराम्रो भेटघाट थियो । के मेरा पिताजीसँगै पढेका होलान् त । एउटै सिजनमा फलेकाझैँ देखिन्थे ।
सानैदेखि नेतृत्व लिने स्वभावका हुन् । स्कुलका गुरुको अभद्र व्यवहारप्रति विद्रोह नै गरेका रहेछन् । व्यापक आन्दोलन गर्थे रे, स्कुले जीवनताका । हुने बिरुवाको चिल्लो पात भनेकै यही हो कि †
हुन त ऊ अहिले पनि नारा लगाइरहेकै छ– ‘आउँछ बिहान…†’
‘तपाईंलाई थाहा छ यी त नेपाल ल क्याम्पसका प्रथम स्ववियु सभापति हुन् ।’ इतिहासकै महत्त्वपूर्ण कुरा सुनायो ।
(अहिले पनि उनको नाम स्ववियुको कार्यकक्ष वा बोर्डमा देख्न सक्नुहुन्छ ।)
अचम्म † मुटुमै ढ्यांग्रो बज्यो । प्रथम स्ववियु सभापति यस्तो हालतमा देख्दै छु । कसरी यस्ता भए त ? कुरा गहिरो रहेछ । मैले जिज्ञासा थप्दै गएँ । प्रकाश कुरोको पोको खोल्दै गयो ।
नेपाल ल क्याम्पसको ०३६ सालको पहिलो स्ववियु सभापति भएका यिनले क्याम्पस प्रमुखसँगै राजनीतिक विद्रोह गरेछन् । तत्कालीन समयका बहुचर्चित युवा नेताकै रूपमा चिनिएका थिए । तेह्र राष्ट्रका पार्टी नेताले सम्बोधन गर्ने एक कार्यक्रममा नेपालकै तर्फबाट युवा वक्ता थिए । प्रहरी प्रशासनले हस्तक्षप गर्दै धेरैलाई समाते । उनी पनि परे ।
अब उनको यातनाको कथा प्रारम्भ हुन्छ ।
बलराम समाल जेल परे । बन्दीगृह यातनागृहभन्दा फरक रहेन । पञ्चायती क्रुरताको पराकाष्ठामा उनी थलिए । उनी बाहिरिँदा अचेत थिए । भनिन्छ, उनलाई बरफमा डुबाउँदै कुटिन्थ्यो । चेतनाको कुनै बिन्दुमा उनले घर सम्झे । धादिङ, हेटौँडा हुँदै उनी घरतिर लागे । पहाडका भिरपाखा छिचोल्दै महोत्तरी पुग्दा ज्वरोले ढले । हो यसरी सुरु हुन्छ उनको मानसिक सन्तुलन खलबलिनुको यात्रा । यातना र थप ज्वरोको मारमा उनको मस्तिष्कको कुनै बिन्दुबाट काम गर्न छोड्दै गयो । घरबाट राँची उपचारका लागि पनि पुर्‍याइयो ।
पञ्चायती यातनाको उपहार उनी अहिलेसम्म भोगिरहेका छन् ।
उनको जीवन राजनीतिक आन्दोलनले खर्लप्पै खायो । देशको आमूल परिवर्तनका लागि राजनीतिमा लागेका थिए उनी । तर, तिनै आस्थाले पनि उनको उपचारमा झिनो पनि सहयोग गरेनन् । हो, बरु पञ्चायती सरकारले उनको जागिर खोसेर देशमा ‘देखानपर्नु’ भन्ने धम्की पाए ।
राँची कतिपटक पुर्‍याइए । यसको लेखाजोखा रहेन । हो उनी ठीक हुन्थे । केही दिन, केही महिना सद्दे हुन्थे तर टेपरेकर्डरमा भरिएझैँ उनको मस्तिष्कमा उही नारा घन्किन्थ्यो र आवाज बाहिर चर्किन्थ्यो ।
आज एउटा युवा नेता र वकिलको जीवन ‘बहुला’मा परिणत भएको छ ।
०००
प्रकाशले बेलिविस्तार लगाइरहँदा म उनको जीवनमा छपक्कै भिजेछु । रात छिप्पिँदो थियो । उनको विगत सुनेर हर्षित हुने ठाउँनै पाइनँ । म चुपचाप त्यो आकृति आँखाभरि सँगालेर निदाएँ ।
बिहान उठ्नासाथ तिनको सम्झनाले ह्याङओभर गर्‍यो । हुन त मान्छेले जीवन लुगा फेरेझैँ कहाँ फेर्न सक्थ्यो र † यदि हुने भए यो जीवन फेरिदिन्थे होला । समाल बहुलाउँदैन थे कि ?
प्रश्नहरूको घेराबन्दीमा अन्योलग्रस्त हुनुभन्दा मेरा आँखा उनको खोजीमा लागे । पाँच दशक बिताइसकेका उनलाई हिजो साँझकै ठाउँमा देख्छु । समयले पछारेको हुँदा आज उनलाई सबैले ‘बहुला’को उपमा दिइरहेका छन् । म यति निरीह बनिरहेँ कि ऊसित कुरा गर्ने इच्छालाई पनि समर्थन गर्न सकिरहेको थिइनँ । मलाई लाग्यो ऊ मदेखि भाग्ने छ या फेरि पनि ढुंगा आतंक मच्चाउने पो हो कि भन्ने मभित्र गलत विचारले डेरा जमाउनासाथ चुपचाप हेरिरहेँ ।
अझै पनि ऊ– ‘आउँछ …आउँछ …’ मै अल्झिरहेकै छ । सायद उसलाई थाहा छैन, देशमा गणतन्त्र आइसकेको छ । कि ऊ केही भन्न चाहन्छ † गणतन्त्र आए पनि नेपालीको सुनौलो बिहान आइपुगेको छैन । नत्र ऊ किन यतिविधि कराउँदै गल्लीगल्ली चहारिरहन्थ्यो । चिच्याउँदै हिँड्नु उनको मात्र नियति हो ? हामी आम नेपालीको पनि भागमा छ त्यो भविष्यले बताउँदै जानेछ, तर अहिले भने ऊ दिनहुँ चिच्याउँदै छ । विचरा उसलाई यो देशमा गणतन्त्र आएको थाहा नै छैन †

प्रतिक्रिया