क्वालालाम्पुर, ३१ साउन । एसियाली फुटबल महासंघ (एएफसी)का निलम्बित अध्यक्ष मोहमद विन हमामले आफुविरुद्ध भष्ट्राचार र अनियमितताको अभियोगमा छानबिन गरिरहेको विश्व फुटबल महासंघ (फिफा) विरुद्ध लड्ने बताएका छन् ।
पछिल्लो समय उनीमाथि पदमा बसेर आर्थिक दुरुपयोग गरेको मुद्दा छ । पर्याप्त प्रमाण नपुगेको भन्दै फिफाले उनलाई लगाएको आजीवन प्रतिबन्धको सजाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले गत जुनमा उल्ट्याएको थियो । उनी उक्त सजायबाट मुक्त भएलगत्तै आर्थिक अनियमितता गरेको अभियोगमा एसियाली फुटबल महासंघ
(एएफसी)ले उनलाई ३० दिनका लागि निलम्बन गरेको थियो । भर्खरै मात्र फिफाले सो निलम्बनको अवधिलाई बढाएर ९० दिन पुर्याएको छ ।
एएफसीका सदस्यलाई लेखिएको पत्रमा हमामले उल्लेख गरेका छन्, ‘एएफसी र फिफाबाट भएको राजनीति प्रेरित पछिल्लो प्रतिबन्धविरुद्ध मेरो कानुनी टोलीले एएफसी र फिफाको उक्त कामविरुद्ध प्रतिक्रियास्वरूप अगाडि बढेको छ । फिफाले गरिरहेको शक्ति दुरुपयोगविरुद्ध आवश्यक परे म थप प्रक्रिया अगाडि बढाउनेछु ।’
एएफसीको भर्खरै भएको लेखापरीक्षणमा हमामले संस्थाको खाता व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको र विभिन्न फुटबल संघका पदाधिकारी र आफन्तलाई पैसा बाँडेको देखिएको थियो । पिडब्लुसीले गरेको उक्त लेखापरीक्षणअनुसार हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाका छोरा गौरवलाई एक लाख डलर दिएको देखिएको छ । गौरव एएफसीका कर्मचारी हुन् । यस विषयमा एन्फा अध्यक्ष थापाले उक्त लेनदेन भएको स्वीकार गरे पनि त्यो ऋणका रूपमा पारिवारिक लेनदेन भएको दाबी गर्दै आएका छन् । एजेन्सी
प्रतिक्रिया