फ्यान्टा र स्प्राइटमाथि अनुसन्धान सुरु

भैरहवा : सिलबन्द कोक, फ्यान्टा र स्प्राइटमा ढुसी, सिसाका टुक्रा तथा सडेगलेको लेदोलगायत अखाद्य र दूषित पदार्थ भेटिएपछि वाणिज्य कार्यालय रूपन्देहीले अनुसन्धान सुरु गरेको छ । बुधबार वाणिज्य कार्यालय रूपन्देहीको नेतृत्वमा प्रशासन, प्रहरी, खाद्यसहितको टोलीले अनुसन्धान सुरु गरेको हो ।
जिल्ला अनुगमन समितिका सदस्य सचिवसमेत रहेका वाणिज्य कार्यालय रूपन्देहीका प्रमुख चेतप्रसाद उप्रेतीको नेतृत्वको अनुगमन टोलीले समाचारमा उल्लेखित दूषित तथा ढुसीयुक्त सिलबन्द चिसो पेयपदार्थ भेटिएको भैरहवाको रोज होटल एन्ड रेस्टुरेन्टमा बुधबार दिउँसो सोधखोज गरेको छ । टोलीले होटलमा रहेका कोक अर्को सूचना नभएसम्म बिक्री नगर्न निर्देशन दिएको र समाचारमा उल्लेख भएअनुसारको अखाद्य तथा ढुसीयुक्त पदार्थ मिसिएको पेयपदार्थका बारेमा पनि चासो राखेर लिखितरूपमा रिपोर्ट लगेको होटल सञ्चालक माधवराज अधिकारीले बताए ।
आमउपभोक्तासँग सम्बन्धित चिसो पेयपदार्थमा अखाद्य र दूषित पदार्थ भेटिएपछि सत्यतथ्य पत्ता लगाएर कारबाही गर्न रूपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले वाणिज्य तथा खाद्यलाई निर्देशन दिइसकेको बताए । उनले भने, ‘समाचार पढेर थाहा पाएपछि वाणिज्यलाई उल्लेखित पसलबाट नमुना संकलन गर्न भनेको छु ।’ (सौस)

प्रतिक्रिया