अनुगमनको गाडीमा आयुक्तको कब्जा

काठमाडौं, २ भदौ । सरकारले अनुगमनका लागि राष्ट्रिय महिला आयोगलाई दिएको गाडी आयुक्त मनु हुमागाईंले एकलौटी बनाएकी छन् । गाडी प्रयोगका विषयमा आयुक्त र कर्मचारीबीच नै तनाव सिर्जना भएको छ ।

महिला हिंसाका घटनामाथि विभिन्न जिल्लामा गई अनुगमन गर्न असुविधा भएको भन्दै आयोगले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसित गाडी मागेको थियो । गत २३ असारमा पाँचबँुदे माग लिएर बालुवाटार गएको आयोगको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसित गाडीको कुरा निकालेको हो । ‘दिलदार’ प्रधानमन्त्रीले एक सातामै बा.१झ ९१८७ नम्बरको स्कोर्पिओ आयोगलाई दिने निर्णय गराए ।

आयोगका अध्यक्ष, सचिवलगायत चारैजना आयुक्तलाई गाडी सुविधा छ । त्यसमा चित्त नबुझाएका आयुक्तहरू कसरी बढीभन्दा बढी सुविधा हत्याउने भन्ने ध्याउन्नमा हुन्छन् । स्रोतका अनुसार अनुगमनका लागि मागिएको स्कोर्पिओ कसले चढ्ने भन्ने विषयमा आयोगमा तीनवटा बैठकमा विवाद भएको थियो । आयुक्त हुमागाईंले ‘आºनो पार्टीको प्रधानमन्त्री’सँग आफूले डिलिङ गरेर ल्याएको गाडी आफँैले चढ्न पाउनुपर्ने अडान लिएपछि तीनवटा छलफलमा सहमति हुन सकेन । उनी माओवादी सरकारद्वारा नियुक्त भएकी आयुक्त हुन् ।
‘सहमति भएको छैन, तैपनि मनुजीले नमानेरै चढ्नुभो,’ एक सदस्यले सौर्यसँग भनिन् । ती सदस्यका अनुसार माओवादीले नै नियुक्त गरेकी अर्की सदस्य उर्मिलादेवी विश्वकर्माले
पनि सो गाडी हुमागाईंलाई नै चढ्न दिनुपर्ने बताएकी थिइन् ।
आयोगका अध्यक्ष शेषचाँद तारा तथा सदस्यहरू मोहना अन्सारी, धनेश्वरी चौधरी, सचिव बद्रीलगायत अन्य कर्मचारी सो गाडी अनुगमनकै लागि प्रयोग गर्नुपर्ने अडानमा छन् । यसबाट आयोगमा आयुक्त र कर्मचारीबीच तीव्र मनमुटाव सिर्जना भएको छ । यद्यपि, सदस्य विश्वकर्माले गाडीको कारण आयोगमा कुनै समस्या तथा विवाद नआएको दाबी गरिन् ।
‘बैठकले निर्णय गरिरहनुपर्छ र ? हामीलाई गाडी दिँदा पनि त निर्णय भएको थिएन । गाडी दिँदा बैठकले निर्णय गर्ने प्रचलन छैन आयोगमा,’ विश्वकर्माले सौर्यसँग भनिन् । उनले गाडी प्रयोग गर्ने विषयमा अरू कसैले दाबी नगरेको जिकिर गरिन् । ‘हामी सबै सहमत छौँ, गाडी चढ्ने अरू कसैको दाबी थिएन,’ उनले भनिन् ।
हुमागाईंले स्कोर्पियो चढेपछि पहिला मार्सल गाडी चढिरहेकी विश्वकर्माले हुमागाईंले यसअघि चढ्दै आएको टाटासुमो चढिरहेकी छन् । उनको मार्सल भने आयोगकै उपसचिव एमेन्द्र उपाध्यायले पाएका छन् । यद्यपि, आयोगमै कार्यरत उपसचिव अवनि मैनाली भट्टराईले महिला भएर पनि सो गाडी पाइनन् । कामको जिम्मेवारीका आधारमा पनि उपसचिव एमेन्द्रलाई भन्दा मुद्दा फाँट हेरिरहेकी मैनालीलाई गाडीको जरुरी धेरै हुन्छ ।
एउटा शीर्षकमा गाडीको माग गरी आºनो सोखका लागि प्रयोग गर्ने आयुक्तको प्रवृत्तिदेखि आयोगका सबै कर्मचारी वाक्क भएका छन् । आयोगका सचिव बद्री पोखरेललाई पनि आयुक्तको यो पारा ठीक लागेको छैन । ‘गाडी खास अनुगमनका लागि आवश्यक भएर माग गरिएको हो । मनु म्याडमले म चढ्छु भन्नुभो’ पोखरेलले सौर्यसँग भने, ‘अनुगमनका लागि आएको गाडी आयुक्तले चढ्न पाउने कि नपाउने भन्ने नियम छैन, विवेकशील व्यक्ति स्वयंले जान्ने कुरा हो ।’
सदस्य हुमागाईंले पार्टीको रवैया देखाउन खोजेको कर्मचारीको आरोप छ । नाम नबताउने सर्तमा आयोगका एक कर्मचारी भन्छन्, ‘हामीले भनेर मात्र के गर्ने ? आयोगलाई कस्तो बनाउने भन्ने त आयुक्तहरूकै क्षमतामा भर पर्छ ।’ आयुक्तहरू महिलाको विषय नबुझेका तथा राजनीतिक पृष्ठभूमिकाहरू नियुक्त हुनुले अधिकारसम्पन्न भए पनि आयोगको भूमिका र प्रभाव कमजोर भएको उनको भनाइ छ ।

प्रतिक्रिया