नेपालको वन क्षेत्र बढ्यो

काठमाडौं, ३२ साउन । बाह्र वर्षमा नेपालको वन क्षेत्र २ दशमलव ४ प्रतिशतले बढेको छ । जम्मा भू–भागको कम्तीमा ४० प्रतिशत वन कायम राख्नुपर्ने बहस चलिरहेका बेला नेपालको जम्मा वन क्षेत्र ४२ प्रतिशत पुगेको छ ।

एक वर्षअघि सुरु भएको वन सर्वेक्षणको पहिलो चरणको स्याटेलाइट अध्ययनबाट यस्तो पत्ता लागेको हो । सन् १९९९ को सर्वेक्षणअनुसार नेपालको वन ३९ दशमलव ६ प्रतिशत थियो । गत वर्ष सुरु भएको वनको विस्तृत सर्वेक्षणअन्तर्गत सुरुमै वन अनुसन्धान तथा सर्वेक्षण विभागले पहिलो चरणमा स्याटेलाइट सर्वेक्षण गरेको थियो । सोअनुसार अघिल्लो सर्वेभन्दा वन क्षेत्र बढेको सर्वेक्षणमा संलग्न एक कर्मचारीले बताए । ‘स्याटेलाइट सर्वेक्षणको निष्कर्षअनुसार पूरै नेपालको वन जम्मा ४२ प्रतिशत रहेको आँकलन गरिएको छ,’ उनले सौर्यसँग भने, ‘स्थलगत सर्वेक्षण सकेर जाँच गरेपछि त्यत्ति नै भए/नभएको थाहा हुन्छ ।’ उनका अनुसार एक वर्षअघि सुरु भएको विस्तृत वन सर्वेक्षणको पहिलो चरणको स्याटेलाइट सर्वेक्षण ६ महिनाअघि सकिएको थियो । जसअनुसार मध्यपहाडी क्षेत्रमा हरियो क्षेत्र बढेको छ । द्वन्द्वकालमा विस्थापित भएका र वैदेशिक रोजगारीमा गएकाहरू सहरमा बस्न थालेपछि पहाडका खेतबारी बाँझिएर बुट्यानमा परिणत हुँदा स्याटेलाइटबाट मध्यपहाडी भू–भागका धेरैजसो भेग हरियो देखिएको बताइएको छ । अध्ययन सकेको धेरै महिना भए पनि विभागले त्यसको चित्र र नतिजा भने सार्वजनिक गरेको छैन ।
यता, सन् २०१४ सम्म पूरै वनको विस्तृत अध्ययन सक्ने भनेर सुरु भएको सर्वेक्षण भने ४५ प्रतिशत सकिएको छ । सर्वेक्षणका लागि तराई, चुरे, मध्यपहाड र उच्चपहाड गरी चार भेगमा वनको वर्गीकरण गरिएको छ । जसअनुसार तराईको अध्ययन सकिएको छ भने उच्चपहाडी भेगमा सुरु नै गरिएको छैन । चुरेको अध्ययन पूर्वदेखि मकवानपुरसम्म र सुदूरपश्चिमको कञ्चनपुरसमेत गरी करिब ६० प्रतिशत सकिएको ती कर्मचारीले बताए ।
त्यस्तै, मध्यपहाडको भने कैलालीदेखि नवलपरासीसम्मको सर्वेक्षण सकिएको छ । स्थलगत अध्ययनमा संलग्न प्राविधिकका अनुसार तराईमा सालको वनलाई सिसौ र खयरजस्ता अन्य प्रजातिका वनस्पतिले प्रतिस्थापन गरिरहेको पाइएको छ । चुरेमा वन सकिएर झाडी मात्रै छ भने पहाडमा घना वन र ठूला रूख बाँकी छैनन् । ‘तराईंमा साल छैन, मध्यपहाडमा ठूला रूख छैनन् र चुरेमा रूखै छैनन्, झाडी मात्रै छ,’ उनले सौर्यसँग भने, ‘देख्नलाई हरियो वन छ तर रूख छैनन् ।’ उनले चोरी–तस्कर र अतिक्रमणका कारण ठूला र काठ उत्पादन हुने खालका रूख पातलो देखिएको बताए । सर्वेक्षणका लागि सरकारले करिब ५५ करोड रुपियाँ बजेट छुट्याएको थियो । सन् १९९९ को सर्वेक्षणले नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर (एक करोड ४७ लाख १८ हजार एक सय हेक्टर)को ३९ दशमलव ६ प्रतिशत अर्थात् ५८ लाख २८ हजार सात हेक्टर वन रहेको देखाएको थियो । जसमा असली वन २९ प्रतिशत (४२ लाख ६८ हजार सात सय ९८ हेक्टर) र झाडी १० दशमलव ६ प्रतिशत (१५ लाख ५९ हजार दुई सय नौ हेक्टर) थियो । नेपालमा हाल राष्ट्रिय निकुञ्ज, संरक्षित वन, वन्यजन्तु आरक्ष र सिकार आरक्ष गरी २३ दशमलव २३ प्रतिशत वन संरक्षित क्षेत्र छ भने बाँकी राष्ट्रिय, सामुदायिक, निजी, कबुलियती, धार्मिकलगायत वन छन् ।

प्रतिक्रिया