‘प्रतिद्वन्द्वी कमजोर छैनन्’

काठमाडौं, १ भदौं । १ सेम्प्टेम्बरदेखि मलेसियामा सुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोरमा सहभागी हुन नेपाली टोलीले शुक्रबार स्वदेश छाड्दै छ । मलेसिया प्रस्थान गर्नुअघि ३१ अगस्टसम्म नेपाली टोलीले श्रीलंकामा खेलअभ्यास गरेर तयारी गर्नेछ । श्रीलंकामा केही क्लबसँग नेपाली टोलीले खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
शुक्रबार श्रीलंका प्रस्थान गर्ने नेपाली टोलीमा सात खेलाडी मात्र हुनेछन् । चार खेलाडीले आइसिसी यु–१९ विश्वकप खेलिरहेको र बाँकी तीन खेलाडीले भारतको बैंगलोरमा ब्याटिङ प्रशिक्षण लिइरहेकाले टोलीका करिब आधा खेलाडी मात्र बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको बिदाइ कार्यक्रममा उपस्थित थिए ।
नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगितामा सहभागी सबै टोलीलाई आफूले कमजोर नआँकेको बताए । ‘अमेरिका र सिंगापुर डिभिजन–थ्री बाट तल झरेका हुन् । मलेसिया र डेनमार्क डिभिजन–फाइभबाट माथि उक्लिएका हुन् । त्यसैले हामीले कुनै पनि टोलीलाई कमजोर आँकेका छैनौँ ।’ पारसले भने, ‘यसअघि गत वर्ष हामीलाई सबैले डिभिजन–थ्री पुग्ने टोलीका रूपमा लिएका थिए । तर हामी डिभिजन–फोरमै सीमित भयौँ । त्यसैले हामी यसपटक निकै सचेत छौँ ।’ उनले नेपाली टोलीले ब्याटिङमा ध्यान दिएको बताए ।
‘केही खेलाडी अहिले वैदेशिक प्रशिक्षणमा छन् । यसअघि कमजोर ब्याटिङ भयो भनेर हामीले आलोचना खेपेका थियौँ,’ पारसले भने । उनले नेपाली टोली विजेता बन्नका लागि खेल्ने बताए । यो प्रतियोगिता सन् २०१५ को एकदिवसीय विश्वकपको छनोटका रूपमा रहेको छ ।
यसअघि गत वर्ष पनि नेपालले डिभिजन–फोर खेलेको थियो तर ६ टोलीले राउन्ड रोविन आधारमा खेल्ने त्यस प्रतियोगितामा नेपाल तेस्रो भएर अघिल्लो डिभिजन प्रवेश गर्नबाट चुकेको थियो । डिभिजनका शीर्ष दुई टोली डिभिजन–तीनमा प्रवेश गर्नेछन् । बीचका दुई टिम यथास्थानमा रहनेछन् भने अन्तिम दुई टोली डिभिजन–फाइभ मा घटुवा हुनेछन् ।

