सुर्खेत : प्रहरीले बरामद गरेको ठूलो परिमाणको अफिमको कारोबारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले रजेना–३ का ३० वर्षीय टोपबहादुर ओलीलाई पक्राउ गरेको हो । भेरी र कर्णालीका विभिन्न जिल्लामा उत्पादित अफिम बिक्रीवितरणमा ओलीकै प्रमुख भूमिका रहेको एसपी गोविन्दराम परियारले बताए ।
‘जाजरकोट तथा कर्णालीका विभिन्न जिल्लामा उत्पादित अफिम ओलीले नै सुर्खेतको रामघाटसम्म ल्याउने गरेको पाइएको छ,’ एसपी परियारले भने, ‘रामघाटबाट कमजोर आर्थिक अवस्था भएका महिला प्रयोग गरी कोहलपुरसम्म पुर्याएर भारत हुँदै युरोपसम्म पुर्याउने गरेको अनुसन्धानमा खुलेको छ ।’
उनले अफिमको कारोबारमा ठूलै गिरोह संलग्न भएको भन्दै बिक्रीवितरणका मुख्य व्यक्तिलाई पक्राउ गरिएको र अब तत्कालै गिरोहका अन्यलाई पनि पक्राउ गरिने बताए । प्रहरीले अफिम कारोबारमा संलग्न चारलाई पक्राउ गरेको छ । (सौस)
सामुदायिक वनकी कोषाध्यक्ष पक्राउ
इलाम : रकम हिनामिना गरेर फरार दानाबारीस्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष पूर्णमाया राई पक्राउ परेकी छिन् ।
नेपाल बैंक लिमिटेड बिर्तामोडमा रहेको समूहको खाता नम्बर ००८८–११०००४४०७ बाट ४० लाख रुपियाँ रकम निकालेर फरार राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनीसँगै फरार उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान राईको पनि प्रहरीले खोजी जारी राखेको छ । (सौस)
प्रतिक्रिया