गठबन्धन कसैका विरुद्ध होइनः दाहाल

काठमाडौं, ३१ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्ध कसैका विरुद्ध स्थापना नगरिएको दाबी गरेका छन् ।
उनले गठबन्धनबाट नडराउन र नत्रसिन सबैलाई आग्रह समेत गरे । गठबन्धन सार्वजनिक गर्न काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले मुलुकमा विद्यमान राजनीतिक गतिरोध तोड्नका लागि वर्तमान गठबन्धन बनाएको बताए ।
‘यो गठबन्धन कसैका विरुद्ध होइन, डराउनु पर्दैन,’ उनले भने, ‘गठबन्धन मुलुकको विद्यमान राजनीतिक समस्याको समाधानका लागि स्थापना गरिएको छ ।’
निर्वाचनमा जाँदा वा संविधानसभा पुनःस्थापना गर्दा आम राजनीतिक सहमति कायम गर्नु पर्ने बताएका अध्यक्ष दाहालले जनताका समस्या सम्बोधन गर्ने नयाँ गठबन्धनको उदेश्य जोडिएको दाबी गरे ।
‘एमाओवादी नेतृत्वमा राज्यको अग्रगामी पुनःसंरचना गर्न गठबन्धन बनाएका हौं,’ उनले भने, ‘गठबन्धन पूर्ण भएको छैन, अन्य दलहरुलाई पनि आउन अपील गर्छौं ।’
उनले पहिचानसहितको संघीयता र राज्य पुनःसंरचनाका लागि पनि संघीय पक्षधर शक्तिको गठबन्धन अतिआवश्यक भईसकेको उल्लेख गरे ।
गठबन्धनमा राजनीतिक दलका साथै नागरिक समाजका अगुवा, अन्य क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु पनि सहभागी हुने उनको भनाई थियो ।
नयाँ गठन्धन सार्वजनिक
यसैवीच, सत्तारुढ र कामचलाउ सरकारलाई समर्थन गर्ने दलहरुले एमाओवादीका अध्यक्ष दाहालको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सार्वजनिक गरेका छन् ।
मोर्चाको अध्यक्षको जिम्मेवारी एमाओवादी अध्यक्ष दाहाललाई दिईएको फोरम गणतान्त्रिकका अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रित सदस्यमा राखिएको बताए । गठबन्धनमा झण्डै दुई दर्जन दलका अध्यक्ष एवं संयोजकहरु सदस्य रहने छन् ।
उनीहरुले संघीयतामा चासो राख्ने दलहरुलाई मोर्चामा सहभागी हुन समेत अपील गरेका छन् । गठबन्धनको प्रवक्ताको जिम्मेवारी लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष प्रेमबहादुर सिंहलाई दिईएको छ ।

एमाओवादी नेतृत्वको गठबन्धनमा आबद्ध दलहरु
१. एकीकृत नेकपा (माओवादी)
२. मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाल
३. मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नेपाल
४. तराई मधेस लोकतान्त्रिक पार्टी
५. तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल
६. संघीय सदभावना पार्टी
७. सदभावना पार्टी
८. नेकपा (माले) समाजवादी
९. दलित जनजाती पार्टी
१०. राष्ट्रिय जनमुक्ति पार्टी
११. नेपाल परिवार दल
१२. संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च (थरुहट)
१३. नेपाः राष्ट्रिय पार्टी
१४. समाजवादी जनता पार्टी
१५. नेपाल लोकतान्त्रिक समाजवादी दल
१६. जनता दल युनाईटेड
१७. नव नेपाल निर्माण पार्टी
१८. राष्ट्रिय सदभावना पार्टी
१९. चुरे भावर राष्ट्रिय एकता पार्टी
२०. नेपाली जनता दल
२१. पूव सभासद सदरुल मियाँ हक

प्रतिक्रिया