नेपाल अन्तिम खेलमा पनि पराजित
एजेन्सी
मेलबर्न, १ भदौं । आइसिसी यु–१९ विश्वकपमा पहिलो चरणका सबै तीन खेलमा पराजित हुँदै नेपाल समूहचरणबाटै बाहिरिएको छ । नेपालले अब प्लेट च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछ ।
कमजोर ब्याटिङ प्रदर्शनलाई सुधार गर्न नसक्दा नेपाल बुधबार आफ्नो समूहको तेस्रो तथा अन्तिम खेलमा इंगल्यान्डसँग १२७ रनले पराजित भयो । पहिलो खेलमा अस्ट्रेलियासँग २१२ रनले पराजित भएको नेपाल दोस्रोमा आयरल्यान्डविरुद्ध १४ रनले हारेको थियो । आयरल्यान्डविरुद्धको पराजयपछि नेपाल ‘सुपर–एट’ पुग्ने सम्भावना कमजोर बनेको थियो ।
इंगल्यान्डविरुद्ध २७५ रनको लक्ष्य पछयाउने क्रममा नेपाली टोली ४६ ओभरमा १४७ रनमा सीमित भयो । समूहका सबै खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्ने क्रममा नेपाल अस्ट्रेलियाविरुद्ध २९५ रनको लक्ष्य पछयाउने क्रममा ८२ रनमा सीमित भएको थियो भने आयरल्यान्डविरुद्ध १८६ रनको लक्ष्य पछयाउने क्रममा १७१ रन मात्र जोडेको थियो ।
इंगल्यान्डविरुद्ध नेपालका चार खेलाडी मात्र दोहोरो अंक छुन सफल भए । ५५ रन जोडेका प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेल समूहचरणमा अर्धशतकीय इनिङ खेल्ने एक मात्र नेपाली खेलाडी बने । हसिम अन्सारी ३५, राहुलकुमार विश्वकर्मा २० र फजलुर रहमान १० रन जोडी पवेलियन फर्किए । नरेश बुढाएर, पृथु बास्कोटा र सागर पुन शून्यमै आउट भए । समूहचरणमा अस्ट्रेलियाविरुद्धसहित पृथु दोसं्रोपटक ‘डक’ आउट भएका हुन् । पहिलो खेलमा एक रन जोडेका नरेश दोस्रो खेलमा ५ रन जोडी आउट भएका थिए । त्यस्तै राजेश पुलामीमगरले १ र प्रदीप ऐरीले ५ रन जोडे । सुभाष खकुरेलले छैटौँ विकेटका लागि हसिमसँग ६७ रनको साझेदारी गर्नुअघि नेपाल २५–५ को स्थितिमा थियो । ७० बलको सामना गरेका सुभाषले छैटौँ विकेटका रूपमा एलबिडब्लु आउट हुनुअघि चार चौका र एक छक्का प्रहार गरेका थिए । दोस्रो खेलमा ३२ रन जोडेका उदीयमान अलराउन्डर राहुलले ५३ बल खेल्दै दुई चौका प्रहार गरेर नटआउट रहेका थिए । दोस्रो खेलमा गोल्डेन डकआउट भएका हसिमले आठौँ विकेटका रूपमा आउट हुनुपूर्व ७४ बल खेल्दै तीन चौका प्रहार गरे । बलिङतर्फ इंगल्यान्डका सोजर अलीले चार तथा रिस टोप्लेले तीन विकेट लिएका थिए ।
अब नेपालसँगै सुपर–एट पुग्न असफल श्रीलंका, जिम्बावे, पपुआ न्युगिनी, आयरल्यान्ड, अफगानिस्तान, नामिबिया र स्कटल्यान्डले प्लेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । सन् २००० यता नेपाल सुपर–एट प्रवेश गर्न सकेको छैन । छैटौँपटक यु–१९ विश्वकप खेलिरहेको नेपाल यसअघि सन् २००६ मा प्लेट च्याम्पियन बनेको थियो । चार वर्षपछि यसपटक विश्वकप खेलिरहेको नेपाल एसिसी यु–१९ एलिटकपको सेमिफाइनलबाट बाहिरिएपछि पछिल्लो संस्करणमा सहभागी हुन सकेको थिएन । यसपटक नेपाली युवा टोलीले गरेको प्रदर्शनका कारण नेपाली क्रिकेटको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ । यु–१९ स्तरमा अहिलेको नेपाली टोली अहिलेसम्मकै सबैभन्दा कमजोर भनिन थालिएको छ । समूहचरणमा नेपालको ब्याटिङ मात्र नभएर बलिङ तथा फिल्डिङ पनि फितलो रहयो ।
निर्धारित ५० ओभर खेल्ने क्रममा सात विकेट गुमाएको इंगल्यान्डका लागि बेन फोकसले ९२ रन जोडे । पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको इंगल्यान्डले नेपाली बलरलाई कुनै पनि समय हाबी हुन दिएन । इंगल्यान्डको इनिङमा बेन डकेटले ५५, एलेक्स डेभिएसले ४५ रन बनाए । बलिङतर्फ नेपालका राहुलले तीन विकेट लिए । समूहचरणमा यसअघिका खेलमा राहुलले समान दुई विकेट लिएका थिए । यस जितसँगै इंगल्यान्ड समूहको उपविजेता बनेर सुपर–एट प्रवेश गर्‍यो ।

टेस्ट टोली मात्र सुपर–एटमा
आइसिसी यु–१९ विश्वकपमा टेस्ट मान्यताप्राप्त टोलीले मात्र सुपर–एट यात्रा तय गरेका छन् । आइसिसीका १० टेस्ट मान्यताप्राप्त टोलीमध्ये यसपटक जिम्बावे र श्रीलंका भने पहिलो चरण पार गर्न सफल भएनन् ।
प्रतियोगितामा सहभागी आइसिसीका सबै एफिलिएटेड तथा एसोसिएट सदस्य भने पहिलो चरणमै सीमित भए । अस्ट्रेलिया, इंगल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, भारत, दक्षिण अफ्रिका र बंगलादेशले सुपर–एट यात्रा तय गरेका हुन् । अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले समूहका सबै खेलमा जित हात पारेर समूहविजेता भए । समूहचरणमा एउटा पनि जित हात पार्न नसक्ने टोलीमा पपुआ न्युगिनी, स्कटल्यान्ड, नामिबिया र नेपाल रहे । आफ्नो अन्तिम खेलमा नामिबियालाई हराएर बंगलादेश श्रीलंकालाई दुई अंकले उछिन्दै समूह–डी को उपविजेताका रूपमा ‘सुपर–एट’ यात्रा तय गर्न सफल भएको छ ।

प्रतिक्रिया