खोजखबर

अर्धवार्षिक परीक्षासम्म छात्रवृत्तिको टुंगो लागेन

सौर्य अनलाइन २०६९ भदौ २ गते १:१६ मा प्रकाशित

काठमाडौं, २ भदौ । अर्धवार्षिक परीक्षा सुरु भए पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छैन ।

बूढानीलकण्ठलगायत सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयमा देशभरबाट गरिब तथा जेहेनदार विद्यार्थीलाई आवासीय सुविधासहितको छात्रवृत्तिका लागि लिइएको परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भएको हो । समयमै छनोट गर्न नसक्दा छात्रवृत्तिको मौका पाउने विद्यार्थीलाई पढाइलगायत धेरै कुरामा घाटा भइरहेको छ । छनोट समितिका सदस्यहरूको ढिलासुस्तीले विद्यार्थीले अवसरको सदुपयोग गर्न सकेका छैनन् ।
विगतमा बूढानीलकण्ठ स्कुलले नै विद्यार्थीको प्रवेश परीक्षा लिने गरेको थियो । यो वर्ष भने शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा बनेको छनोट समितिले प्रवेश परीक्षा लिए पनि अर्धवार्षिक परीक्षासम्म पनि नतिजा सार्वजनिक हुन सकेको छैन । कक्षा पाँचमा अध्ययनका लागि ३० असारमा प्रवेश परीक्षा लिइएको थियो । छात्रवृत्ति पाउने विद्यार्थीले एसएलसीसम्म सुविधा पाउँछन् ।
बूढानीलकण्ठ स्कुलमा १५ वैशाखदेखि कक्षा सञ्चालन भएको थियो । स्रोतअनुसार बिहीबार अर्धवार्षिक परीक्षा सुरु भएको छ । ‘अहिलेसम्म नतिजा नआउँदा छनोटमा पर्ने विद्यार्थीलाई ठूलो घाटा हुन्छ,’ स्रोतले भन्यो, ‘छनोट भएर आउँदा कक्षा नै सकिने बेला हुनसक्छ, नयाँ वातावरणमा आएर राम्रो गर्न अप्ठ्यारो हुन्छ, पढाइमा धेरै घाटा भएको छ ।’
बूढानीलकण्ठ स्कुलका लागि देशभरबाट ४० जना र अन्य चार स्कुलका लागि कम्तीमा जिल्लाका एकजना पर्नेगरी ७५ विद्यार्थी छनोटमा पर्छन् । बूढानीलकण्ठका साथै कैलालीको वीरेन्द्र उमावि, कास्कीको बालमन्दिर मावि, सर्लाहीको नवजीवन विद्याश्रम र काठमाडौंको नवजीवन विद्याश्रममा आवासीय सुविधासहित छात्रवृत्ति पाउने व्यवस्था छ ।
छनोट समितिभित्र सहसचिव ललदेव अवस्थीको संयोजकत्वमा पाँच सदस्य छन् । मन्त्रालयका उपसचिव, पाठ्यक्रम विकास केन्द्र, शिक्षा विभागका प्रतिनिधिका साथै बूढानीलकण्ठ स्कुलका प्रिन्सिपल समितिमा सदस्य छन् ।
बूढानीलकण्ठ स्कुलका प्रिन्सिपल नारायण शर्माले कार्यविधि बनाएर काम गर्दा नतिजामा केही ढिलाइ भएको बताए । विगतमा अहिलेभन्दा छिटो भएको उल्लेख गर्दै प्रिन्सिपल शर्माले यो वर्ष ढिलाइ भए पनि विद्यार्थीलाई त्यति धेरै घाटा नहुने दाबी गरे । ‘छनोट हुने विद्यार्थी पढ्नै नपाएका होइनन्, सामुदायिक विद्यालयमा पढिरहेका छन्,’ उनले भने, ‘छनोट भएपछि यस स्कुलमा आइहाल्छन् नि †’
विद्यार्थी छनोट प्रक्रिया पारदर्शी नभएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । अख्तियारले कार्यविधि बनाएर छनोट गर्न निर्देशन दिएपछि मन्त्रालयले छनोट समिति बनाएको थियो । समितिका संयोजक अवस्थीले विद्यार्थी ‘प्रमाणित’ गर्ने काम भइरहेको र सो काम सकिनासाथ नतिजा सार्वजनिक गरिने बताए । उनले भने, ‘पाँच कक्षाको विद्यार्थी पाँचमै जाने भएकाले परीक्षा भए पनि फरक पर्दैन ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय