काभ्रेमा विमानस्थल नबन्ने

काठमाडौं, ३२ साउन । काभ्रेको ठूलोचौरमा निर्माण गर्ने भनिएको विमानस्थल प्राविधिक रूपमा उपयुक्त नभएको निष्कर्ष आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा धुलिखेलनजिकको बुढीचौरमा साना तथा मध्यमखालका आन्तरिक उडानमा संलग्न जहाज मात्रै अवतरण गराउन सकिने र ठूलाखालका जहाज अवतरण गराउन नसकिने निष्कर्ष निकालेको हो ।

अध्ययन समितिका संयोजक तथा प्राधिकरणका उपमहानिर्देशक सुमनकुमार श्रेष्ठले दिएको जानकारीअनुसार बुढीचौर आन्तरिक विमानस्थलका लागि प्राविधिक रूपमा अनुपयुक्त देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चाप बढेकोले आन्तरिक विमानस्थल काठमाडौंबाहिर सार्न प्राधिकरणले राजधानीनजिकको नयाँ स्थानको खोजी गरेको थियो । प्राधिकरणले ठूलोचौरमा आवश्यकताभन्दा सानो क्षमताको विमानस्थल बन्ने बताएको छ ।
‘बुढीचौरमा निर्माण हुन सक्ने विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानको २० प्रतिशत मात्र धान्न सक्छ,’ उपमहानिर्देशक श्रेष्ठले भने । चार महिनाभन्दा लामो समय लगाएर गरिएको अध्ययनमा विमानस्थल निर्माणका लागि अनुपयुक्त देखिएको हो ।
काभ्रेको पाँचखालस्थित आँपघारी, वनेपाको नागीडाँडा र रायमाझी गाउँमा विमानस्थल निर्माण अनुपयुक्त देखिएपछि प्राधिकरणले चौथो स्थानका रूपमा ठूलोचौर छनोट गरेको थियो । अध्ययनले ठूलोचौर पनि अनुपयुक्त देखाएपछि सरकारले राजधानीनजिकै आन्तरिक विमानस्थल निर्माण गर्ने भनेर सुरु गरेको योजना सफल नहुने भएको छ । संयोजक श्रेष्ठका अनुसार एक हजार एक सय ५४ मिटर लामो धावनमार्ग मात्र बन्न सक्ने देखिएको छ जसमा हेलिकोप्टर, ट्वीनअटर र डोर्नियर जहाज मात्र उडान तथा अवतरण गर्न सक्छन् ।
हाल आन्तरिक उडानमा रहेका एटिआर र विचक्राफ्ट जहाज त्यहाँ अवतरण तथा उडान गर्न सक्दैनन्, यी जहाज उडान र अवतरणका लागि एक हजार आठ सय मिटरको धावनमार्गको आवश्यकता पर्छ । बुद्ध, यतिलगायतका एयरलाइन्सले प्रयोगमा ल्याएका एटिआर र विचक्राफ्ट जहाज अरू जहाजको तुलनामा ठूला मानिन्छन् । ती जहाज विराटनगर, भद्रपुर, नेपालगन्जलगायत स्थानमा उडान गर्दै आएका छन् ।
समितिले गरेको अध्ययनमा विमानस्थल निर्माण गर्दा स्थानीय ८० घरपरिवार विस्थापित हुने तथा पहाड काट्नुपर्ने देखिएको छ । बुढीचौरमा आन्तरिक उडानमा रहेका सबै प्रकारका जहाज पनि जान नसक्ने र निर्माण लागतसमेत उच्च हुने देखिएकोले विमानस्थल निर्माणको सम्भावना नदेखिएको हो ।

प्रतिक्रिया