आइएमइआईको सहयोगविना बेपत्ता महर्जन पत्ता नलाग्ने

काठमाडौं, २ भदौ । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी(आइएमइआई)को सहयोगविना ६ महिनादेखि बेपत्ता छोरीमैंया महर्जनको वास्तविकता मात्रै बाहिर आउन सक्ने निष्कर्षमा प्रहरी पुगेको छ । तर, प्रधानमन्त्री कार्यालयले निर्देशन दिँदासमेत टेलिकमले सहयोग नगरेको प्रहरीको दाबी छ । महर्जन १६ फागुनदेखि बेपत्ता छिन् ।
शंकास्पद व्यक्तिसँगको बयान र उनीहरूको फोन डिटेल्सबाट पनि बलियो प्रमाण फेला नपरेपछि प्रहरी यस्तो निष्कर्षमा पुगेको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले आइएमइआई प्रविधिको सहयोग पाए बेपत्ता महर्जनको केस चौबीस घन्टाभित्र सल्टिने दाबी गरे । ‘महर्जनको मात्र होइन, आइएमइआईको सहयोग हुने हो भने यस्तै प्रकृतिका ५० प्रतिशत केस सजिलै सल्टिन्छ,’ ती अधिकृतले भने, ‘यसका लागि नेपाल टेलिकमको सहयोग अनिवार्य चाहिन्छ ।’ उनका अनुसार नेपाल टेलिकमले कुनै पनि घटनामा प्रहरीलाई सहयोग गरेको छैन । ‘प्रधानमन्त्री कार्यालयबाट समेत महर्जनको खोजीका लागि आइएमइआई टेलिकमलाई निर्देशन भयो तर टेलिकमले प्राविधिक समस्या भएको दाबी गर्दै आइएमइआई उपलब्ध गराएन,’ उनले भने ।
दूरसञ्चार प्राधिरणका प्रवक्ता कैलाश न्यौपानेका अनुसार प्रत्येक मोबाइलको छुट्टाछुट्टै नम्बर हुन्छ । १५ देखि १७ वटा अंकमा हुने यस्ता नम्बरको संकेत अर्को मोबाइलमा मिल्दैन । यसको व्यवस्थापन मोबाइल कम्पनीबाटै मिलाइएको हुन्छ । ‘मोबाइल चोरी भए वा हराए यही नम्बर सम्बन्धित अपरेटर कहाँ दिइन्छ र उसैको सहयोगमा मोबाइल निष्क्रिय पारिन्छ,’ उनले भने, ‘अपराध गर्ने मनसायले कुनै व्यक्तिले एकै मोबाइलबाट सिमकार्ड परिवर्तन गरी फोन गरे पनि यही नम्बरको सहयोगबाट उक्त व्यक्ति पहिचान गर्न सकिन्छ ।’ नेपालमा यसका लागि दूरसञ्चार प्रणालीअन्तर्गतका नेपाल टेलिकम, एनसेल, युटिएललगायत टोलिफोन सेवाप्रदायक कम्पनीको सहयोग लिनुपर्ने हुन्छ । तर, प्रहरी यी निकायबाट चाहिएको बखत सहयोग नपाएको दाबी गर्छन् । महर्जन प्रकरणमा पनि यस्तै भइरहेको प्रहरीको दाबी छ । एक प्रहरी अधिकारीले भने, ‘महर्जनको अनुसन्धानका लागि पटक–पटक नेपाल टेलिकमसँग आइएमइआई माग्यौँ तर दिएन, घटना झन् रहस्यमय बन्नुको कारण यही छ ।’
चौतर्फी दबाबपछि महर्जन खोजीका लागि गृह मन्त्रालयका सह–सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा चार सदस्यीय टोली मंगलबार मात्रै गठन भएको छ । समितिमा आयुक्त कार्यालयका डिआइजी परशुराम खत्री, राष्ट्रिय अनुसन्धान विभागबाट निरजकुमार श्रेष्ठ र महान्यायाधिवक्ताको कार्यालय र पुनरावेदन अदालतका अधिवक्ता राजकुमार कोइराला सहभागी छन् । तर, आइएमइआईको सहयोग विना केही गर्न नसकिने प्रहरी स्रोतको दाबी छ । प्रहरी स्रोत भन्छ, ‘आइएमइआईविना जुनसुकै समिति गठन गरे पनि हुनेवाल केही छैन ।’ प्रधानमन्त्री कार्यालयबाट महर्जन खोजबिनका लागि पत्र आउँदासमेत यही जानकारी दिएको स्रोतको दाबी छ । यही घटना अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाबाट मात्रै ८६ जनासँग बयान लिइसकेको छ । बानेश्वरनिवासी निक्की भनिने सुरक्षा सिंहलाई त महर्जन अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी नै दिइयो । काठमाडौं जिल्ला अदालतले एक लाख रुपियाँ धरौटीमा सिंहलाई छाड्ने आदेश दिइसकेको छ । सिंहविरुद्ध महर्जनका श्रीमान् शिवकृष्ण महर्जनले जाहेरी दिएका थिए । मुद्दा पुनरावेदन अदालतसम्म पुगेको छ । तर, ठोस प्रमाण नभेटिएकाले घटनाको रहस्य अझै खुल्न सकेको छैन ।

किन चाहियो आइएमइआई ?
१६ फागुनमा महर्जन बानेश्वरस्थित निक्की भनिने सुरक्षा सिंहको घरमा जाने भन्दै घरबाट निस्केकी थिइन् । दिउँसो १:२८ महर्जनले आºनो मोबाइल नम्बर ९८४१२६३५७१ बाट श्रीमान् शिवकृष्ण महर्जनको मोबाइल नम्बर ९८४११४५६७१ मा १७ सेकेन्ड फोन गरेको देखिन्छ । त्यसबेला लोकेसन नयाँबानेश्वर देखिएको छ । यससम्बन्धमा प्रहरीले ठोकुवासाथ भनेको छ, ‘लोकेसन देखिएको स्थान सिंहको घर हो ।’ तर सिंहले महर्जन आºनो घरमा नआएको दाबी गर्दै आएकी छन् ।
साँझ ७:५३ बजे महर्जनकै मोबाइल नम्बरबाट छोरी सुधा महर्जनको मोबाइल नम्बर ९८४१०३०२४० मा एसएमएस आएको छ । एसएमएसमा भनिएको छ, ‘म मनकामना छु, तीन दिनपछि घर आउँछु ।’ त्यसको भोलिपल्ट बिहान १० बजेर १९ मिनेट जाँदा महर्जनकै नम्बरबाट अर्की छोरी शुभद्रा महर्जनको ९८४१९११५९० नम्बरमा ३ सेकेन्ड फोन गरेको देखिन्छ । त्यसबेलाको लोकेसन टेकु देखिएको छ । त्यसको २४ मिनेटपछि अर्थात् १० बजेर ४३ मिनेट जाँदा सिंहको मोबाइलको लोकेसन थापाथलीस्थित ब्ल्यु वर्ड मल देखिएको छ । महर्जनकी छोरी सुधाको दाबी छ, ‘सिंहले नै ममीको सिमकार्ड आºनो मोबाइलमा हाली टेकुबाट फोन गरेकी हुन् ।’ तर यसलाई पुष्टि गर्ने कुनै बलियो प्रमाण छैन । प्रहरी भन्छन्, ‘सिंहमाथि लागेको आरोप सत्य हो या झुटा, त्यसको पुष्टि गर्ने एउटै उपाय हो, आइएमइआई ।’

प्रतिक्रिया